समाज


नेपालमा पनि भेटियो मंकीपक्स भाइरस, कसरी सर्छ?

यस्ता छन् लक्षण
नेपालमा पनि भेटियो मंकीपक्स भाइरस, कसरी सर्छ?

फाइल तस्बिर


नेपालखबर
असार १, २०८० शुक्रबार १९:२६, काठमाडौँ

नेपालमा सरुवा रोग एमपक्सका संक्रमित भेटिएको पुष्टि भएको छ। 

नेपालमा रहेकी ६० वर्षीया विदेशी नागरिकमा एमपक्स संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

एमपक्स संक्रमित ती महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका प्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार उनी चिकित्सकको निगरानीमा छिन्।

एमपक्सका विषयमा थप खोज अनुसन्धान तथा उपचारको कार्य जारी रहेको मन्त्रालयले जानकारी दिएको छ। नेपालमा पहिलो पटक एमपक्स पुष्टि भएको हो।

हालसम्म यो रोग १११ देशमा पुष्टि भइसकेको छ। एमपक्स रोग मंकीपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो। एमपक्स रोग मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्दछ।

सन् १९८० मा विफरको उन्मूलन र विश्वव्यापी विफर खोपको अन्त्य पछि मकीपक्स मध्य पूर्वी र पश्चिम अफ्रिकामा निरन्तर रूपमा देखा परिरहेको मन्त्रालयको भनाइ छ। सन् २०२२( २०२३ मा यसले विश्वव्यापी प्रकोपको रुप लिएको थियो। लोखर्के र बाँदरजस्ता साना स्तनपायी जनावरबाट यो रोग संक्रमण हुने गरेको पाइएको छ।

एमपक्स रोग संक्रमित व्यक्ति वा जनावरबाट संक्रमण हुने गर्छ। संक्रमितमा ज्वरो आउने, सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिन भित्रमा छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखा पर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रथिहरू बढ्ने लगायतका लक्षण देखिन्छन्।

यसका साथै आँखामा संक्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जाने र मृत्यु समेत हुन सक्ने भन्दै मन्त्रालयले सचेत हुन आह्वान गरेको छ।

मंकीपक्स’ का सुरुवाती लक्षण भनेको जिउ एकदमै दुख्ने, टाउको दुख्ने र बिस्तारै लिम्फ ग्रन्थीहरू सुन्निँदै जाने र ठेउला शरीरभर पानी फोकाजस्तो बिबिराहरू आउने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए।

संक्रमण भएको ५ देखि २१ दिनसम्ममा ‘मंकीपक्स’को लक्षणहरू देखिने उनले बताए।

सुरुको अवस्थामा ज्वरो आउनु, टाउको र जिउ दुख्नु अन्य रोगहरूसँग मिल्दोजुल्दो लक्षण देखिने गर्दछ र लिम्फ ग्रन्थीहरू सुन्निनु यसका प्रारम्भिक लक्षणहरू भएको डा. पुनले बताए।

उनका अनुसार शरीरभर बिबिरा आउन र विस्तारै फुटेर पाप्राजस्तो भएर जान्छ, त्यसैले ‘मंकीपक्स’ र ठेउलाको लक्षणहरू उस्तै भएकाले यी दुई रोगबीच झुक्किने हुन्छ।

मंकीपक्स’ सामान्यतय २ देखि ४ हप्तामा आफैँ निको हुने गर्दछ। 

निमोनिया, एनकेफलाइटिस, अन्धोपन यसका जटिलताहरूअन्तर्गत पर्दछन्। ‘मंकीपक्स’ कम संक्रमण भए पनि १० जना बिरामीमध्ये १ जनाको मृत्यु हुने गरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .