समाज


सुनकाण्डविरुद्ध आक्रामक गृहमन्त्री, आजै ‘ठूलो कदम’ चाल्नसक्ने दाबी

नेपाल प्रहरीमा व्यापक हेरफेरको तयारी, सीआईबी नेतृत्व फेरिने लगभग पक्का
सुनकाण्डविरुद्ध आक्रामक गृहमन्त्री, आजै ‘ठूलो कदम’ चाल्नसक्ने दाबी

नेपालखबर
चैत २, २०८० शुक्रबार ११:७, काठमाडौँ

सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्राप्त गरेपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आक्रामक कारबाहीको तयारीमा जुटेका छन्। उनले नेपाल प्रहरीको उच्च तहमा व्यापक जिम्मेवारी हेरफेर गर्ने भएका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को नेतृत्व फेरिने लगभग पक्का भएको छ। त्यस ठाउँमा कसलाई लैजाने भन्ने विषयमा लामिछानेले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसँग विभिन्न चरणमा छलफल गरेका छन्।

सीआईबी निर्देशक किरण बज्राचार्यका पालामा सुन तस्करीका केही अभियुक्तलाई अनुसन्धानको दायरामै नल्याएको, केहीलाई समातेर पनि बिना कारबाही छाडेको र निष्पक्षता पनि कायम गर्न नसकेकाले विभागीय सजायका लागि जाँचबुझ आयोगले प्रतिवेदन दिएको छ।

सो प्रतिवेदन कार्यान्वयनका लागि शुक्रबार नै लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ब्रिफिङ गरिसकेका छन्।

गृहमन्त्री लामिछानेले आजै कुनै ठूलै कदम चाल्न सक्ने गृह मन्त्रालय स्रोतको दाबी छ।

गृहका अधिकारीका अनुसार, सीआईबी, उपत्यका प्रहरी प्रमुख र अपराध अनुसन्धान गर्ने महत्त्वपूर्ण निकायको जिम्मेवारी हेरफेर गरेर आक्रामक योजनाका साथ अगाडि बढ्न मन्त्री लामिछानेले तयारी गरिसकेका छन्।

ती अधिकारीका अनुसार, नेपाल प्रहरीका पूर्वप्रमुख, गृहमातहतकै केही महत्त्वपूर्ण निकायको नेतृत्व गरिसकेका व्यक्ति र राजनीतिक नेतृत्वको समेत सुन तस्करीमा संलग्नता देखिएकाले निर्भीकताका साथ काम गर्न सक्ने अधिकारीलाई यसको जिम्मेवारी दिइनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .