समाज


जलेश्वरमा परिवारका सबैलाई एउटै कोठामा थुनेर ५० लाख बराबरको लुटपाट


नेपालखबर
कात्तिक २०, २०८० सोमबार १२:४२, महोत्तरी

महोत्तरीको जलेश्वर नगरपालिका–८ रतवारा गाउँमा गएराति एक घरबाट ५० लाख रुपैयाँ भन्दा धेरैको लुटपाट भएको छ।

डाकाहरुको एक समूहले बन्दुक देखाउँदै जयकिशोर चौधरीको घरबाट ५० लाख रुपैयाँ बराबरको लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए।

‘डाकाहरुले घरधनी ५० वर्षीय जयकिशोर चौधरी, ४८ वर्षीय उनकी पत्नी सीमा, ६७ वर्षीय बुवा भुवनेश्वर र ६५ वर्षीया आमा शैलदेवी चौधरीलाई पेस्तोल देखाउँदै नियन्त्रणमा लिएर सबैलाई भान्सा कोठामा बन्द गरेपछि घरमा लुटपाट गरेका हुन्,’ मल्लले भने।

घरका सबैलाई एउटै कोठामा बन्द गरेपछि बाँकी कोठाभित्र रहेका दराज, बक्सालगायत तोडफोड गरेर उनीहरुले लाखौँको सुन, चाँदी र नगद लुटपाट गरेका मल्लले बताए। 

घरको पछाडिबाट घरभित्र छिरेका उनीहरुले भित्र छिर्ने वित्तिकै चारै जनामाथि धारिलो हतियार प्रहार गरेर घाइते बनाएका थिए। धारिलो घरेलु हतियार, हात, मुक्का र लात्तीले पटक–पटक प्रहार गर्दै उनीहरुले राति १ः३० देखि करिब २ बजेसम्म लुटपाट गरेका पीडित परिवारका सदस्यले बताएका छन्।

डाकाको प्रहारबाट घाइते भएका सबैको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको प्रहरी उपरीक्षक मल्लले जानकारी दिए।

डाकाहरुले चौधरीको घरबाट एक लाख नगद, ४० तोला भन्दा बढी सुनका गरगहना, अढाई किलो चाँदीका गरगहना, एक लाख ७५ हजार मूल्य बराबारको मोबाइल फोनसहित ५० लाख भन्दा धेरै मूल्यको लुटपाट गरेका हुन्। 

अस्पतालमा उपचाररत चौधरीका बुवा भुवनेश्वरको टाउकोमा आठवटा टाँका लगाइएको छ भने अन्यको पनि टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीलाई बिहान मात्रै जानकारी आएको एसपी मल्लले बताए। ‘पीडित परिवारलाई भेटेर सोधपुछ गरी अनुसन्धान प्रक्रिया अघि बढाएका छौँ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .