समाज


सप्तकोशीमा हामफालेका डाक्टरको शव १० दिनपछि भेटियो

सप्तकोशीमा हामफालेका डाक्टरको शव १० दिनपछि भेटियो

नेपालखबर
भदौ २०, २०८० बुधबार ११:३०, उदयपुर

सुनसरी र उदयपुर जोड्ने सप्तकोशी नदीको चतराघाटस्थित पुलमा कार छाडेर १० दिनअघि बेपत्ता एकजना डाक्टरको शव भेटिएको छ।

कोशी पुलको उदयपुरखण्डतर्फ आफ्नो कार छाडेर मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा कार्यरत जनरल सर्जन डा. प्रज्वल कोइराला बेपत्ता भएका थिए। 

झापाको दमक नगरपालिका-१ घर भएका ३८ वर्षीय कोइराला कोशीको पुलबाट बेपत्ता भएपछि खोजी गर्दै जाँदा एक टापु क्षेत्रमा भेटिएको हो। प्रदेश १–०२–००२ च ४१६६ नम्बरको कार छाडेर कोइराला बेपत्ता भएका थिए।

गत भदौ १० गते उदयपुरको बेलका नगरपालिका-८ स्थित सप्तकोशी नदीको पुल छेउमा कार पार्किङ गरेर उनले नदीमा हामफालेका थिए।

घटनाको १० दिनपछि सुनसरीको बराहक्षेत्र नगरपालिका-२ स्थित कोशीले टापु बनाएको क्षेत्रमा उनको शव भेटिएको प्रहरीले जनाएको छ।

सप्तकोसीमा माछा मार्नेहरूले शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। कोइरालाले आत्महत्या गर्नुको कारण खुलेको छैन। तर प्रेमिकासँगको विवादका कारण आत्महत्या गरेको बताइए पनि पुष्टि भएको छैन।

उनको शव सडिसकेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलले बताए। 

‘उहाँको शव सडिसकेको अवस्थामा फेला परेको छ। आफन्तहरुले मंगलबार नै सनाखत गर्नुभएको छ,’ एसपी फुयाँलले भने, ‘शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाएका छौँ।’

कोइराला भदौ १० गते सबेरै बिहान २ बजे कोशीको पुलमा आएको सीसी टीभी फुजेटमा देखिएको थियो। तर उनले हामफालेको दृश्य देखिएको थिएन। 

उनको खोजीका लागि सुनसरीबाट सशस्त्र प्रहरीको गोताखोरको टोली आएको थियो। उदयपुरको इलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा अर्को टोली पनि परिचालित भएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .