कीर्तिमानी हिमाली आरोही निर्मल पुर्जा (निम्स) ले आफूलाई यौन दुर्व्यवहारको आरोप लगाउने महिलाहरूविरुद्ध कानुनी उपचार खोज्ने चेतावनी दिएका छन्।
अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’मा शुक्रबार प्रकाशित रिपोर्टमा पूर्वमिस फिनल्यान्ड लोता हिन्स्टालगायतले यौन दुर्व्यवहारको आरोप लगाएपछि पुर्जाले सो आरोप झुटो भएको दाबी गर्दै यसविरुद्ध कानुनी विकल्प खोज्ने बताएका हुन्।
पुर्जाले आफ्नो इस्टाग्राम ‘निम्सदाइ’को स्टोरीमा पोस्ट गर्दै उनले उक्त पत्रिकालाई यसअघि नै उक्त आरोप साँचो नभएको प्रमाण दिएको जिकिर पनि गरेका छन् ।
उनले समाचारमा धेरै तथ्य गल्ती रहेको दाबी गरेका छन्।
मार्च ३० मा भएको भनिएको घटनामा पुर्जाले आफूले सो दिन गरेको काम र रहेको स्थानको टाइमलाइन पत्रिकालाई उपलब्ध गराएको पनि बताएका छन्। तर पत्रिकाले एकतर्फी भनाइका आधारमा समाचार तयार पारेको आरोप पनि उनले लगाएका छन्।
यस विषयमा एकदिन सत्यतथ्य बाहिर आउने आशा व्यक्त गर्दै कानुनी उपचारको तयारी गरिरहेको उनले बताएका छन्।
हेर्नुहोस् निर्मल पुर्जा (निम्स दाइ) को पोस्ट-
Shares
प्रतिक्रिया