समाज


यस वर्ष औसतभन्दा बढी गर्मी र वर्षा हुन्छ : जलवायु विज्ञ उप्रेती

यस वर्ष औसतभन्दा बढी गर्मी र वर्षा हुन्छ : जलवायु विज्ञ उप्रेती

नेपालखबर
बैशाख ११, २०८१ मंगलबार १२:३६, काठमाडौँ

यो वर्ष नेपालमा अधिक गर्मी र धेरै वर्षा हुने पूर्वानुमान रहेकाले पूर्वसूचना र पूर्वतयारीको काम अहिलेबाट नै सुरु गर्न विज्ञहरूले सरकारसँग आग्रह गरेका छन्।

अहिल चलिरहेको लूको अवस्था अझै केही दिन रहने भएकाले सरकारले तत्काल सक्रियतापूर्वक काम गर्न सुझाव समेत दिएका छन्।

जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले सरकारले लूबाट बच्नका लागि गर्मीसँग लड्ने राष्ट्रिय स्वास्थ्य रणनीति बनाउन जरुरी रहेको बताए। राष्ट्रिय रूपमा लू आई अत्यधिक गर्मी भएको अवस्थामा के गर्ने? कसरी समस्या समाधान गर्ने? सहर/गाउँ कुन ठाउँलाई बढी प्राथमिकता दिएर योजना बनाउने भन्नेबारेमा चासो दिनुपर्नेमा उनले जोड दिए।

आम नागरिकलाई लूबाट जोगाउन अहिले नै प्रतिकार्यका कार्यक्रम लागू गर्न उनले आग्रह गरे। रोजगारीको क्षेत्रदेखि किसानलाई समेत गर्मीले बढी असर गर्ने भएकाले कस्तो सावधानी अपनाउने र कस्तो योजना बनाएर अघि बढ्ने भन्नेबारेमा सरकार चनाखो हुन जरुरी रहेको उप्रेती बताउँछन्।

धेरै देशले गर्मीबाट बच्ने रणनीति बनाइसकेको उल्लेख गर्दै डा.उप्रेतीले नेपालले पनि मानव स्वास्थ्यसहित पशुस्वास्थ्य र वनस्पतिहरूमा पर्ने असरलाई मध्यनजर गरी हिट एक्सन प्लान बनाउन जरुरी रहेको बताए।

स्वास्थ्य क्षेत्रमा गर्मीको प्रभाव न्यूनीकरणका लागि नेपालले दिशानिर्देश नबनाउनु गलत भएको डा. उप्रेती बताउँछन्।

तापक्रम वृद्धि भएको आधारमा लू भयो भन्ने मात्रै नभई प्रभावमा आधारित पूर्वसूचनाको रूपमा रणनीति बनाएर अघि बढ्न उनले सुझाव दिए।

पूर्वचेतावनीलाई बेवास्ता गर्न नहुने भन्दै विज्ञ उप्रेतीले संवेदनशील भएर सरकारले काम थालिहाल्न आवश्यक रहेको बताए। तातो हावा लूले निम्त्याउने समस्यालाई समयमै नबुझे जटिल बन्दै जाने उप्रेती बताउँछन्। यसका लागि स्वास्थ्य आपत्कालीन केन्द्रलाई सक्रिय बनाउनुपर्ने आवश्यकता रहेको उनले बताए।

यो वर्ष औसतभन्दा बढी गर्मी र वर्षा
यस वर्ष नेपालमा औसतभन्दा बढी गर्मी हुनुका साथै बढी वर्षा हुने पूर्वानुमान रहेको विज्ञ उप्रेतीले बताए। वैशाख, जेठ तथा असारसम्म बढी गर्मी हुने र असारदेखि असोजसम्म औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान रहेको उप्रेती बताउँछन्।

यो अवस्थालाई सामान्य मौसममा परिवर्तन भएको अवस्थाका रूपमा बुझ्न नहुने उनको धारणा छ।

‘लामो समयदेखि समुन्द्रमा एलनिनो जलवायु चक्रको असर थियो, जसले हिउँदमा वर्षा हुन दिएन। यस्तै लानिना नामको जलवायु चक्रको प्रभाव बढिरहेकाले हिट वेभको अवस्था छ। यी दुवै अवस्था जलवायु परिवर्तनसँग जोडिन्छन्,’ डा. उप्रेतीको कथन छ।

यही समयमा गत वर्ष विश्व तापमान वृद्धि १.१ डिग्री रहेकोमा अहिले विश्व तापमान वृद्धि १.२ डिग्री पुगेको उप्रेतीले बताए।

विश्व तापमानमा वृद्धि हुनु, समुद्रको तापक्रममा आएको परिवर्तन र हिन्द महासागरको आइवोडी सकारात्मक भएको अवस्थालाई हेर्दा क्लाइमेटिक प्यारामिटरहरू आकर्षित भएको बुझ्नुपर्ने उनको धारणा छ।

‘लामो समयको क्लाइमेटिक प्यारामिटर आकर्षित हुनुको अर्थ वा त्यसमा आएको परिवर्तनको अर्थ भनेको जलवायु परिवर्तनको असर हो,’ उप्रेती भन्छन्।

जलवायु परिवर्तनसँग विश्लेषण गर्ने दक्षिण कोरियामा अवस्थित एपेक सेन्टरले निकालेको विश्लेषणको आधारमा नेपालमा औसतभन्दा बढी गर्मी हुने अवस्था ९१ प्रतिशत रहेको छ।

नेपालमा तातो हावा अझै ५ दिनसम्म रहने
विज्ञ उप्रेतीका अनुसार अबको ४ देखि ५ दिनसम्म नेपालमा लू रहनेछ। पश्चिमी वायु सक्रिय भई पानी परेको अवस्थामा भने लू बाहिरिने उनले बताए।

आगामी शुक्रबारदेखि हल्का वर्षा हुने सम्भवना भएकाले तातो हावालाई विस्थापित गर्नेछ। अहिले वायुमण्डलीय चाप उच्च रहेकोले यसले माथिबाट हावालाई धर्तीमा थिच्ने काम गरिरहेकोले बलियो पश्चिमी वायु र समुद्री आँधीले ल्याउने वाष्पीकरणले मात्रै लूको अवस्था घटेर जाने उप्रेती बताउँछन्। तीन महिनासम्म तातो हावा आउने/जाने क्रम जारी रहने पनि डा. उप्रेतीले बताए।

के हुन् लूका लक्षण?
गर्मी मौसममा तातो हावा र बढ्दो तापक्रमका कारण लू लाग्ने खतरा बढी हुन्छ। यदि अचानक शरीरको तापक्रम बढ्यो वा धेरै टाउको दुख्यो भने सावधान हुन जरुरी हुन्छ। यी दुवै लू लागेको लक्षण हुन्। लूले मिर्गौला, दिमाग र मुटुमा धेरै प्रभाव पार्दछ। जसबाट यी अंगको कार्य क्षमता प्रभावित हुन्छ। लू लागेपछि नाडी र श्वासप्रश्वासको गति तीव्र हुन्छ। छाला रातो हुनुलाई पनि लूको लक्षणका रूपमा लिन सकिन्छ। केही मानिसमा लूका कारण छिटो छिटो पिसाब आउने, शरीर चिलाउने आदि लक्षण देखा पर्दछन्।

गर्मीबाट बच्न विज्ञ उप्रेती यस्तो सुझाव दिन्छन्

  • घरमै बस्ने।
  • बसेको स्थानमा चिसो अवस्था कायम गर्ने।
  • मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म घर, कार्यालय बाहिर हिँडडुल कम गर्ने। गर्नैपरे छाता लगायतको प्रयोग गरेर मात्रै हिँडडुल गर्ने।
  • गर्मीको बढी असर मुटुका बिरामी, बालबालिका, गर्भवती महिलालाई हुने भएकाले सम्बन्धित व्यक्तिले स्वास्थ्यमा ध्यान दिने, सावधानी अपनाउने।
  • गर्मीको प्रभाव न्यूनीकरण गर्न स्वास्थ्यचौकीदेखि अस्पतालसम्मको अवस्था नियाल्ने र तयारी अवस्थामा रहने।
  • स्वास्थ्यकर्मी/स्वास्थ्य स्वयंसेविकाहरूलाई गर्मीबाट बच्ने अवस्थाको बारेमा तालिम दिने।
  • खानेकुरामा सावधानी अपनाउने। जस्तै, चिया, कफीको ठाउँमा लस्सी, मोही, दही, पुँदिनाको रस, चामल पखालेको पानी (चौलानी) खाने।
  • प्रोटिनयुक्त खानेकुरा कम गर्ने वा नखाने। जस्तैः दुध, माछा मासु आदि।

सरकारले गर्नुपर्ने काम

  • सरकारले भएका अस्पतालको अवस्था नियालेर गर्मीबाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गरी सतर्क रहन आग्रह गर्ने।
  • स्थानीय सरकारले पालिकामा रहेका स्वास्थ्य केन्द्रहरूलाई सतर्क रहन आग्रह गर्ने।
  • क्षेत्रीय अस्पतालहरू सक्रिय बनाउने।
  • तीन तहका स्वास्थ्य केन्द्रले गर्ने कामको सन्दर्भमा स्पष्ट नीतिका साथ अघि बढ्ने।
  • पूर्वचेतावनीलाई ख्यालख्यालमा लिनु हुँदैन र संवेदनशील हुन जरुरी छ।
  • स्वास्थ्य आपत्कालीन केन्द्रलाई सक्रिय बनाउने।

लूबाट बच्ने घरेलु उपाय

  • घरबाहिर निस्किँदा छाताको प्रयोग गरौँ।
  • घाममा निस्किँदा टाउको छोप्ने कपडाको प्रयोग गर्दा पनि लूबाट बच्न सकिन्छ।
  • घरबाट बाहिर निस्कनुपर्‍यो भने चिसो पानी र चिसो सर्वत पिएर मात्रै निस्किने बानी बसालौँ।
  • गर्मीबाट हिँडेर आउने बित्तिकै तत्काल चिसो पानी नपिऔं।
  • गर्मी समयमा बारम्बार पानी पिइराख्नुस्। किनभने यसले शरीरमा पानीको मात्रालाई कम हुन दिँदैन।
  • पानीमा कागती हालेर र नुन मिसाएर दिनमा तीन पटक जति पानी पिउनुभयो भने पनि लू लाग्नबाट बच्न सकिन्छ।
  • गर्मीमा बाहिर जाँदा खाली पेट नहिँड्नुस्, तरकारीको झोल पिउँदा पनि लूबाट बच्न सकिन्छ।
  • गर्मीमा कम खाना खाने बानी बसालौँ। खानामा दही अनिवार्य गरौँ। (न्युज एजेन्सी नेपाल)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .