समाज


बीपी प्रतिष्ठानको समस्या सुल्झाउन स्वास्थ्यमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

धरानका मेयरले लेखेका थिए मन्त्रीलाई पत्र
बीपी प्रतिष्ठानको समस्या सुल्झाउन स्वास्थ्यमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

फाइल तस्बिर


नेपालखबर
माघ २, २०८० मंगलबार १९:१६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी समिति बैठक बोलाएर शिक्षक, कर्मचारी र चिकित्सकहरूका माग सम्बोधन गर्न निर्देशन दिएका छन्। 

स्वाथ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई मंगलबार प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन्। 

उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा देखिएका समस्या समाधान गर्न निर्देशन पनि दिएको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

प्रधानमन्त्रीले प्रतिष्ठानको पछिल्लो अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको सेवा प्रभावित हुँदा बिरामी र सर्वसाधारणले दुःख पाएकाले गम्भीररुपमा लिन मन्त्री बस्नेत र मुख्यसचिवलाई निर्देशन दिएका हुन्। 

प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्की केही समयदेखि सम्पर्कविहीन छन्। शिक्षक र कर्मचारीको आन्दोलनबीच उनी गायब भएपछि उनको कार्यकक्षमा प्रतिष्ठानका सिनेट सदस्यसमेत रहेका धरानका मेयर हर्क साम्पाङले सोमबार ताला लगाइदिएका छन्। 

प्रतिष्ठानका शिक्षक र कर्मचारीहरू केही दिनयता आन्दोलित छन्। आन्दोलन चलेसँगै प्रतिष्ठानको समस्या नमिलाई उपकुलपति कार्की बिदामा बसेर सम्पर्कबाहिर छन्। 

उपकुलपति कार्कीको कार्यकक्षमा आफूले लगाएको ताला नखोल्न पनि साम्पाङले चेतावनी दिएका थिए। 

कार्यकारिणी समितिको बैठक डाकेर बिदामा बसेका कार्कीविरुद्ध शिक्षक र कर्मचारीहरू निषेध आन्दोलन चलाएका छन्। उनीहरूले कार्कीलाई प्रतिष्ठानमा पस्न नदिने चेतावनी दिएका छन्। 

प्रतिष्ठानको कामु उपकुलपति बनेयता कार्कीले कर्मचारीको बढुवा प्रक्रिया रोकेका छन्। यसलाई लिएर गत कात्तिक २० गते शिक्षक र कर्मचारीसँग समहति भएको थियो। तर अझै पनि त्यो समहति कार्यान्वयन भएको छैन। 

आन्दोलित कर्मचारी र शिक्षकलाई साथ दिँदै मेयर साम्पाङले पनि उपकुलपति कार्कीको राजीनामा मागेका छन्। साम्पाङले मंगलबार स्वास्थ्यमन्त्री बस्नेतलाई पत्र लेख्दै उपकुलपति कार्कीलाई तत्काल प्रतिष्ठानमा उपस्थित गराइदिन माग गरेका छन्। 

मेयर साम्पाङले दबाब बढाउँदै लगेपछि प्रधानमन्त्री प्रचण्डले विभागीय मन्त्री र मुख्यसचिवलाई प्रतिष्ठानको समस्या समाधान गर्न भनेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .