धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेमा आइतबार मिनिट्रक दुर्घना हुँदा घाइते भएका अर्का एक बालकको मृत्यु भएको छ।
दुर्घटनामा परी घाइते भएका १२ वर्षे प्रितम मजकोटीको काठमाडौँस्थित केएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। यससँगै आइतबार बिहान बा ३ ख ८९४७ नम्बरको मिनिट्रक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ।
नीलकण्ठ नगरपालिका–५ खाल्टेमा आइतबार मिनिट्रक दुर्घटना हुँदा पाल्पाली टोलका ११ वर्षीय बालक सन्तोष रम्तेलको घटनास्थलमै र सन्तोषका बुबा रामबहादुर रम्तेलको धादिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।
धादिङ अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लगिएका छ जना घाइतेको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार जारी छ।
दुर्घटनाकै कारण मृत्यु भएका बालक सन्तोष र प्रितम दुवैजना स्थानीय पतेनी आधारभूत विद्यालयका विद्यार्थी थिए। विद्यालय बिदा भएको बेला बारीमा काम गर्न हिँडेका अभिभावकसँग खेल्न गएका बालकद्वयको मृत्युले गाउँ नै शोकमा डुबेकाे छ।
साँघुरो ओरालो घुम्ती कच्ची सडकमा ब्रेक फेल भएर दुर्घटनामा परेको मिनिट्रकमा एकै परिवारका पाँचसहित नौ जना सवार थिए।
घाइतेमध्ये अहिले ३५ वर्षीय हिरा रम्तेल, ४० वर्षीय बिष्णु रम्तेल, ११ वर्षीय सुजन रम्तेल, १४ वर्षीय सुजित मजकोटी, ११ वर्षीय बिमल मजकोटी र १३ वर्षीय कृष्ण रम्तेलको ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको प्रहरीको भनाइ छ। रासस
Shares
प्रतिक्रिया