समाज


काठमाडौंमा बिहानै घाम लाग्यो, मौसम सुध्रिन लागेको हो?

काठमाडौंमा बिहानै घाम लाग्यो, मौसम सुध्रिन लागेको हो?

फाइल तस्बिर


नेपालखबर
असार २१, २०८० बिहिबार ८:२६, काठमाडौँ

आज (बिहीबार) बिहानैदेखि काठमाडौं उपत्यकामा घाम लागेको छ। 

आजदेखि वर्षा कम हुन लागेको हो? 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले नेपालखबरसँग भने, ‘होइन, अहिले बिहान एकछिनलाई त्यो पनि काठमाडौं उपत्यकामा मात्र अलिकति घाम देखिएको हो, यो वर्षा कम भएर मौसम सुध्रिन लागेको संकेत होइन।’

उनका अनुसार काठमाडौं उपत्यकामै पनि आज दिउँसो तथा राति दुवै समय वर्षा हुने सम्भावना छ। ‘अहिले बिस्तारै बादल बढ्दै छ’, मौसमविद् अधिकारीले भने, ‘दिउँसोतिर वर्षा हुन्छ।’

त्यसो त पछिल्लो ३ घण्टामा सबै प्रदेशका विभिन्न स्थानमा पानी परेको छ।

मौसमविद् अधिकारीका अनुसार नुवाकोट, सिन्धुपाल्चोकलगायत बागमती प्रदेशका थोरै स्थान, सुदूरपश्चिम र कर्णालीका थोरै स्थान, मधेश र कोशी प्रदेशका एक/दुई स्थान तथा अन्य प्रदेशका पनि थोरै स्थानमा वर्षा भएको छ। 

मौसम महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। कोशी र मधेश प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ। 

यस्तै राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। देशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। 

मौसमविद् अधिकारीले भने, ‘भोलि र पर्सि पनि देशभर वर्षाको सम्भावना छ।’ 

मौसमी भाषाको अर्थ

मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ। अनि २ सय मिलिमिटरदेखि माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ। 

यस्तै सम्बन्धित क्षेत्रको १० प्रतिशत भूभागमा मात्रै वर्षा हुनुलाई एक/दुई स्थान, १० देखि ३० प्रतिशत भूभागमा पानी पर्नुलाई थोरै स्थान, तोकिएको क्षेत्रको ३० देखि ५० प्रतिशत भूभागमा वर्षा हुनुलाई थोरै स्थान, ५० देखि ८० प्रतिशत भूभागमा पानी पर्नुलाई केही स्थान, ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षा हुनुलाई अधिकांश स्थानमा वर्षा हुने भनेर बुझ्नुपर्ने मौसमविद् बताउँछन्।  

यस्तै मौसम महाशाखाले दिउँसो भन्नाले दिन अर्थात् बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मको समयलाई मान्ने गरेको छ भने राति भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समय हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .