समाज


ल्यान्डफिल्ड साइटका बासिन्दाको पिरलो : अन्य गाउँबाट छोरी दिनै चाहँदैनन्

ल्यान्डफिल्ड साइटका बासिन्दाको पिरलो : अन्य गाउँबाट छोरी दिनै चाहँदैनन्

नेपालखबर
पुस १८, २०८० बुधबार १३:२, काठमाडौँ

काठमाडौँ उपत्यकाको फोहोर लैजाने ल्यान्डफिल्ड साइट सिसडोल, ओखरपौवा र बञ्चरेडाँडा क्षेत्रमा अन्य गाउँबाट छोरीचेली दिनै नमान्ने गरेको यहाँको बासिन्दाले दुखेसो पोखेका छन्।

छोरीचेलीलाई विवाह गरे अन्यत्र दिइने हुँदा केही सहज भए पनि छोराको बिहे गर्न निकै सकस भएको ककनी गाउँपालिका-३ का मनिष ढुंगाना र कृष्णहरि ढुंगानाले बताए।

उनीहरूका अनुसार फोहोरकै कारण अन्य गाउँका मानिसले यहाँ छोरीचेली दिन चाहँदैनन्।

फोहोर व्यवस्थापन वैज्ञानिक हुन नसक्दा सामाजिक चक्र मात्र होइन यहाँको आर्थिक चक्र पनि खलबलिएको छ। दुर्गन्धका कारण यहाँको कृषि उत्पादनमा कमी हुँदै गएकोदेखि क्यान्सरजन्य रोगमा पनि वृद्धि भइरहेको स्थानीयबासीको गुनासो छ।

फोहोरका कारण यस क्षेत्रमा जग्गा किनबेच नै ठप्प जस्तै भएकोदेखि बैंकले समेत धितो अस्वीकार गर्न थालेको उनीहरूको गुनासो छ। फोहोरको गन्धले टाउको दुख्ने समस्या त्यत्तिकै रहेको ककनी गाउँपालिका–२ का विश्वनाथ बजगाईं र राजकुमार घिमिरे बताउँछन्।

नुवाकोटको सिसडोलबाट २०६२ सालमा २ वर्षको क्षमता रहनेगरी सुरु भएको अस्थायी स्यानिटरी ल्यान्डफिल्ड अहिले ओखरपौवा हुँदै बञ्चरेडाँडासम्म पुगेको छ।

सिसडोल, ओखरपौवा र बञ्चरेडाँडा क्षेत्रमा काठमाडौँ उपत्यकाको फोहोर निरन्तर फाल्न थालेको अहिले १९ वर्ष बढी भइसक्यो। फोहोर व्यवस्थापन वैज्ञानिक बन्न नसक्दा कतिपय स्थानीय गाउँ नै छोडेर बसाईं सर्न थालेका छन्। (न्युज एजेन्सी नेपाल)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .