ad ad

समाज


प्रतिवादीकै वकिलले ठगी स्वीकारे : ठूला अभियुक्तलाई थुन्नुपर्छ, सानु र टोपबहादुर योजनाकार हुन्

प्रतिवादीकै वकिलले ठगी स्वीकारे : ठूला अभियुक्तलाई थुन्नुपर्छ,  सानु र टोपबहादुर योजनाकार हुन्

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने


उजिर कार्की
जेठ २९, २०८० सोमबार २१:४१, काठमाडौँ

नक्कली शरणार्थी प्रकरणमा प्रतिवादीका वकिलले नै ठगी भएको स्वीकार गर्दै बहस गरेका छन्। शरणार्थी प्रकरणका प्रतिवादी रामशरण केसीका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले शरणार्थी प्रकरणमा ठगी भएको बताए। 

उनले बहसका क्रममा सानु भण्डारी र टोपबहादुर रायमाझीको योजनामा शरणार्थी प्रकरण भएको जिकिर गरे। उनले बहसमा रामशरणको बचाउ गर्दै भने, ‘रामशरण एउटा पेन्टर हुन्। पेन्टिङकै क्रममा सहप्रतिवादीहरुसँग उनको चिनजान भएको हो। उनी पनि पीडित हुन्। प्रहरी कार्यालयमा जाहेरी दिन गएका केसीलाई थुनियो।’

शरणार्थी प्रकरणमा पक्राउ परेका तल्लो तहका अभियुक्तलाई छाडेर अन्य ठूला अभियुक्तलाई थुनामा राख्ने आदेश दिन उनले माग गरे। 

उनले यो प्रकरणमा संलग्न अपराधीहरुलाई छाडेर यी निमुखालाई थुनेर के हुन्छ भन्दै प्रश्न गरेका थिए। रामशरणले अमेरिका पठाउने भन्दै उठाएको रकम सहप्रतिवादीहरुलाई बुझाएर आफ्नो घर बेचेर पछि रकम फिर्ता गरिसकेको पनि बताए। 

न्यौपानेले बहसका क्रममा सबैविरुद्ध अभियोग पत्र ल्याउन आदेश दिन पनि माग गरे।

‘प्रेमकुमार राई लगायतविरुद्ध मुद्दा नै ल्याइएको छैन। अदालतले यसमा संलग्न सबैविरुद्ध एक महिनाभित्रमा पुरक अभियोजन गर भनेर अर्को आदेश दिनुपर्छ,’ वरिष्ठ अधिवक्ता न्यौपानेले भने, ‘थुनछेकको आदेश एउटा र पुरक अभियोगका लागि अर्को आदेश दिनुपर्छ।’

उनले केपी ओली नेतृत्वको सरकार ढलेपछि शरणार्थी बनेर अमेरिका जान तयार जाहेरवालाहरु छटपटिएको बताए। ओली सरकार ढलेपछि अब काम हुँदैन भनेर जाहेरी दिएको बताए।
 
रामशरणकै तर्फबाट बहस गरेका अधिवक्ता केदार गुरागाईंले पनि रामशरणले रकम संलकन गरेर सहप्रतिवादीहरुलाई बुझाएको बताए। उनले जे भएको हो, त्यो सबै बयानमा बताएको पनि दाबी गरे। 

‘रामशरण केसीले उनले के गरेका हुन् भन्ने सबै कुरा खुलस्त भनेका छन्। कुन होटलमा भेटेको, कस्तो झोलामा लगेर रकम दिएको। तर उनको कुरा सुनिएन, उल्लेख पनि गरिएन,’ गुरागाईंले बहसमा भने। 

रामशरणलाई अदालतले तिमी प्रतिवादी बनाउनु पर्ने मान्छे होइन रहेछौ भनेर खोजेको बेला अनुसन्धानमा सहयोग गर्न उपस्थित हुने गरी छाड्नु पर्ने बताए। केसीलाई साधारण तारेखसम्म तोक्न नमिल्ने जिकिर उनले गरे। 

केसीका तर्फबाट अरुण ज्ञवालीले पनि बहस गरेका थिए। यससँगै १२ प्रतिवादीको बहस सकिएको छ। यसअघि बहस गरेका ११ प्रतिवादीका वकिलले शरणार्थी प्रकरणमा आफ्नो पक्षको संलग्नता अस्वीकार गर्दै सहप्रतिवादीलाई समेत जोगाएर बहस गरेका थिए। 

तर रामशरणका वकिलले भने अरुको संलग्नता भएको र केसीले पनि रकम उठाएर बुझाएको स्वीकार गर्दै त्यसरी उठाएको रकम उनले फिर्ता गरिसकेको र उनी आफैँ पीडित भएको जिकिर गरे। 

अब यो मुद्दामा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, आङटावा शेर्पा, टेकनाथ रिजाल, शमशेर मिया, हरिभक्त महर्जन र लक्ष्मी महर्जनको तर्फबाट बहस हुन बाँकी छ। 

बहसको सुरुमा प्रतिवादीका लागि मंगलबारसम्मको समय तोकिएको भए पनि लम्बिने सम्भावना बढेको छ। त्यसपछि अभियोजन पक्षका तर्फबाट जवाफी बहस हुने छ र न्यायाधीशले थुनछेक आदेश गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .