समाज


राति यी स्थानमा चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना

राति यी स्थानमा चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना

फाइल फाेटाे


नेपालखबर
फागुन १०, २०८० बिहिबार २२:३७, काठमाडौँ

आज (बिहीबार) राति पनि देशका विभिन्न स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार राति देशका पहाडी भूभागका थोरै स्थान साथै मधेस र लुम्बिनी प्रदेशका तराई भूभागका पनि एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित छिटपुटदेखि हल्का वर्षा हुने सम्भावना देखिएको हो। 

यसैगरी राति देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। 

महाशाखाले आगामी २४ घण्टा (बिहीबार साँझ ६ बजेदेखि शुक्रबार साँझ ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ : देशका पहाडी भूभागका थोरै स्थानमा साथै मधेस र लुम्बिनी प्रदेशका तराई भूभागका एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले यस प्रणालीका कारण हुने वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात असर पर्नसक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

यसअघि बिहीबार दिउँसो र साँझपख देशका धेरै ठाउँमा वर्षा र हिमपात भएको छ। 

मौसमविद्का अनुसार दिउँसो तथा साँझ काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा भएको हो। काठमाडौँको चन्द्रागिरि, मकवानपुरको दामनलगायत ठाउँमा आज साँझ हिमपात पनि भएको छ।

महाशाखाकी मौसमविद् गंगा नगरकोटीकाअनुसार आज सबैभन्दा धेरै वर्षा पोखरामा भएको छ। 

‘पोखरामा आज ७ दशमलव ५ मिलिमिटर वर्षा भएको छ,’ नगरकोटीले नेपालखबरसँग भनिन्, ‘काठमाडौँ उपत्यकामा पनि आज ३ दशमलव ६ मिलिमिटर वर्षा भएको छ।’

पोखरापछि दाङको घोराहीमा ठूलो वर्षा भएको नगरकोटीले जानकारी दिइन्। त्यहाँ ५ दशमलव ८ मिलिमिटर वर्षा भएको छ भने सुदूरपश्चिमको डडेलधुरामा ३.२ र दिपायलमा ३ मिलिमिटर वर्षा भएको छ। 

त्यसैगरी मधेस प्रदेशका केही जिल्लामा पनि आज छिटपुट वर्षा भएको छ। बागमती प्रदेशका कतिपय ठाउँमा असिनासहित वर्षा भएको मौसमविद्ले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .