जेठ अन्तिमको उखरमाउलो गर्मी। घरभित्रै शीतल तापेर बसेको सहर। तातो ढलान बाटो छिचोलेर पिङ्गलास्थानस्थित घरमा पुग्दा उनी भेटिएनन्। घरमा बसेर उनकै पीरमा एकोहोरो बोलिरहेकी थिइन् तारादेवी राजभण्डारी। उनी भनिरहकी थिइन्, ‘यो दुनियाँ गर्मी भयो भनेर शीतलमा सुस्ताएको छ। उनलाई एकछिन घर बस्ने फुर्सद छैन। कहाँ कसले बोलाउँछ, उतै दौडन्छन्।’
उनी अर्थात् बागमती प्रदेशका पूर्वसांसद नरोत्तम वैद्य। तारादेवीका श्रीमान्।
समयभन्दा भण्डै आधा घण्टा ढिलो वैद्य असिनपसिन हुँदै आइपुग्छन्। भित्र पस्नुअघि च्यानल गेटबाटै प्रस्टीकरण दिन्छन्, ‘त्यहाँ एउटा मानिसको घर बैंकले लिलाम गर्न आँटेछ, केही सहयोग गर्न सकिन्छ कि भनेर गएको ढिला भयो।’
उनलाई जाडो, गर्मी, घाम, पानी केहीले घरमा रोकेर राख्न सक्दैन। कोही अप्ठ्यारोमा परेको खबर आउनुपर्छ, दौडेर पुगिहाल्छन्। सबैभन्दा धेरै वैद्य पुग्ने ठाउँ हो- पशुपति आर्यघाट। उनले थाहा पाए भने घाट पुगेका कुनै पनि असहायको शव बेवारिसे भएर बस्नु पर्दैन। तर, उनी आफूले गरेको कामको प्रचार गर्दैनन्।
गत फागुनको अन्त्यतिर घाम अस्ताउने तरखरमा थियो। वैद्य दिनभरिको काम सकेर भित्र पस्दै थिए। उनको मोबाइलमा फोन आयो। कसैले भन्यो, ‘वैद्यज्यू, दाहसंस्कार गर्न ल्याइको एक शव आर्थिक अभावमा अलपत्र छ।’
वैद्य दैलोबाटै फर्किए। पशुपति आर्यघाट पुगे। नुवाकोटकी माइली राई रिक्सामा श्रीमानको शव राखेर घाट कुरिरहेकी थिइन्। उनले सोधखोज गरे। उनले खुसीबुबाट श्रीमानको शव आर्थिक अभावकै कारण रिक्सामा हालेर यहाँसम्म ल्याएको बताइन्। वैद्य झण्डै कहालिए।
‘जीवनमा थुप्रै अलपत्र परेका शवका आफन्तको अवस्था हेरियो। यस्तो हृदयविदारक दृश्यचाहिँ कहिल्यै देखेको थिइनँ,’ बिहीबार साँझ आर्यघाटको आडैमा बसेर वैद्य सुनाउँदै थिए।
वैद्यले दाहसंस्कारको बन्दोबस्त मिलाइदिए र घर फर्किए। निकै बेरपछि फेरि फोन आयो। माइलीले भनिन्, ‘मलाई घरबेटीले घरमा किरिया बस्न दिएन। किरिया बस्ने ठाउँ मिलाइदिनुपर्यो।’
वैद्य दौडिँदै घाट आए र किरियापुत्री भवनको एउटा कोठा मिलाइदिए। माइलीको अवस्था जटिल थियो। त्यो बुझेर वैद्यले खाद्यान्नको जोहो गरिदिए। यसपटक उनलाई लाग्यो, ‘माइली राईको यो अवस्थाको बारेमा आम मान्छेलाई जानकारी दिनु पर्छ।’
त्यसपछि माइली राईको अवस्था सार्वजनिक भयो। देश तथा विदेशमा हुने थुप्रै उपकारी मान्छेले सहयोग गरे।
धेरथोर वैद्यले गर्दै आएको सेवाको पनि प्रचार भयो। यो प्रचारले माइली राईको जीवन नै परिवर्तन गरिदियो। श्रीमानको काम सकेर कोराबाट बाहिर निस्कँदा राम्रै सहयोग रकम जम्मा भएको थियो। उनले आफ्नै गाउँमा थोरै जमिन जोडिन्। उनका छोराले रिक्सा छोडेर पठाओ चलाउन थालेका छन्। वैद्य उनीहरूको जीवन परिवर्तन भएको देखेर खुसी छन्।
राजनीतिको नसा
२०१५ साल साउनमा पाशुपत क्षेत्रको दःथु टोलमा जन्मिएका वैद्य सानैबाट सेवाका काम हेर्दै हुर्किए। सामान्य आर्थिक अवस्था भएका उनका बुवा चन्दलानन्दले घाटे वैद्यको काम गरेर सन्तान हुर्काएका हुन्।
त्यो समय अहिले जस्तो अस्पताल थिएनन्। अन्तिम अवस्थाका बिरामी पशुपति आउँथे। घाट घरमा बस्थे। वैद्यहरू बिरामीको नाडी छामेर बस्ने स्थान तोकिदिन्थे।
घाटघरमा चार अवस्थाका बिरामी राख्ने छुट्टाछुट्टै व्यवस्था गरिएको थियो। अन्तिममा पशुपति आर्यघाटमा प्राण त्याग गर्न आएका कति मानिस घाटे वैद्यको उपचारपछि निको भएर अबिर जात्रा गर्दै घर फर्किन्थे। धेरैले अन्तिम स्वास फेर्थे।
नरोत्तमका बुवाले नाम चलेका दशेका थुप्रै मानिसको घाट घरमा उपचार गरे। त्यही मध्येका एक हुन् महाकवि लक्ष्मीप्रसाद देवकोटा। घाट आएको १९ औँ दिनमा देवकोटा परलोक भए। बालकृष्ण समले आम नेपालीको यही मनोभावनालाई मध्येनजर गरी आफ्नो अन्तिम इच्छा कविता नै लेखे।
चन्दलानन्दले आफ्नो जीवन दुःख र अभावमा बिताए। घाटे वैद्यका रुपमा आफ्नो सम्पूर्ण जीवन गुजारेका उनले कहिल्यै पनि आफ्नो पारिश्रमिक माग्ने हिम्मत गरेनन्। दुःखको घडीमा रहेका कतिले उनको पारिश्रमिक दिन बिर्सिए। कतिले उनले आफ्ना बिरामीलाई गरेको उपचारबाट खुसी भएर लाग्ने पारिश्रमिक भन्दा धेरै पनि दिए। त्यसैबाट चन्दलानन्दले आफ्ना दुई छोरा हुर्काए।
चन्दलानन्दका जेठा छोराको सानैमा मृत्यु भयो। त्यसपछिका नरोत्तमले आफ्नो बिँडो थामिदिऊन् अथवा राम्रो आयस्ता हुने पेसा अँगालून् भन्ने उनी चाहन्थे। तर नरोत्तम भने सानैबाट राजनीतिमा होमिए। उनी बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहबाट प्रभावित थिए। २०३३ अघि नै नेपाली कांग्रेस क्रियाशील सदस्य भएर थुप्रै राजनीतिक आन्दोलनमा सरिक भए।
चन्दलानन्दलाई छोराले राजनीति गरेको पटक्कै मन परेको थिएन। २०४५ सालमा नेपाली कांग्रेसले उनलाई वडा अध्यक्षको टिकट दिएको थियो। तर, बुवाले राजनीति गरेर छोराले घर बिगार्ने भयो भन्दै साझा स्वास्थ्य सेवामा जागिर लगाइदिए। त्यसपछि वीरगन्ज पठाइदिए। त्यसपछि त्यो वर्ष नरोत्तम चुनावमा उठ्न पाएनन्।
उनी ३ वर्ष वीरगन्जमा बसे। त्यहीँको संगठनमा बसेर राजनीति गरे। २०४८ सालमा अस्थायी सेवामा रहेका सबै कर्मचारीको जागिर खोसियो। नरोत्तम काठमाडौँ फर्किए।
‘धेरै कामदार काम खोसिदा दुःखी थिए। म भने बल्ल भनेजस्तो भयो भन्दै काठमाडौँ फर्किएको थिएँ,’ वैद्यले सुनाए।
काठमाडौँ फर्किएसँगै नरोत्तमको राजनीतिक जीवनले झन् उचाइ लियो।
२०३३ अघि नै नेपाली कांग्रेस क्रियाशील सदस्य भई राजनीति गरेका वैद्यले त्यसपछि इकाई अध्यक्ष, क्षेत्रीय उपसभापति काठमाडौँ–२, काठमाडौँ महानगरसमिति सभापति, का.म.न.पा. वडा सदस्य, २०५४, का.म.न.पा. ८, वडाध्यक्ष, काठमाडौँ महानगरपालिका बोर्ड सदस्य, १२ औँ महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, नेपाली कांग्रेस जिल्ला कार्यकारिणी सदस्य, काठमाडौँ जिल्ला समिति, वन पर्यटन तथा वातावरण समिति बागमती प्रदेश भई राजनीतिक रुपमा सक्रिय जीवन बाँचे।
रानी ऐश्वर्याले सोधिन् : वैद्य ज्ञानको अभ्यास किन छाडेको?
नरोत्तम वैद्य ३ महिनाका थिए। उनकी आमा केसरी सिकिस्त बिरामी भइन्। घाटे वैद्यकहाँ लैजाने तरखर हुँदै थियो। अस्पताल लैजान सुझाव आयो। उनकी आमालाई मेनिन्जाइटिस भएको थियो। ३ वर्षसम्म शान्त भवन अस्पताल (पाटन अस्पताल)मा उनको उपचार भयो। त्यसपछि नरोत्तमलाई उनका ठूलाबुवा भानुभक्तानन्द वैद्यले हुर्काए। भानुभक्तानन्दलाई खुब समाज सेवा गर्नु पर्थ्यो। कसको घरमा के परेको छ, को अप्ठ्यारोमा छ सबै उनलाई थाहा हुन्थ्यो। नरोत्तम पनि ठूलोबुवाको साथ लागेर सानैबाट सामाजिक कार्यमा सरिक भए। सामाजिक सेवाबाट पाइने सन्तुष्टिको स्वाद बालखैमा पाएका नरोत्तमले नाडी शिक्षा पनि लिए।
उनले आफ्ना बुवाले नभ्याएको बेला कयौँ बिरामीका नाडी पनि छामेका छन्। नरोत्तमले कविराज दीक्षा पनि लिएका हुन्। तर, उनले यो पेसालाई निरन्तरता दिन सकेनन्।
राजनीतिमा भिज्दै जाँदा उनमा रहेको सेवाको भाव झन् जागृत हुँदै गयो। वृक्षारोपण, रक्तदानका थुप्रै शिविर सञ्चालन गरे। आँखा दान गरे। शरीरका अन्य अंग दानको तयारीमा छन्। उनी आफू मात्रै अंग दान गर्दैनन्, आफ्नो वरपर रहेका अरुलाई पनि अंगदानका लागि अभिप्रेरित गर्छन्।
नरोत्तम वैद्यले आफ्नो सक्रियतामा ‘दाहसंस्कार कोष’ स्थापना गरेका छन्। यो कोषमा २ सयभन्दा धेरै मानिस छन्। उनीहरू हरेक दिन १ रुपैयाँ दान गर्छन्। आर्थिक अभावमा भौँतारिएकाहरूलाई जनही ५ हजारका दरले सहयोग गर्छन्। त्यो बाहेक बाँकी खर्च वैद्य आफ्नो गोजीबाट निकालेर दिन्छन्।
२०५४ सालमा उनी पहिलोपटक पशुपति क्षेत्र विकास कोष सदस्यको सदस्य भए। त्यतिबेला रानी ऐश्वर्याले उनलाई भनेकी थिइन्, ‘वैद्य ज्ञानको अभ्यास किन नगरेको?’
उनले भने, ‘सरकार मान्छे परलोक भैसकेपछि वैद्यराजको फी भन्ने आँट मसँग छैन। त्यसैले मैले वैद्यराजको कामलाई निरन्तरता दिन सकिनँ।’
त्यतिबेला ऐश्वर्याले उनलाई वैद्यराजको कामलाई निरन्तरता दिन सुझाव दिएकी थिइन्। वैद्य सम्झना गर्छन्, ‘अहिले पिस हाउस भनेर विश्वका विभिन्न मुलुकमा भएको प्राक्टिस खास हाम्रोमा थियो।’ हिजोआज त घाटघरहरू खाली छन्। घाटे वैद्यहरूले आफ्नो उपचार पद्धति छोडिसके। नरोत्तम वैद्यसँग पनि सेवाकै लागि भनेर नाडी छामेका बिरामीका सम्झना मात्रै बाँकी छन्।
नरोत्तम वैद्यको सेवा गर्ने तरिका फेरिएको छ। उनको अधिकांश समय पाशुपत क्षेत्रमा बित्छ। उनी गरिब दुःखीका वरिपरि हुन्छन्। कोही दुःखमा पर्यो भने उनलाई सम्झिन्छन्। उनी चुपचाप सहयोग गर्छन्। उनको दौडधुप देखेर श्रीमती र छोराछोरी पीर गरिरहन्छन्। ६६ वसन्त पार गरेका वैद्यलाई भने सेवाबाट पाइने सन्तुष्टिभन्दा ठूलो केही लाग्दैन।
भन्छन्, ‘यसबाट अलग्गिन सक्दिनँ। कोही मान्छे म कहाँ आउँछ भने म उनीहरूलाई निराश बनाएर पठाउन सक्दिनँ।’
घाटमा उनलाई सम्झिने गरिब मात्रै छैनन्। धनी मानिस पनि उनलाई सम्झिन्छन्। ठूला मान्छे मर्दा २ नम्बर चिताका लागि पनि वैद्यलाई सम्झना गर्ने धेरै छन्।
‘समाजका लागि मैले आफूलाई सर्मपण गरिसकेँ,’ नरोत्तम भन्छन्, ‘यसबाट म दायाँबायाँ हुन सक्दिनँ।’
Shares
प्रतिक्रिया