समाज


आगलागी घटनामा परेकी किशोरीको उपचारमा आर्थिक अभाव

आगलागी घटनामा परेकी किशोरीको उपचारमा आर्थिक अभाव

फाइल तस्बिर


नेपालखबर
मंसिर ५, २०८० मंगलबार ५:२४, खोटाङ

घरमा आगलागी भएपछि भाग्ने क्रममा गम्भीर घाइते भएकी खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी १५ वर्षीया सरिता तामाङको उपचारमा आर्थिक अभाव भएको छ। 

सोमबार राति मावली घर किशोर राईको घरमा आगलागी भएपछि भाग्ने क्रममा दुई तलामाथिबाट हाम फाल्दा गम्भीर घाइते भएकी सरिताको उपचारमा आर्थिक अभाव भएको हो। 

जिल्लामा उपचार सम्भव नभएपछि काठमाडौँस्थित शिक्षण अस्पताल पु¥याइएकी किशोरीको उपचारमा आर्थिक अभाव भएपछि आफन्त तथा शुभेच्छुकले गाउँपालिका र काठमाडौँमा सहयोग सङ्कलन सुरु गरेका छन्। 

सुतिरहेको अवस्थामा आगलागी सुरु भएपछि ज्यान जोगाउन भाग्ने क्रममा लडेकी सरिताको बायाँ हात र तीन वटा दाँत भाँचिएको स्थानीय बासिन्दाले बताएका छन्।
 
काठमाडौँमा पु¥याएर एक्स–रे गर्दा दाहिने खुट्टाको घुँडामुनिको हाड चोइटिएको देखिएको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले बताएका छन् । बेहोस अवस्थामा काठमाडौँ पु¥याइएकी किशोरीको मुखमा लागेको घाउमा १८ वटा टाँका लगाएको छ।

पर्म गरेर दैनिक गुजारा चलाउनुपर्ने अवस्थाका कारण घाइते किशोरीको उपचारमा समस्या भएपछि सहयोग सङ्कलन गर्न अभियान चलाइएको स्थानीय प्रताप राईले जानकारी दिए। घाइते किशोरीलाई बाक्सिलास्थित स्थानीय क्लिनिकमा सामान्य उपचार गरेर राति नै काठमाडौँ पठाइएको थियो।
 
उपचाररत घाइते किशोरी पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाको कक्षा–९ मा अध्ययनरत छिन्। 

ब्रोइलर कुखुराको चल्लालाई तातो बनाउन बालिएको चिमबाट सल्किएर भएको आगलागीमा राईको तीनतले घरसँगै घरमा राखिएको दुई तोला सुन, चार तोला चाँदी, ब्रोइलर कुखुराको चल्ला, अन्नपात, भाँडावर्तन, काठपात, लत्ताकपडालगायत जल्दा १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागी पीडित परिवारको व्यवस्थापनका लागि स्थानीयस्तरमा पहल भइरहेको जनाइएको छ। 

आगलागीमा सर्वस्व गुमाएका अग्नीपीडित परिवारलाई क्षतिको आधारमा आर्थिक तथा बन्दोवस्तीका सामान उलपब्ध गराउने तयारी गरिएको गाउँपालिका प्रमुख समीर राईले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .