ad ad

समाज


अनुदानमा आएको ४० लाख डोज खोप खेर जाने अवस्थामा

अनुदानमा आएको ४० लाख डोज खोप खेर जाने अवस्थामा

समृद्धा केसी
बैशाख १३, २०८० बुधबार २१:१५, काठमाडौँ

चीन सरकारले अनुदानमा दिएको कोरोनाविरुद्धको ४० लाख डोज खोप प्रयोगमै नआई म्याद सकिएर खेर जाने देखिएको छ। 

चीनले दिएको सिनोभ्याक खोप २०७८ चैत १२ र १४ मा गरी ४० लाख डोज नेपाल ल्याइएको थियो। खोपको ‘एक्सपायरी डेट’ दुई वर्ष रहेको छ। तर खोप ल्याएको एक वर्ष पुरा भइसक्दा पनि एक डोज पनि प्रयोगमा आएको छैन। 

विश्व स्वास्थ्य संगठनले सिनोभ्याकलाई पहिलो र दोस्रो मात्राका लागि मात्र प्रयोग गर्न मिल्ने तर बुस्टर डोजका लागि प्रयोग गर्न नमिल्ने भनेको छ।

६ कात्तिकमा बसेको खोप सल्लाकार समितिको बैठकले विश्व स्वास्थ्य संगठनको नीति अनुरुप बुस्टर डोजका रुपमा नलगाउने निर्णय गरेको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरासियाले बताए। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र महाशाखाको छलफलमा पहिलो र दोस्रो मात्र खोप लगाउन बाँकी रहेका देशमा ४० लाख खोप पठाउन समितिले सिफारिस गरेको प्रमुख चौरासियाले जानकारी दिए। 

चीन सरकारले अनुदानमा दिएकाले अरु देशमा पठाउन पनि उसको अनुमति चाहिने भएकाले चिनियाँ दूतावासमा पत्राचार गरिएको उनले बताए। 

‘चीन सरकाले अन्य देशमा उक्त खोप पठाउन र उनीहरुलाई नै खोप फिर्ता पठाउनका लागि पनि पहल भइरहेको छ’, उनले भने, ‘खोप डिसेम्बर अर्थात् ८ महिना भित्रमा लागाइ सक्नु पर्ने छ। नत्र म्याद सकिन्छ।’

त्यति बेला खोपको माग धेरै भएकाले सिनोभ्याक खोप नेपाल ल्याइएको तर खोप बुस्टर डोजका लागि प्रयोग हुँदैन भनेर थाहा नपाएको चौरासियाको भनाई छ।

सिनोभ्याक खोप बुस्टरका रूपमा प्रयोग गर्न नमिल्ने र पहिलो डोज अरु खोप नै लगाइसकेकाले खोप कोल्डरुममै थन्किएर म्याद सकिन लागेको चौरासियाले जानकारी दिए।

‘बुस्टरका लागि छुट्टै खोप आउला भन्ने लागेको थिएन। यो खोप पनि बुस्टरका लागि प्रयोग होला भन्ने लागेको थियो’ उनले भने, ‘ त्यति बेला हामीले फाइजर लगायत अरु खोप पनि अनुदानमा प्राप्त गर्यौं। सबैको रोजाइमा ती खोपहरु परे, सिनोभ्याक परेन।’

उनले थपे, ‘यसको म्याद पनि बढी भएकाले पछि लगाउने भनेर राखियो। तर बुस्टरका रुपमा लगाउन मिलेन र अहिले खेर जाने जस्तो देखिएको छ।’ 

विश्व स्वास्थ्य संगठनले अहिले नयाँ नयाँ भेरियन्टसँग लड्नका लागि बुस्टर डोज फाइजर ‘बाइभ्यालेन्ट’ खोप लगाउन निर्देशन दिएको छ। 

अन्य देशबाट सिनोभ्याक खोपको माग आएन भने खोप खेर जाने सम्भावना धेरै देखिन्छ। 

स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा समीरकुमार अधिकारीले अन्य देशबाट माग भए खोप त्यता पठाउन सकिने बताए।

‘अहिले खोप टेकुको कोल्ड चेनमा स्टक छ’ उनले भने, ‘प्रारम्भिक चरणमै खोप नलगाएका देशबाट माग भए त्यता पठाउने छलफल चलिरहेको छ।’ 

सिनोभ्याक खोप १८ वर्षमाथिका नागरिकमा मात्र लगाउन मिल्छ। अहिलेसम्म नेपालमा अनुदान र खरिद मार्फत ६ करोड ६२ लाख ८० हजार ५५० डोज आइसकेको प्रमुख डा. सुरेन्द्र चौरसियाले जानकारी दिए।  

त्यस्तै, देशभर बुस्टर डोजका रुपमा लगाइरहेको ‘बाइभ्यालेन्ट’ खोप आठ लाख ९५ हजार डोज रहेको उनले बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .