समाज


काठमाडौँ उपत्यकाका ३ जिल्लामा सोमबार बिदा छैन

गृह प्रवक्ता भट्टराईले उपत्यकाका संघीय सरकार मातहतका कार्यालयमा बिदा नरहेको जानकारी दिए
काठमाडौँ उपत्यकाका ३ जिल्लामा सोमबार बिदा छैन

नेपालखबर
बैशाख २३, २०८१ आइतबार २०:५३, काठमाडौँ

बागमती प्रदेश सरकारले सोमबार दिने भनेको बिदा काठमाडौँ उपत्यकाका संघीय सरकारमातहतका कार्यालयमा बिदा नहुने भएको छ।

बागमती प्रदेश सरकारले बिदा घोषणा गर्दा अन्योल सिर्जना भएपछि कतिपय कार्यालयले सूचना नै निकालेर कार्यालय खुल्ने जानकारी गराएका छन्। 

काठमाडौँ जिल्ला अदालतले सूचना नै जारी गरी सोमबार बिदा नरहेको स्पष्ट पारेको छ।

उसले यो सूचना जारी गर्दा नेपाल सरकार गृह मन्त्रालयबाट ०८० माघ २९ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाको दफा १२ (क) लाई उद्धृत गर्दै बागमती प्रदेश सरकारले घोषणा गरेको बिदा यस अदालतको हकमा आकर्षित नहुने उल्लेख गरेको छ।

काठमाडौँ जिल्ला अदालतले जारी गरेको सूचना

काठमाडौँ जिल्ला अदालतले उल्लेख गरेको राजपत्रको उक्त दफामा ‘नेपाल सरकारले निर्णय गरी तोकेका सार्वजनिक बिदाका अतिरिक्त प्रदेश सरकारले आ-आफ्नो प्रदेशको धर्म, संस्कृति र रीतिस्थितिसमेतलाई दृष्टिगत गरी घोषणा गरेका बढीमा वर्षको ६ दिनसम्मको सार्वजनिक बिदामा सम्बन्धित प्रदेशमा रहेका संघीय सरकारका कार्यालयमा समेत सार्वजनिक बिदा हुने’ लेखिएको छ।

तर, काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरको हकमा गृह मन्त्रालयले निर्णय गरेबमोजिम हुने उल्लेख छ।

उपत्यकाबाहिरका हकमा प्रदेश सरकारले आफ्नो प्रदेशभरि लागू हुने गरी ६ दिनभन्दा बढी सार्वजनिक बिदा घोषणा गरेमा पनि गृह मन्त्रालयकै निर्णय लागू हुनेछ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार काठमाडौँ उपत्यकाका संघीय सरकार मातहतका कार्यालयमा बिदा नरहेको नेपालखबरलाई जानकारी दिए।

नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमतीको प्रदेश सरकारी कामकाजको भाषाको रूपमा लागू हुने दिनको अवसरमा प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा घोषणा गरेको छ।

गृह मन्त्रालयले २०८० माघ २९ मा प्रकाशित गरेको राजपत्रको दफा १२ (क) मा उल्लिखित व्यवस्था-

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .