समाज


जंगलमा डढेलो लाग्ने क्रम बढ्दै गएपछि प्राधिकरणले जारी गर्‍यो यस्तो सन्देश (भिडिओ)

जंगलमा डढेलो लाग्ने क्रम बढ्दै गएपछि प्राधिकरणले जारी गर्‍यो यस्तो सन्देश (भिडिओ)

नेपालखबर
चैत २९, २०८० बिहिबार ८:५६, काठमाडौँ

सुख्खा मौसम लम्बिँदै जाँदा नेपालमा डढेलो र आगलागीका घटना बढ्दै गएका छन्। डढेलोको कारण देशभर नै वायु प्रदूषणसमेत बढ्दै गएको छ।

वन डढेलोको कारण यस वर्ष धेरै जनधनको पनि क्षति भएको छ। डढेलोको कारण धेरै वस्तीमा आगलागी भएका छन् भने दर्जनौँ मानव वस्ती जोखिममा परेका छन्। 

तीन दिनअघि डोल्पाको ठूलीभेरी नगरपालिका वडा नं ३ र ४, तिन्नाको मस्टा भवानी सामुदायिक वनमा लागेको वन डढेलो नियन्त्रण गर्ने क्रममा  देवीदत्त गुल्ममा कार्यरत ३८ वर्षीय जमदार केशवबहादुर जागा मगर, सिपाहीहरू २२ वर्षीय हेमन्त रावत र ३८ वर्षीय आशिष बुढाको मृत्यु भएको थियो।

मुलुकको वायु प्रदूषण बढेर बुधबार यस वर्षकै उच्च विन्दुमा पुगेको थियो। देशका विभिन्न स्थानमा भइरहेको वन डढेलोकै कारण वायु प्रदूषण उच्च विन्दुमा पुगेको विज्ञहरुले बताएका छन्।

विश्वभर नै वायुको गुणस्तर मापन गर्दै आएको ‘एयर क्वालिटी इन्डेक्स’ले मंगलबार र बुधबार काठमाडौँको वायु गुणस्तर सूचकाङ्क विश्वकै सबैभन्दा खराब भएको देखाएको थियो। 

आज पनि काठमाडौँको वायु विश्वकै खराबमध्ये दोस्रो नम्बरमा छ। आज काठमाडौँको गुणस्तर सूचकाङ्क एक्यूआई १९१ छ। पानी नपर्दा र हावाहुरी नचल्दा यतिबेला काठमाडौँ उपत्यकालाई तुवाँलोले ढाकेको छ। काठमडौँको तुवाँलो अझै केही दिन नहट्ने अनुमान मौसमविदले गरेका छन्।

नेपाल वन प्राविधिक संघ (एनएफए) ले पनि यस वर्ष वन जंगलमा डढेलो लाग्ने क्रम अत्यन्तै बढेको जनाएको छ। एनएसएले वन ढडेलो संकट घोषणा गर्न पनि सरकारसमक्ष माग गरेको छ।

यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले डढेलो र आगलागीका घटनाबाट जोगिन नागरिकलाई आग्रह गरेको छ। 

प्राधिकरणले सन्देशमूलक भिडिओ जारी गर्दै वन जंगलमा डढेलो लाग्न नदिन आग्रह गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .