यतिबेला (बिहीबार बिहान) देशको पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली भएको छ भने तराईमा मौसम सफा रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार संखुवासभामा बिहान हल्का वर्षाबाहेक अहिले देशभर कतै पानी परेको छैन।
‘एक/दुई दिनलाई खासै ठूलो वर्षाको सम्भावना छैन’, उनले भने, ‘तराईमा त आज घाम लाग्छ।’
उनका अनुसार यतिबेला काठमाडौं उपत्यकाको मौसम आंशिक बदली छ। ‘दिउँसो घाम लाग्ने सम्भावना छ’, उनले भने, ‘बेलुकीपख छिटपुट वर्षाको सम्भावना पनि छ।’
मौसम महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर–पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको छ।
महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा थोरै स्थानमा हल्कादेखि मध्यमसम्म र बाँकी भूभागका एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना छ। भारी वर्षाको सम्भावना कतै छैन।
यस्तै राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुन सम्भावना छ। भारी वर्षाको सम्भावना कतै छैन।
मौसमी भाषाको अर्थ
मौसमविद्का अनुसार मौसम सफा भनेको पूरै आकाश छ्याङ हुनु, मुख्यतया सफा भनेको २५ प्रतिशत आकाशमा बादल, आंशिक बदली भनेको २६ देखि ५० प्रतिशतसम्म आकाश बादलले ढाक्नु, साधारणतया बदली भनेको ५१ प्रतिशतदेखि ७५ प्रतिशतसम्म आकाशमा बादल, अधिकांश बदली भनेको ७६ देखि ८८ प्रतिशतसम्म आकाश बादलले ढाक्नु र पूर्ण बदली भनेको ७६ प्रतिशतदेखि ८८ प्रतिशतसम्म आकाशमा बादल हुनु हो।
मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ। अनि २ सय मिलिमिटरदेखि माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ।
यस्तै सम्बन्धित क्षेत्रको १० प्रतिशत भूभागमा मात्रै वर्षा हुनुलाई एक/दुई स्थान, १० देखि ३० प्रतिशत भूभागमा पानी पर्नुलाई थोरै स्थान, तोकिएको क्षेत्रको ३० देखि ५० प्रतिशत भूभागमा वर्षा हुनुलाई केही स्थान, ५० देखि ८० प्रतिशत भूभागमा पानी पर्नुलाई धेरै स्थान, ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षा हुनुलाई अधिकांश स्थानमा वर्षा हुने भनेर बुझ्नुपर्ने मौसमविद् बताउँछन्।
यस्तै मौसम महाशाखाले दिउँसो भन्नाले खासमा दिनको अर्थमा प्रयोग गरेको छ। दिउँसो भनेको बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मको समय बुझ्नुपर्ने मौसमविद् बताउँछन्। यस्तै राति भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयलाई बुझ्नुपर्ने मौसमविद्को भनाइ छ।
Shares
प्रतिक्रिया