समाज


धिरजप्रतापको निर्णय बदर गरेर आफूलाई आईजीपी बनाउन विश्वराजको माग (रिटसहित)

धिरजप्रतापको निर्णय बदर गरेर आफूलाई आईजीपी बनाउन विश्वराजको माग (रिटसहित)

विश्वराज पाेखरेल/डीआईजी छँदा


उजिर कार्की
बैशाख १९, २०७९ सोमबार १६:५१, काठमाडौँ

नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले नवनियुक्त आईजीपी धिरजप्रताप सिंहलाई आईजीपी बनाउने निर्णय बदर गरेर आफूलाई आईजीपी नियुक्त गर्न माग गरेका छन्। 

सोमबार सर्वोच्च अदालतमा रिट दायर गर्दै आइतबारको मन्त्रिपरिषद्को आईजीपी नियुक्तिको निर्णय बदर गर्न माग गरेका हुन्। 

उनको रिट दर्ता गर्दै सर्वोच्चले बुधबारका लागि पेशी तोकेको छ। 

सरकारको निर्णय अदालतको नजीर सिद्धान्तहरु र प्रहरी संगठनको मुल्यमान्यताको प्रतिकुल भएकाले स्वेच्छाचारी एवं गैरकानुनी निर्णय रहेकाले बदर गर्न माग गरेका छन्। 

आफू ज्येष्ठ र बढुवाका सम्पूर्ण आधारहरुमा सबैभन्दा बढी अंक प्राप्त गरेकाले आफूलाई वरिष्ठता कायम हुने गरी तत्काल बढुवा गर्न परमादेश माग गरेका छन्। 

रिटको टुंगो नलागेसम्म धिरजप्रतापलाई आईजीपी बनाउने निर्णय कार्यान्वयन नगर्न र प्रहरी महानिरीक्षक पदको हैसियतमा कुनै काम गर्न नदिनु र एआईजीमध्ये आफैँ ज्येष्ठ भएकाले आईजीपी बढुवाको निर्णय नगर्दासम्म निमित्त आईजीपीको हैसियतमा कामकाज गर्नु गराउनु भनी अन्तरिम आदेश माग गरेका छन्। 

पोखरेलले रिटमा भनेका छन्, ‘एआईजीको उमेर हदका कारण २०७९ साउन २० गते अनिवार्य अवकाश हुने भएकाले र गैरकानुनी रुपमा बढुवा गरिएका विपक्षी धिरज प्रताप सिंहको मातहतमा रही काम गर्न नसकिने अवस्था र १ महिनाको मेरो विदा समेतलाई मध्यनजर गरी विपक्षीहरुलाई म्याद नथामी १५ दिनभित्रै लिखित जवाफ पेश गर्नु भन्ने आदेशको साथै कसैले पेशी हटाउन सार्न नपाउने गरी लिखित जवाफ परेको ७ दिनभित्रै सुनुवाइको लागि पेश गर्नु भन्ने आदेश समेत गरिपाऊँ।’

सोमबार उनले वारेसमार्फत रिट दायर गरेका हुन्। अर्का एआईजी सहकुल थापा भने कानुनी परामर्शमै छन्। उनले रिट दायर गर्ने वा नगर्ने भन्ने निश्चित गरिसकेका छैनन्। 

पोखरेल भने आफू वरिष्ठ रहेको दाबी गर्दै आफैँलाई आईजीपी बनाउनुपर्ने मागसहित सर्वोच्च पुगेका हुन्। पोखरेल पनि नवनियुक्त आईजीपी धिरजप्रताप सिंहकै ब्याची हुन्। तर पहिले एआईजी भएकाले आफैँ आईजीपी हुनुपर्ने उनको माग छ।

यस्तो छ रिट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .