राजनीति


कोसीमा केदारको दुःखान्त : जसले मुख्यमन्त्री बनाए, उनैले खोसे

कोसीमा केदारको दुःखान्त : जसले मुख्यमन्त्री बनाए, उनैले खोसे

सागर न्यौपाने
बैशाख २७, २०८१ बिहिबार १५:२६, काठमाडौँ

सात महिनाअघि नेपाली कांग्रेसका केदार कार्की कोसी प्रदेशको मुख्यमन्त्री बन्लान् भन्ने अपेक्षा कसैले गरेको थिएन। किनकि कांग्रेस–माओवादी गठबन्धनले सो प्रदेशको मुख्यमन्त्री माओवादीले पाउने सहमति गरेको थियो।

तर, असोज २६ मा गठबन्धनको साझेदार माओवादी र आफ्नै दल कांग्रेसको नेतृत्वलाई समेत छक्क पार्दै शेखर कोइराला पक्षका सांसद केदार कार्की मुख्यमन्त्री बने।

यो नाटकीय घटनाक्रमका ‘डिजाइनर’ थिए हिक्मत कार्की। एमाले प्रदेश सभा संसदीय दलका नेता।

केन्द्रमा रहेको कांग्रेस–माओवादी गठबन्धनलाई फुटाएर हिक्मतले केदारलाई कोसी सरकारको नेतृत्व सुम्पेका थिए। 

संविधानको धारा १६८ को (५) अनुसार प्रदेश सभामा बहुमत देखाएपछि जुनसुकै सांसद मुख्यमन्त्री बन्न पाउने प्रावधानलाई टेकेर एमालेका ३९ र कांग्रेसका ८ सांसद एक ठाउँमा उभिए। ९३ सदस्यीय प्रदेश सभाको बहुमत पुग्यो। प्रदेश प्रमुख परशुराम खापुङले केदारको पक्षमा बहुमत रहेको निश्चित गर्दै असोज २६ गते मुख्यमन्त्री नियुक्त गरे। 

यो घटना कांग्रेसमा शेखर कोइराला पक्षका लागि ठूलो ‘सफलता’ बन्न पुग्यो। किनकि सभापति शेरबहादुर देउवाले माओवादीलाई सुम्पेको पद कांग्रेसमै फिर्ता आएको थियो। कोइरालाले पटकपटक त्यसको जस आफैँले लिए। तर, यो घटनाले माओवादी–कांग्रेस गठबन्धनमा विश्वासको बिउ रोप्यो। र, अन्ततः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन बदले।

अनि केदार कार्की नेतृत्वको कोसी सरकार पनि लामो समय टिक्न पाएन। सात महिनामै वैशाख २६ गते उनको सरकार ढलेको छ।

र, सरकार ढाल्नमा प्रमुख भूमिका पनि उनै हिक्मत कार्कीको रह्यो। दुई सय १० दिनमा माओवादीको साथ लिएर उनले सरकारको नेतृत्व आफैले फिर्ता लिएका छन्।

बिहीबार एमालेका ३९ र माओवादीका १३ सांसदको सनाखत भएपछि प्रदेश प्रमुख खापुङले हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका छन्। उनको बिहीबार साँझ शपथ छ। 

असोज २० मा विश्वासको मत नपाएर राजीनामा दिन बाध्य भएका हिक्मतले कांग्रेस र माओवादीलाई पालैपालो उपयोग गर्दै कोसी सत्तामा कमब्याक गरेका हुन्। 

निवर्तमान मुख्यमन्त्री केदार कार्कीको बुझाइमा हिक्मतले त्यतिबेला र अहिले राजनीतिक परिस्थिति अनुसार निर्णय लिएका हुन्।

‘७ महिनाअघि पनि उहाँले माथिकै निर्देशनमा काम गर्नुभयो, अहिले पनि त्यही गर्नुभयो,’ कार्कीले नेपालखबरसँग भने।

यद्यपि, यसअघि विश्वासको मत लिन नसकेर राजीनामा दिएका कारण हिक्मत कार्कीमाथि नैतिकताको प्रश्न भने उठिरहनेछ। 

तेस्रो पटक मुख्यमन्त्रीको कुर्सीमा हिक्मत
२०७९ मंसिर ४ मा सम्पन्न प्रदेश सभा चुनावमा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) सहितको गठबन्धन थियो। यो गठबन्धन २०७९ पुस १० गते भत्कियो।

माओवादी, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जसपाबीच नयाँ गठबन्धन बन्यो। नयाँ गठबन्धन बनेपछि कोसी प्रदेश सरकार एमालेको भागमा पर्‍यो। 

संविधानको धारा १६८ को उपधारा २ अनुसार २०७९ पुस २४ गते हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भए। उनी २०८० असार २० सम्म मात्र रहे। 

त्यसपछि असार २१ गते कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धब थापा मुख्यमन्त्री नियुक्त भए।

उनी भदौ २२ सम्म मुख्यमन्त्री रहे पनि विश्वासको मत पाउन सकेनन्। त्यसपछि प्रदेश सभाको सबैभन्दा ठूलो दल भएकाले हिक्मत भदौ २२ मा मुख्यमन्त्री बने।

संविधानको धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्री बनेका उनी असोज २० सम्म रहे।

एक महिनाभित्र विश्वासको मत पाउन नसकेपछि उनले राजीनामा दिएका थिए। 

हिक्मत र उद्धब थापा धारा २ र ३ अनुसार मुख्यमन्त्री बनेका थिए। यी दुवै धारामा सरकार बन्ने सम्भावना सकिएपछि उपधारा ५ मा पुग्यो। त्यसअन्तर्गत मुख्यमन्त्री भएका केदार कार्कीले बहुमत गुमाएपछि पुनः उपधारा २ अन्तर्गत हिक्मत कार्की तेस्रो पटक मुख्यमन्त्री बनेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .