अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा एक शिक्षकविरुद्ध मुद्दा दायर गरेको छ।
श्री बालमन्दिर माध्यमिक विद्यालय, व्यास नगरपालिका, तनहुँमा कार्यरत शिक्षक सुनिता उपाध्याय पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।
पौडेलको शैक्षिक योग्यताका प्रमाणपत्रहरु छानबिन गरी पाउँ भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उनले माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, वाराणसी, भारतबाट उत्तीर्ण गरेको हाईस्कुल तहको झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्रहरु पेश गरेको अख्तियारको ठहर छ।
उनले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको हैसियतमा लाभ लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको अख्तियारले जनाएको छ।
निज सुनिता उपाध्याय पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।
Shares
प्रतिक्रिया