समाज


चितुवासँग भिडेर ज्यान जोगाए, कुखुरा खान आएको चितुवालाई खोरभित्रै थुनिदिए

चितुवासँग भिडेर ज्यान जोगाए, कुखुरा खान आएको चितुवालाई खोरभित्रै थुनिदिए

फाइल तस्बिर


नेपालखबर
भदौ ७, २०८० बिहिबार ९:४९, काठमाडौँ

काठमाडौंको कीर्तिपुरमा गएराति चितुवाको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन्। 

कीर्तिपुर नगरपालिका- ४ थापागाउँमा अवस्थित कुखुरा फार्ममा प्रवेश गरेर गएराति १ बजे चितुवाले आक्रमण गर्दा फार्म सञ्चालक ३८ वर्षीय कुन्निप्रसाद तामाङ घाइते भएका हुन्।

चितुवाको आक्रमणबाट दुबै हात र दुबै खुट्टामा गम्भीर चोट लागेका तामाङको हाल वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरी वृत्त कीर्तिपुरका वरिष्ठ सई हस्तबहादुर तामाङले जानकारी दिए। 

‘आफू घाइते भएपनि उहाँले चितुवालाई कुखुरा फार्मभित्रै थुनेर राख्नु भएको छ,’ तामाङले नेपालखबरसँग भने, ‘हामी चितुवालाई उद्धार गर्ने प्रयास गरिरहेका छौँ।’

चितुवालाई काठमाडौँको हात्तीसारबाट गएको वनको प्राविधिक टोलीले डार्ट गरेर (लठ्ठिने सुई लगाएर) नियन्त्रणमा लिने तयारी गरिरहेको उनले जानकारी दिए। 

कुखुरा फार्ममा कुरुवा बसेको बेला राति कुखुरा खान आएको चितुवाले तामाङलाई आक्रमण गरेको हो। रसुवाको छोधोङ्मो गाउँपालिका- २ घर भएका तामाङले कीर्तिपुरमा जग्गा लिजमा लिएर कुखुरा फार्म सञ्चालन गर्दै आएका छन्। 

चितुवाले आक्रमण गर्न थालेपछि आफूले प्रतिकार गरेर ज्यान जोगाएको तामाङले बताएका छन्। 

प्रतिकारको क्रममा आफूले पनि चितुवालाई लाठीले हानेको तामाङले बताएका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .