खिरले नेपालको मौलिक खानाको परिचय बनाएको छ। दूधमा पकाएर बनाइने यो परिकार ग्रामीण नेपालीमाझ लोकप्रिय छ।
नेपालका मौलिक परिकारमा कयौँ विदेशी पनि झुम्मिन्छन्। खासगरी विदेशी राजदूतहरूको नेपाली परिकार मोह चाखलाग्दो देखिन्छ।
अमेरिका, बेलायत र चीनसहितका शक्ति राष्ट्रका राजदूतहरू नेपाली खानाका परिकारका पारखी छन्।
पछिल्लो पटक नेपालस्थित अस्ट्रेलियन राजदूतले पनि नेपाली खानाको परिकारको प्रशंसा गर्न भ्याएकी छन्।
अस्ट्रेलियन राजदूत फेलिसिटी भल्क हालै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा पुगेकी थिइन्।
डडेल्धुराको रुटमा पर्ने साहुखर्कस्थित 'बाजेको खिर पसल'मा पुगेर उनले नेपालको मौलिक परिकारको स्वाद लिएको जनाएकी छन्।
'डडेलधुरा रुटमा पर्ने एक प्रसिद्ध चिया पसलमा पुगेँ। गन्यापधुरामा बाजेको खिरको आनन्द लिइरहेकी छु', उनले सामाजिक सञ्जालमा भनेकी छन्।
नेपालको ग्रामीण जनजीवनमा रमाउन मन पराउने भल्क केही दिनअघि सुदूरपश्चिमको यात्रामा पुगेकी हुन्।
राजदूत भल्कले खिर खाएको यो पसलका संस्थापकको भने ९ जेठ २०८० मा निधन भइसकेको छ।
साहुखर्कस्थित चर्चित बाजेको खिर पसलका सञ्चालक गन्यापधुरा गाउँपालिका–१ का शेरबहादुर देउवाको ७२ वर्षको उमेरमा निधन भइसकेको छ।
भीमदत्त राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रीलाई २०३२ सालदेखि स्वादिष्ट खिर खुवाउँदै आएका देउवा देशभर चर्चित थिए। तर उनको निधन भए पनि परिवारका सदस्यले विरासत धान्दै खिर पसललाई निरन्तरता दिइरहेका छन्।
Shares
प्रतिक्रिया