ad ad

समाज


खोटाङमा खयर चोरीरनिकासी प्रकरण : ६जना विरुद्ध पक्राउ पुर्जी जारी

खोटाङमा खयर चोरीरनिकासी प्रकरण : ६जना विरुद्ध पक्राउ पुर्जी जारी

नेपालखबर
असोज ३०, २०८० मंगलबार २१:३२, खोटाङ

हलेसी तुवाचुङ नगरपालिका–४ कुन्तादेवी आमा समूहले गत साउन–२४ गते राति दुई वटा ट्याक्टरमा ‘लोड’ गरेर निकासी गर्न लागिएको खयर बरामद गरेको थियो।

स्थानीय खोक्सेली सामुदायिक वनबाट अनुमतिविना खयरका रुख कटान गरी रातको समयमा निकासी गर्दै गरेको अवस्थामा आमा समूहले राति करिब ८ बजे दुई वटा ट्याक्टरलाई नियन्त्रणमा लिएर खयरका काठ बरामद गरेको हो।

आमा समूहले खयरका काठ बरामद गरेलगत्तै भोलिपल्ट गठन गरिएको छानबिन समितिले हप्ता दिनपछि साउन–३२ गते उक्त खयरका काठ चोरी/निकासीमा संलग्न रहेको ठहर गर्दै झापा घर भएका ठेकेदार अनिल राई र स्थानीय जोखबहादुर बस्नेतसहित छ जनालाई कारबाही गर्न डिभिजन वन कार्यालय खोटाङलाई पत्र लेखेको थियो। छानबिन समितिले गरेको सिफारिसको आधारमा डिभिजन वन कार्यालयले दुई महिनापछि यही असोज–७ गते ठेकेदार अनिल राई र स्थानीयस्तरमा नेतृत्व गर्ने जोखबहादुर बस्नेतसहित छजना विरुद्ध मुद्दा दर्ता गरी पक्राउ पुर्जी जारी गरेको थियो।

वन कार्यालयले जारी गरेको पक्राउ पुर्जी असोज–८ गते जिल्ला प्रहरी कार्यालय खोटाङमा दर्ता गरेर पक्राउ गर्न अनुरोध गरिएको डिभिजन वन कार्यालय खोटाङका छानबिन अधिकृत धर्मराज चौधरीले जानकारी दिए।

‘अवैध खयर चोरी/निकासीमा संलग्न रहेको आरोपमा ठेकेदार अनिल राई र स्थानीय जोखबहादुर बस्नेतसहित छजना विरुद्ध मुद्दा दर्ता गरेर असोज–७ गते पक्राउ पुर्जी जारी गरिएको छ।

कार्यालयका तर्फबाट पक्राउ पुर्जी जारी गरेको दोस्रो दिन अर्थात् असोज–८ गते जिल्ला प्रहरी कार्यालयलाई आरोपितको नाम र ठेगानासमेत उल्लेख गरेर पत्र बुझाएका थियौँ’, उनले भने, ‘प्रहरीले आरोपितलाई अहिलेसम्म पक्राउ गरेको छैन। पहिलो पटक दिइएको पत्रको आधारमा प्रहरीले आरोपितलाई पक्राउ नगरेपछि पुनः दोस्रो पटक असोज–१६ गते अर्को पत्र दिएका छौँ। यसबारे प्रहरी कार्यालयबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।’

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले भने वन कार्यालयले दिएको पहिलो पत्रमा वन कार्यालयकै गल्ती भेटिएकाले अर्को पत्र मगाएर कारबाहीको प्रक्रिया अगाडि बढाइएको बताइन्। ‘पहिलो पत्रमा कार्यालयलाई गर्नुपर्ने सम्बोधनमै त्रुटि भेटिएकाले अर्को पत्र मगाएका थियौँ। वन कार्यालयबाट दोश्रो पत्र असोज–१६ गतेमात्रै आयो। वन कार्यालयले दिएको पत्र हातहतका प्रहरी चौकीमा पठाइ सकेका छौँ’, उनले भनिन्, ‘जिल्लाबाट गएको पत्र पाएलगत्तै अहिले हातहतका प्रहरीले आरोपितलाई खोजी गरिरहेका छन्। दसैँ, तिहार, छटलगायत कुनै पनि दिन प्रहरी बिदा मनाएर बस्दैन। सम्भवतः उनीहरु चाँडै पक्राउ पर्छन्।’

सामुदायिक वनको खयर विनाअनुमति चोरीरनिकासी भइरहेको पाएपछि कोशी प्रदेश वन तथा वातावरण मन्त्रालय विराटनगरले सव–डिभिजन वन कार्यालय हलेसीका प्रमुख रामसागर मण्डललाई सरुवा गरेको छ भने आमा समूहले बरामद गरेको खयर डिभिजन वन कार्यालय खोटाङमा लगेर राखिएको छ। घटनास्थलबाट आमा समूहले बरामद गरेर कार्यालयलाई बुझाएको खयर तीन सय ६१ क्युफिट रहेको डिभिजन वन कार्यालयका छानबिन अधिकृत चौधरीले जानकारी दिए।

अवैध रुपमा खयर चोरीरनिकासी गर्ने कार्यमा तत्कालीन कार्यालय प्रमुख मण्डलको संलग्नता रहेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल काठमाडौँमा उजुरीसमेत परेको थियो। मण्डलको नाममा रहेको बैंक खाताको स्टेटमेन्ट (बैंकिङ कारोबार गरेको आयव्यय) समेत अख्तियारले मगाएको थियो।

खोक्सेली सामुदायिक वनमा ३८ खयरका रुख बिनाअनुमति काटिएको पाइएको छानबिन समितिका सदस्य एवं स्थानीय बासिन्दा शेषकुमार पौडेलले जानकारी दिए। ‘सामुदायिक वनको खयर अवैध तरिकाले कटान गरी चोरीरनिकासी गर्नमा संलग्न दोषीलाई कडा कारबाही हुनुपर्छ। निर्दोष कोही पनि फस्नु हुँदैन’, उनले भने, ‘ज्यालादारीमा काम गर्ने मान्छे विरुद्ध पनि मुद्दा दायर भएको भन्ने जानकारी पाएको छु। नियामक निकायले गम्भीरतापूर्वक छानबिन गरेर कारबाहीको प्रक्रिया अगाडि बढाओस्।’

सोही नगरपालिकाको वडा नं २ डिकुवामा पनि यसअघिदेखि नै अवैध रुपमा खयरको काठ कटान गरेर चोरीरनिकासी गरिरहेको पाइएको थियो। चितवनबाट आएका ठेकेदार अर्जुन बस्नेतले डिकुवाका विभिन्न ठाउँबाट विनाअनुमति खयर कटान गरी निकासी गरिरहेको वडाध्यक्ष देवेन्द्र राईले बताए।

डिकुवामा एक हजार चार सय ५७ क्युफिट मात्र खयर खटान आदेश लिएको सवडिभिजन वन कार्यालय हलेसीका तत्कालीन प्रमुख मण्डलले जानकारी दिए। उक्त क्षेत्रमा कति वटा खयरका रुख कटान भयो भन्ने मण्डललाई जानकारी थिएन।

डिकुवाका स्थानीय केशरबहादुर मगरले बाइटार भन्ने ठाउँमा रहेको आफ्नो निजी जग्गाको खयर कटान आदेशकै आधारमा स्थानीय कुमारसिं राईको बलुही भन्ने ठाउँमा रहेको जग्गाबाट सात हजार क्युफिट खयर निकासी गरेको पाइएको वडाध्यक्ष राईले जानकारी दिए। विनाअनुमति खयर कटान हुनु, विना परीक्षण ढुवानी हुनुमा वन कार्यालयका कर्मचारी र ठेकेदारको मिलेमतो हुनसक्ने स्थानीय बासिन्दा आरोप छ।

बलुही भन्ने ठाउँ आसपासका सामुदायिक वनको १७ रुखविना अनुमति कटान गरेको पाइएको छानबिन अधिकृत चौधरीले जानकारी दिए। विनाअनुमति काटिएका खयरको विषयमा सर्जमिन मुचुल्का गरेर कारबाहीको प्रक्रिया अगाडि बढाइएको डिभिजन वन कार्यालय खोटाङले जनाएको छ।

कटान गरिएकै स्थानमा प्रति केजी रु ३५ मा बिक्री भइरहेको खयर हलेसी तुवाचुङ नगरपालिकाका बाहुनीडाँडा, च्याम्सिटार, दुर्छिम, धितुङ र राजापानीका साथै जिल्लाका विभिन्न ठाउँबाट निकासी हुने गरेको छ। प्रतिबन्धित खयर जिल्लाबाट विनाअनुमति विना परीक्षण खुलेआम निकासी हुनुमा ठेकेदार र कर्मचारीबीच ठूलो मात्रामा आर्थिक चलखेल हुने गरेको समाचार स्रोतले दाबी गरेको छ।

डिकुवा र बडहरेमा खयर कटान गरेर निकासी गर्ने दुवै जना ठेकेदारसँग अहिलेसम्म फोन सम्पर्क हुन सकेको छैन। उनीहरु दुवैलाई पटकपटक फोन गर्दा उनीहरु दुवै जनाको फोन लागेपनि रिसिभ गर्दैनन्। दश स्थानीय तह रहेको खोटाङ जिल्लाका बेँसी क्षेत्रमा पर्ने अधिकांश वनमा बहुउपयोगी वनस्पति खयर पाइन्छ। आयुर्वेदिक पद्धतिअनुसार विभिन्न रोग नियन्त्रणका लागि उपयोगी हुने औषधिजन्य वनस्पति खयर पछिल्लो समय सामुदायिक, कबुलियती र निजी क्षेत्रका वनबाट विनाअनुमति कटान गरी रातारात चोरीरनिकासी भइरहेको छ।

बहुउपयोगी औषधिजन्य वनस्पति खयर पाचन शक्ति बढाउन र झाडापखालालाई निकै फाइदा हुने भएकाले बिक्री हुने गरेको स्थानीय बासिन्दाले बताउने गरेका छन्। घाउ, खटिरा, बाथ तथा मर्केको जोर्नीहरूमा लेप (खयरका काठ घोटेर आउने लेदो) लगाउन पनि यसलाई प्रयोग गर्ने गरिएको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .