समाज


७२ को महाभूकम्पका परकम्प ५५ हजारपटक गइसके, यो गइरहनुको संकेत के हो?

७२ को महाभूकम्पका परकम्प ५५ हजारपटक गइसके, यो गइरहनुको संकेत के हो?

भूकम्पविद् डा. लोकविजय अधिकारी


नेपालखबर
पुस १९, २०८० बिहिबार १२:३३, काठमाडौँ

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर आज (बिहीबार) बिहान फेरि भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार आज बिहान १० बजेर १७ मिनेट जाँदा सिन्धुपाल्चोकको तीनकुण्ड आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको हो। यसअघि गत आइतबार राति मात्र सिन्धुपाल्चोककै लिस्टिकोट केन्द्रबिन्दु भएर  ५ म्याग्निच्युडको भूकम्प गएको थियो।

भूकम्पविद् डा. अधिकारीका अनुसार यी दुवै २०७२ सालमा गएको महाभूकम्पका परकम्प हुन्। योसमेत ७२ कै भूकम्पका परकम्प ५५ हजारपटक गइसकेको उनले बताए। 

‘२०७२ सालको भूकम्पपछि त्यसका २ म्याग्निच्युडभन्दा माथिका परकम्प ५५ हजारपटक गइसके’, भूकम्पविद् अधिकारीले भने।

२०७२ वैशाख १२ गते गोरखाको बारपार्क केन्द्रबिन्दु भएर ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो। जसमा परी ८ हजार ६ सय ३३ जनाको मृत्यु भएको थियो भने २२ हजार व्यक्ति घाइते भएका थिए। करोडौँका भौतिक संचरनामा क्षति पुगेको थियो। जुन भूकम्प गएको ८ वर्ष बितसक्यो। 

यसरी एउटै भूकम्पको परकम्प कहिलेसम्म गइरहन्छ? 

‘विश्वमा एउटा भूकम्पको परकम्प २०० सय वर्षसम्म गइरहेका उदाहरण छन्’, भूकम्पविद् अधिकारीले नेपालखबरसँग भने, ‘अब नेपालमा कति वर्षसम्म गइरहला अहिले भन्न सकिन्न।’

परकम्प गइरहनुको संकेत के हो त?

भूकम्पविद् अधिकारी भन्छन्, ‘सामान्यतया जुन क्षेत्रमा परकम्प गइरहन्छ, त्यस आसपास ठूलो भूकम्प जाने सम्भावना हुँदैन, तर भूकम्प यस्तो कुरा हो, जसको पूर्वानुमान संसारमा कसैले गर्न सक्दैन।’    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .