समाज


८ महिनाअघि उपरथी शाहीलाई बर्खास्त गर्ने पाण्डेको उस्तै विवादमा बहिर्गमन

को बन्ला भावी प्रधानसेनापति?
८ महिनाअघि उपरथी शाहीलाई बर्खास्त गर्ने पाण्डेको उस्तै विवादमा बहिर्गमन

प्रधानसेनापति प्रभुराम शर्मा र उपरथी ताराध्वज पाण्डे (फाइल तस्बिर)


उजिर कार्की
कात्तिक २५, २०८० शनिबार २०:५५, काठमाडौँ

प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वको बढुवा सिफारिस समितिले उपरथी ताराध्वज पाण्डेलाई रथीमा बढुवा गर्न असोज अन्तिम साता सूचना जारी गर्‍यो।

सूचनामा उपरथी पाण्डेलाई रथीमा बढुवा गर्न सिफारिस गरिएको उल्लेख गर्दै त्यसप्रति कुनै उजुरी भए सात दिनभित्र दिन भनिएको थियो।

२०८१ भदौ २४ गते कार्यकाल पूरा गरेर अनिवार्य अवकासमा जान लागेका प्रधानसेनापति शर्माले आफ्नो उत्तराधिकारीका रूपमा पाण्डेलाई अगाडि बढाएका थिए। यदि शुक्रबार राजीनामा दिन बाध्य नभएको भए शर्मापछि नेपाली सेनाको कमाण्ड उनै पाण्डेले गर्ने करिब निश्चित थियो।

तर, बढुवा समितिले सूचना जारी गरेपछि नै पाण्डेको उमेर विवाद सार्वजनिक भयो। शैक्षिक प्रमाण पत्र र नागरिकतामा छुट्टाछुट्टै जन्ममिति रहेको र पछि मिलाएको आरोप उनीमाथि लागेको भए पनि सेनाले यसलाई ढाकछोपको प्रयास गर्‍यो।

कात्तिक ५ गते विज्ञप्ति नै जारी गरेर जंगी अड्डाले स्वीकृत दरबन्दी रिक्त भएको पदमा प्रचलित ऐन, नियमावलीलगायत कानुनी प्रावधान एवं नेपाली सेनाको स्थापित अभ्यासअनुरुप नै पदोन्नतिको प्रक्रिया अगाडि बढेको दाबी गरेको थियो।

विज्ञप्तिमा अगाडि भनिएको थियो, ‘पदोन्नतिको प्रक्रिया अगाडि बढेको र सम्बन्धित पदाधिकारीको योग्यता तथा उमेरसम्बन्धी कागजातहरू विगतमा नै सम्बद्ध शिक्षण संस्थालगायतका निकायहरूबाट यकिन भइसकेकोमा संस्थाको विधिसम्मत् प्रक्रियालाई विवादित तुल्याउने आशयले भएको टिकाटिप्पणीमा सत्यता नरहेको व्यहोरा जानकारी गराइन्छ।’

यसको १९ दिनपछि उमेरमा उठेको प्रश्न होइन, सेनाजस्तो संगठनको मुख्यालयले जारी गरेको विज्ञप्तिचाहिँ झुट् भएको पुष्टि भयो। किनभने, उमेर विवादमा छानबिन गर्न चौतर्फी दबाब बढेपछि सेनाले वरिष्ठतम् रथी सीताराम खड्काको नेतृत्वमा समिति बनायो।

उमेर सच्याएको खुले कारबाहीमा पर्ने देखेपछि उपरथी पाण्डेले यसबाट बच्न पहिल्यै राजीनामा दिएर सेवाबाटै बाहिरिने बाटो रोजे। भावी सेनाप्रमुखको दौड पनि यहीँ समाप्त भयो।

अघिल्ला छानबिनहरूमा जोगिँदै आएका पाण्डेलाई संरक्षण गर्न यसपटक भने सरकार, विशेष गरी तालुकवाला रक्षा मन्त्रालय नै तयार भएन। मन्त्रालयले समेत छानबिन गर्न भनेपछि जंगी अड्डा समिति बनाउन बाध्य भएको मन्त्रालयका एक अधिकारीले बताए।

प्रारम्भिक अनुसन्धानमा पाण्डेका कागजात शंकास्पद देखिएपछि छानबिन समितिले कोर्टमार्सल (सैनिक अदालत) गठन गर्न सुझाव दिएको थियो। त्यसपछि पाण्डे राजीनामा दिन बाध्य भए।

पछिल्लो समय नेपाली सेनामा नक्कली प्रमाण पत्र र किर्तेका एकपछि अर्का विवाद र प्रमाण बाहिरिन थालेका छन्। यसअघि उमेर विवादकै कारण ८ महिनाअघि उपरथी प्रेम शाहीलाई बर्खास्त गरिएको थियो। शाहीलाई बर्खास्त गर्ने कोर्टमार्सलको नेतृत्व ताराध्वज पाण्डेले नै गरेका थिए। अहिले आएर तिनै पाण्डे आफू पनि सोही विवादमा परे र कारबाही हुनुअघि राजीनामा दिएर बाहिरिए।

दुई थरी उमेर खुल्ने प्रमाण भएपछि सेनाले सुरुमा अघिल्लो उमेरका आधारमा शाहीलाई अवकासको पत्र थमाएको थियो। तर, अवकासपत्र बुझिसकेका शाही त्यसविरुद्ध सर्वोच्च अदालत गए र आफ्नो पछिल्लो उमेर दाबी गरे। सर्वोच्चले उनकै पक्षमा आदेश गर्‍यो।

तर सर्वोच्चको अदालतको आदेश बोकेर भद्रकाली फर्किएका शाही सेनाको आन्तरिक हिरासत मात्रै पुगेनन्, संगठनविरोधी गतिविधि गरेको आरोपमा बर्खास्तगीमै परे।

उनलाई बर्खास्तको फैसला सुनाउने पाण्डेको नियति भने त्यहाँसम्म पुग्न पाएन। सम्भावित परिणति बुझेर नै हुन सक्छ, उनी आफैले सेनाको उच्चतम पदको मुखैमा पुगेर जागिरबाट हात धोए र घरतिर लागे।

त्यसो त सैनिक अधिकृतहरूका प्रमाण पत्रहरू यसअघि पनि छानबिन नगरिएका होइनन्। यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाकै पालामा ठूलै संख्याका सैन्य अधिकृतहरू कोर्ट मार्सलमा परेका थिए। त्यसबेलाकै छानबिनको हवाला दिएर समेत यसपालि जंगी अड्डा उम्किन खोजेको थियो।

पाण्डेले त्यस छानबिनलाई अपुरो मात्र सिद्ध गरिदिएका छैनन्, बाँकी रहेका सेनाका अधिकृतका कागजातको विश्वसनीयता पनि यकिन गर्नुपर्ने आवश्यक पनि टड्कारो देखाइदिएका छन्। अब यसले अरू सैनिक अधिकृतको कार्यकाललाई पनि अनिश्चयको भुमरीतर्फ धकेलिदिएको छ।

पाण्डेको राजीनामासँगै नेपाली सेनाको भावी नेतृत्वको प्रतिस्पर्धा पनि रोचक हुने देखिएको छ। कात्तिक १२ गतेदेखि नेपाली सेनामा एक जना रथीको दरबन्दी रिक्त छ, बलाधिकृत रथी सरोजप्रताप राणा अवकास भएसँगै। शर्माले वरीयतामा अगाडि रहेका पाण्डेलाई त्यस ठाउँमा ल्याएर भावी प्रधानसेनापतिको रोलमा राख्ने प्रयास अन्तिम समयमा विफल भएको छ। र, यसले प्रधानसेनापति शर्मामाथि पनि नैतिक प्रश्न उठाएको छ।

हालका एक मात्र रथी सीताराम खड्का आगामी पुस ३ गते उमेर हदका कारण अनिवार्य अवकासमा जाँदै छन्। उनी अवकासमा गएपछि अब बन्ने रथीमध्येबाटै भावी प्रधानसेनापति हुनेछन्।

यदि पाण्डे तत्काल रथीमा बढुवा भएका भए उनी वरीयतामा अगाडि हुने थिए र प्रधानसेनापति बन्ने सम्भावना थियो। उनी दौडबाट बाहिरिएसँगै अब दुई रथीको बढुवा नै १५ दिनको फरकमा वा एकसाथ हुन सक्ने देखिएको छ। तत्काल बढुवा गरिए पनि दुई रथीबीचको फरक १५ दिन मात्रै हुनेछ।

हाल रिक्त रहेको रथीको दरबन्दीमा बढुवाको प्रक्रिया तत्काल सुरु भए पनि मंसिर तेस्रो साता मात्रै प्रक्रिया पूरा हुने देखिन्छ। तर त्यतिबेलासम्ममा अर्को पदमा पनि बढुवाको प्रक्रिया सुरु गरिसक्नुपर्ने अवस्था छ।

अवकासको १५ दिन पहिलेबाट अनिवार्य बिदा बस्ने चलनअनुसार हालका एका मात्र रथी खड्का मंसिर १८ गतेबाट बिदामा बस्नेछन्। त्यतिन्जेल हाल रिक्त दरबन्दीमा प्रक्रिया अगाडि नबढे सेनामा एक साथ दुई रथी बढुवा हुनेछन्।

बढुवाको लाइनमा उपरथी अशोकराज सिग्देल र निर्मलकुमार थापा छन्। थापाभन्दा सिग्देल अगाडि छन्। तर अहिले नै भावी प्रधानसेनापति को बन्ला भन्ने आकलन गर्न भने गाह्रो रहेको सैनिक अधिकारीहरू नै बताउँछन्।

उनीहरुलाई बढुवाको सिफारिस गर्दा पनि बढुवा सिफारिस समितिले उजुरीका लागि सार्वजनिक सूचना जारी गर्नेछ। उनीहरुविरुद्ध पनि उजुरी परे र कैफियत पुष्टि भए रथी बन्नुअघि नै जागिर छोड्नुपर्नेछ।

अब यो अवस्था कतिजनाको आउँछ भन्ने प्रश्नले सैनिकवृत्त तरंगित छ।

भावी प्रधानसेनापति को बन्छ भन्ने प्रश्नको उत्तर पनि त्यही तरंगको भुमरीमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .