ad ad

समाज


बागमतीका मेयर थापाविरुद्ध ५ करोड ३३ लाखको भ्रष्टाचार मुद्दा

बागमतीका मेयर थापाविरुद्ध ५ करोड ३३ लाखको भ्रष्टाचार मुद्दा

फाइल तस्बिर


नेपालखबर
चैत २८, २०८० बुधबार १२:५६, काठमाडौँ

सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापा भ्रष्टाचार मुद्दामा तानिएका छन्। 

मेयर थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति जम्मा गरेको आरोपमा ५ करोड ३३ लाख ५३ हजार १८९ बिगो कायम गरी बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

थापा २०७९ साल वैशाख ३१ गतेको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट दोस्रो कार्यकालका लागि बागमती नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।

२०७४ असोज ७ गते मेयरको जिम्मेवारी सम्हालेदेखि २०७९ माघ २९ सम्मको अवधिसम्म उनले स्रोत खुल्ने ७ करोड ८६ लाख ५० हजार २ सय १ रूपैयाँ जम्मा गरेको देखिएको अख्तियारले जनाएको छ। 

अख्तियारले उक्त कार्यकालका क्रममा थापाले १३ करोड २० लाख ३ हजार ३ सय ९१ रूपैयाँ खर्च देखिएको जनाएको छ। यस्तोमा उनको वैध आम्दानी र खर्च मेल नखाएको निष्कर्षसहित थापाविरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको हो। 

जम्मा आम्दानी तथा लगानी र खर्चबीच तादाम्यता नमिलेको निष्कर्ष अख्तियारको छ। थापाले ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ अवैध बाटोमा कमाएको पनि अख्तियारको अनुसन्धानबाट देखिएको छ। 

अख्तियारले थापाविरुद्ध ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ बराबरकै बिगो कायम गरी जरिवाना, सजाय तथा सम्पत्ति असुलउपर गर्न माग गरेको छ।

थापाले सार्वजनिक पदमा रहँदा अवैध रुपमा कमाएको सम्पत्ति श्रीमती रेश्मीकुमारी घिमिरे, भाइ राम थापा र बुहारी द्वारिका राउतको नाममा राखेको अख्तियारले जनाएको छ। उक्त अवैध सम्पत्ति जफतका लागि उनीहरू तीनैजनालाई पनि प्रतिवादी बनाएर मुद्दा चलाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरले बताएका छन्।

मेयर थापाले बागमती नदी किनारमा भरत ताल बनाएर चर्चा कमाएका थिए। उक्त तालको नाम पनि उनले आफ्नै नाममा राखेका थिए। अहिले उक्त कृत्रिम तालमा बिदा मनाउन र घुम्न जानेको भिड लाग्ने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .