गत वैशाख २० गते नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएपछि नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी गृहजिल्ला अर्घाखाँचीबाटै गायब भए।
रायमाझी गायब भएकै दिन प्रहरीले उनका छोरा सन्दीपलाई बुटवलबाट पक्राउ गर्यो। काठमाडौं हिँडेका टोपबहादुर छोरो पक्राउ परेपछि अचानक बेपत्ता भए।
गायब भएको ११ दिनपछि अर्थात वैशाख ३१ गते उनलाई प्रहरीले काठमाडौंको बूढानीलकण्ठस्थित पासिकोटबाट पक्राउ गर्यो।
त्यसअघि नै गम्भीर अपराधमा जोडिएको भन्दै उनलाई निलम्बन गर्न एमालेमाथि दबाब परेको थियो। टोपबहादुर गायब भएकै बेला वैशाख २७ गते एमालेले उनलाई पार्टी सचिवाबाट निलम्बन गर्यो।
पार्टीबाट निलम्बित भए पनि काठमाडौं जिल्ला अदालतबाट आदेश आइनसकेकाले मंसिर ४ मा अर्घाखाँचीबाट निर्वाचित उनको सांसद पद यद्यपि कायमै छ।
चर्को जनदबाबपछि मात्रै पार्टीले निलम्बन गरेको अवस्थामा टोपबहादुरको पक्षमा एमालेकै कानुन विभाग प्रमुख रमेश बडालले शुक्रबार काठमाडौं जिल्ला अदालतमा बहस गरे।
एमालेका कानुन फाँट इन्चार्ज एवम् पूर्वममहान्यायाधिवक्तासमेत रहेका बडालले पार्टीको नीतिसँग बाझिने गरी टोपबहादुरको बचाउमा बहस गरेका हुन्।
एमालेले एकातिर टोपबहादुरलाई मुद्दाको टुंगो नलागुन्जेल निलम्बन गरिरहँदा त्यही पार्टीको एकजना विभागीय प्रमुख बडाल बचाउमा उत्रिएका हुन्।
वरिष्ठ अधिवक्ताका रुपमा टोपबहादुरको पक्षमा उनको बहसबारे प्रश्न उठाउन मिल्ने अवस्था छैन। तर पार्टीबाटै निलम्बित व्यक्तिको पक्षमा एमालेकै कानुन विभाग प्रमुखले बहस गर्दै उनको कुनै संलग्नता नरहेको तर्क गरे।
‘उहाँ अधिवक्ताका रुपमा टोपबहादुरको पक्षमा बहस गर्न पाउनु हुन्छ। तर उहाँ पार्टीको विभागीय प्रमुखकै भूमिकामा पनि हुनु हुन्छ’, एमालेका एकजना केन्द्रीय सदस्यले भने, ‘पार्टीले सचिव रायमाझीलाई एकातिर निलम्बन गरेको छ। अर्कातिर विभागीय प्रमुख नै प्रतिरक्षा बसहमा उत्रिँदा प्रश्न उठाउने ठाउँ छन्। अन्य अभियुक्तको पक्षमा बहस गरेको भए पार्टीको निर्णयसँग कुरो बाझिने थिएन।’
शुक्रबार टोपबहादुर रायमाझीको तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता बडालले अहिलेको मुद्दा ठगीको मात्रै भएको जिकिर गरे।
‘यो मुख्यगरी ठगीको मुद्दा हो। तर प्रहरीले २५ दिनमा अनुसन्धान गर्न नसकेपछि जबरजस्ती संगठित अपराधमा लगेको हो। ६० दिन हिरासतमा राख्न संगठितमा मुद्दा चलाएको हो’, उनले भने, ‘प्रहरीले टोपबहादुर रायमाझीलाई सुरुमा ठगी अभियोगमा मात्रै पक्राउ गरेको थियो। बयान पनि ठगीमा मात्रै थियो। त्यसबेला राष्ट्रिय हितविपरीतको कसुरमा केही पनि भनिएन। अनुसन्धान गर्दा २५ दिनमा भ्याइएन भनेर संगठित अपराधमा जबरजस्ती मुद्दा चलाइएको हो।’
उनले अमेरिका पठाउने नाममा ठगी भएको भनिएको २८ करोड गैरकानुनी रहेको पनि बताए। ‘गैरकानुनी भुक्तानी असुलउपर सम्भव नै छैन। अदालतले यस्ता गैरकानुनी कामलाई प्रश्रय दिनु हुँदैन,’ उनले भने, ‘यी कोही पनि पीडित होइनन्। प्रहरीको अनुसन्धान प्रक्रिया पनि जथाभावी गरियो। अनुसन्धान प्रतिवेदन पनि मनलाग्दी लेखियो, प्रमााण केही पनि छैन।’
टोपबहादुरको पक्षमा प्रतिरक्षा बहसका क्रममा बडालले सानु भण्डारीबाट बरामद गरिएको डायरीमा भएका कुरालाई पनि नक्कली भने।
‘बरामद भएको भनिएको डायरीमा भएका कुराहरुलाई विश्वास गर्ने आधार छैन। त्यो डायरीमा टोपबहादुरको छोरालाई पैसा दिएको भनिएको छ। तर छोराले पैसा बुझेको केसमा बाबुलाई प्रतिवादी बनाउन मिल्दैन’, उनले भने, ‘सानु भण्डारीको डायरीमा टोपबहादुरलाई पोलिएको छ। मामा र मैयाका मात्रै नाम रहेछन्। त्यसालई प्रहरीले पनि आधिकारिक मान्न सकिँदैन।’
उनले यो प्रकरणको अनुसन्धान गर्ने प्रहरीको पनि दिमाग कन्ट्रोल गरिएको दाबी गरे। ‘प्रहरी आफैंले तयार गरेर डायरी दिएको हो। केशव दुलालको बयान शंकास्पद छ’, उनले भने, ‘एउटा पोलिटिकल आइडोलोजी भएकाहरुलाई (एमालेका) मात्रै पोलिएको छ। त्यहाँबाट पनि यो बदनियतपूर्ण हो भन्ने थाहा हुन्छ।’
Shares
प्रतिक्रिया