ad ad

समाज


रोमानियामा १५ सय नेपालीको राहदानी घुम्ती टोलीले नवीकरण गर्ने

रोमानियामा १५ सय नेपालीको राहदानी घुम्ती टोलीले नवीकरण गर्ने

फाइल तस्बिर


नेपालखबर
चैत २८, २०८० बुधबार ९:३७, बुखारेस्ट (रोमानिया)

रोमानियामा रहेका झन्डै १५ सय नेपालीको राहदानी घुम्ती टोलीमार्फत नवीकरण हुने भएको छ।

जर्मनीस्थित नेपाली राजदूत रामकाजी खड्काको पहलमा रोमानियामा राहदानी सेवा दिन घुम्ती शिविर सञ्चालन गर्न लागिएको हो।

राजदूत खड्काले नेपालखबरलाई दिएको जानकारीअनुसार दूतावास र राहदानी विभागको टोली आउँदो शुक्रबार रोमानियाको राजधानी बुखारेस्ट पुग्दै छ। 

टोलीले शुक्रबार (१२ अप्रिल) साँझ नै काम सुरु गर्नेछ। सुरुको दिन विवरण अद्यावधिक तथा रुजु गरी परीक्षणस्वरूप केही राहदानी नवीकरण गरिनेछ। मंगलबार (१६ अप्रिल) सम्म राहदानी सेवा दिने गरी तालिका बनाइएको छ। 

नेपाली युवा तथा अगुवाहरूले पनि यो सेवा प्रवाहका लागि व्यवस्थापन गरिरहेका छन्। 

‘अनलाइनबाट लिइएको आवेदन तथा शुल्कसम्बन्धी विवरण रुजु गरी सुरुको दिनमा नजिकैका केही सेवाग्राहीको परीक्षणस्वरूप नवीकरण गर्ने व्यवस्था मिलाइएको छ,’ स्थानीयस्तरमा सहजीकरण गरिरहेका नेपाली युवा नरेश गिरीले नेपालखबरसँग भने, ‘त्यसपछि मंगलबारसम्म पूरै दिन काम गरी सबै नवीकरणको काम सक्ने योजना छ।’

राजदूत खड्काका अनुसार, करिब १५ सय जनाले अनलाइनबाट नवीकरणका लागि नाम लेखाएका छन्। तीमध्ये केहीले कागजात तथा शुल्कको प्रक्रिया पूरा गरेका छैनन्। हालसम्म १४०६ जनाको मात्र प्रक्रिया पूरा भएको र करिब एक सयजनाको अधुरो रहेको उनले बताए। 

रोमानिया पनि जर्मनीस्थित दूतावासको कार्यक्षेत्रमा पर्छ। यसअघि तत्कालीन अवैतनिक वाणिज्यदूत नवराज पोखरेलले महँगो शुल्क लिएर राहदानी नवीकरणको काम संयोजन गर्थे। उनले त्यतिखेर रोमानियाको मुद्रा १५ सय ९० अर्थात् नेपाली रुपैयाँ ४६ हजारसम्म असुल्ने गरेका थिए। जबकि, सरकारी राजस्व त्यहाँको मुद्रामा ६ सय मात्र हो।

अवैतनिक वाणिज्यदूतको ओहोदाको दुरुपयोग गरी नेपाललाई सहयोग गर्ने नाममा झन् शोषण गरेको पाइएपछि राजदूत खड्काले उनीमाथि कारबाहीको प्रक्रिया अघि बढाएका थिए।

अहिले खड्काकै पहलमा घुम्ती टोली नै रोमानिया पुगेर नवीकरण सेवा दिन लागेकाले सेवाग्राहीले राहत महसुस गरेको गिरीले बताए। रोमानियामा नेपाली श्रमिकको उपस्थिति बढ्दै गएकाले राजदूतावास नै स्थापना गर्नेतर्फ सरकारले सोच्ने बेला भएको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .