ad ad

समाज


चिनियाँ नागरिक लिनको गोदाममा फेला पर्‍यो राष्ट्र बैंकको भन्दा ठूलो सुन गाल्ने मेसिन

चिनियाँ नागरिक लिनको गोदाममा फेला पर्‍यो राष्ट्र बैंकको भन्दा ठूलो सुन गाल्ने मेसिन

सय किलो सुन प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक जिक्वाङ लिन (तस्बिर : नेपालखबर)


उजिर कार्की
साउन १०, २०८० बुधबार २१:२०, काठमाडौँ

हङकङबाट आएको सय किलो सुन प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक जिक्वाङ लिनको काठमाडौंस्थित गोदाममा सुन गाल्ने ठूलो मेसिन फेला परेको छ।

राजस्व अनुसन्धान विभागको टोलीले बालुवाटारस्थित उनको गोदाममा छापा मार्दा सुन गाल्ने मेसिन फेला परेको हो। 

राजस्व स्रोतका अनुसार उनको गोदाममा फेला परेको मेसिन राष्ट्र बैंकसँग रहेको भन्दा बढी क्षमताको छ। लिन एक वर्षदेखि नेपालमा कम्पनी खोलेर बसिरहेका छन्। 

उनले यसअघि पनि तस्करीको सुन भित्र्याएको र त्यही गोदाममा गालेर बेचेको आशंका राजस्वले गरेको छ। उनको नाममा नेपालमा ल्यान्ड एण्ड ओसियन इन्टरनेशनल लजिस्टिक प्राइभेट लिमिटेड सञ्चालनमा थियो।

‘लिनको गोदाममा सुन गाल्ने मेसिनसहितका सामाग्री बरामद भएका छन्। जुन राष्ट्र बैंकसँग भएको भन्दा ठूलो र बढी क्षमताको छ,’ राजस्व स्रोतले भन्यो, ‘राष्ट्र बैंकले हामीले बरामद गरेको सुन गाल्न एकैदिनमा सक्दैन। तर चिनियाँको मेसिनले छिट्टै गालिसक्ने रहेछ।’ 

राजस्व विभागको टोलीले विमानस्थलबाट ट्याक्सीमा बाहिर लैजाँदै गरेको अवस्थामा ब्रेक शुभित्र लुकाइएको करिब सय किलो सुन बरामद गरेको थियो। उक्त ट्याक्सीमा लैजाँदै गरेको सामान चिनियाँको गोदाममा लैजान लागिएको बयानपछि राजस्वले गोदाममा छापा मारेको हो।

गोदामबाट थप सामान बरामद भएको थियो। तर ती सामानभित्र सुन रहे नरहेको खुलाइएको छैन। 

पक्राउ परेका चिनियाँ एक वर्षदेखि नेपालमै, महाराजगञ्जमा थियो कार्यालय
यता प्रहरीले सुन प्रकरणमा पक्राउ गर्न थालेपछि चिनियाँ नागरिक लिन भने स्वदेश फर्किने तयारीमा थिए। उनी फर्किन लाग्दा विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो।

विभागले पत्र पठाउँदै उनलाई ब्ल्याक लिस्टमा राख्न पत्र पठाएको थियो। अध्यागमनले सोही अनुसारको सूचना विमानस्थल सुरक्षा प्रहरी कार्यालयलाई दिएपछि लिन पक्राउ परेका हुन्। 

लिन २०२२ को सेप्टेम्बर २८ मा तीन महिनाको भिजिट भिसामा नेपाल आएका थिए। 

तर त्यसपछि पटक पटक भिसा थप गर्दै नेपालमै बसिरहेका थिए। २०२३ मार्च १० गते पनि तीन महिनाको भिजिट भिसा थपेर नेपाल बसे।

२०२३ अप्रिल १६ मा तेस्रो पटक तीन महिनाको भिजिट भिसा थपेका उनले अन्तिम पटक २०२३ मे ११ मा तीन महिनाको ब्यापारिक भिसा लिएका थिए। त्यो भिसाको म्याद २०२३ अगस्ट ९ सम्म थियो।

यो प्रकरणमा राजस्वको टोलीले अहिलेसम्म १७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चिनियाँ नागरिक लिन, एकजना तिब्बली मुलका भारतीय नागरिक छन्। अरु अध्यागमन विभागका कर्मचारी, भन्सार एजेन्ट समेत छन्। 

राजस्वले यसमा संलग्न रहेका र आशंका गरिएका व्यक्तिका घर तथा कम्पनीमा समेत छापा मारेर सामान जफत गरिरहेको छ। बुधबार राजेशकुमार अडुकियाको घरमा छापा मारेको छ। 

हङकङबाट सुन आएको कम्पनी रेडी ट्रेडको गोदाममा पनि बुधबार साँझ छापा मारेर सामान बरामद गरेको छ। उक्त गोदामबाट ६६ काटन ब्रेक सु लेखिएका सामान बरामद भएको छ। उक्त सामान राजश्वको टोलीले लगेको छ। 

ती सामानभित्र सुन रहे नरहेको भने खुलिसकेको छैन।

यो पनि पढ्नुहोस्ः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .