ad ad

समाज


यस वर्ष पहिलोपटक नयाँ लेटर ग्रेडिङ प्रणालीबाट एसईईको नतिजा आउँदै

अध्यक्ष शर्मा भन्छन्- एसईईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा छौँ
यस वर्ष पहिलोपटक नयाँ  लेटर ग्रेडिङ प्रणालीबाट एसईईको नतिजा आउँदै

महाश्रम शर्मा


नेपालखबर
असार १२, २०८१ बुधबार १०:१७, काठमाडौँ

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेको बताएका छन्।

‘हामी एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा छौँ,’ अध्यक्ष शर्माले केही बेरअघि नेपालखबरसँग भने, ‘सम्भवतः आजै दिउँसोसम्म रिजल्ट आइसक्छ। केही गरी आज नभए भोलि बिहानै नजिजा आउनेछ।’

उनले एसईई नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक बस्ने जानकारी दिए। 

गएको चैतको अन्तिम सातासम्म सञ्चालन भएको एसईई परीक्षामा ५ लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी भएका छन्। 

यस वर्ष पहिलोपटक बोर्डले नयाँ लेटर ग्रेडिङ प्रणालीबाट एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। 

यस वर्षदेखि एसईई उत्तीर्ण हुन सैद्धान्तिक (थ्योरी) तर्फ न्यूनतम ३५ प्रतिशत (डी ग्रेड) र आन्तरिक (प्रयोगात्मक) तर्फ न्यूनतम ४० प्रतिशत अंक ल्याउनैपर्ने प्रावधान राख्न लागिएको हो।

‘यसपटक एसईईको नतिजा सार्वजनिक गर्दा नयाँ लेटर ग्रेडिङ लागू गर्दैछौँ,’ शर्माले भने, ‘अब ‘डी’ ग्रेडभन्दा कम अंक ल्याउने उत्तीर्ण भएको मानिँदैन। उनीहरुको मार्कसिटमा ननग्रेड हुन्छ। उनीहरु कक्षा ११ मा भर्ना हुन पाउँदैनन्।’

३५ प्रतिशत अंक ल्याउलाई ननग्रेड मानिने उनले बताए। ‘त्यस्ता विद्यार्थी फेरि परीक्षामा सहभागी हुनुपर्छ,’ शर्माले भने, ‘दुई विषयसम्म ‘डी’ ग्रेड नल्याउनेले मात्रै मौका परीक्षा दिन पाउँछन्। त्यो भन्दा बढी ‘डी’ ग्रेड आएको छ भने अर्को वर्षको परीक्षामा सहभागी हुनुपर्छ।’

गत वर्षसम्म शून्यदेखि २० प्रतिशतसम्म अंक ल्याउनेलाई ‘ई’ ग्रेडमा उत्तीर्ण भएको मानिन्थ्यो। तर, यस वर्ष ‘डी’ भन्दा तल ग्रेड नै नहुने शर्माले बताए।  

बढीमा दुई विषयसम्म ‘डी’ ग्रेड ल्याउने विद्यार्थी एक महिनापछि हुने पूरक परीक्षा अर्थात् ग्रेड वृद्धिको परीक्षामा सम्मिलित हुन पाउनेछन्। यस्ता विद्यार्थीले तीन पटकसम्म बढीमा दुई विषयमा ग्रेडवृद्धिको परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था गर्न लागिएको छ। 

दुई विषयभन्दा बढी विषयमा तोकिएको अंक प्राप्त गर्न नसक्ने विद्यार्थीले अर्को वर्ष सम्पूर्ण विषयको परीक्षामा सम्मिलित हुनुपर्नेछ। त्यस्ता विद्यार्थीले चाहेमा सोही कक्षामा पुनः अध्ययन गर्न पनि पाउने व्यवस्था गर्न लागिएको छ। 

तीन पटकसम्म परीक्षा दिँदा पनि दुई विषय उत्तीर्ण नहुने विद्यार्थीले भने चौथो पटक पुनः सबै विषयको परीक्षा दिनुपर्ने नियम कार्यान्वयन गर्न लागिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .