भक्तपुरका माधव क्षेत्री (परिवर्तित नाम) स्कुलमा अब्बल विद्यार्थी थिए। उनलाई मुख्यगरी तीन विषयमा रुचि थियो– संगीत, होटल म्यानेजमेन्ट र विज्ञान। एसईईमा गत वर्ष ए प्लस ग्रेड आएपछि उनले संगीत र होटल म्यानेजमेन्ट छोडेर विज्ञान विषय रोज्नुपर्यो। यो उनको परिवारको पनि रोजाइ थियो।
तर, विज्ञान पढ्न थालेको ६ महिनापछि उनलाई स्पष्ट भयो– यो मेरो रुचिको क्षेत्र होइन।
त्यसपछि उनले परिवारलाई विज्ञान पढ्न नसक्ने बताए। समय र पैसा खर्च भइसकेकाले विज्ञान अध्ययनलाई नै निरन्तरता दिनुपर्ने परिवारको जोड थियो। करबलको पढाइले माधव एकाएक परिवर्तन भए। थप एक महिना बाटो हेरेपछि उनका बुवा मनोविद् तथा करिअर परामर्शदाता डा. नरेन्द्र सिंह ठगुन्नाकहाँ पुगे।
ठगुन्नाले माधवलाई केही दिन काउन्सिलिङ गरेपछि थाहा पाए, उनी विज्ञान होइन, होटल म्यानेजमेन्ट पढ्न पोख्त रहेछन्। त्यसपछि ठगुन्नाले माधवका बुवालाई नै काउन्सिलिङ गर्नु पर्यो। केही खर्च र एक वर्ष ग्याप भए पनि उनी आफ्ना छोरालाई होटल म्यानेजमेन्ट पढाउन राजी भए।
यस वर्षको एसईई नतिजा भर्खरै सार्वजनिक भएको छ। कतिपय विद्यार्थी आफूले पाएको प्राप्ताङ्कका आधारमा विषय छानिरहेका छन्। कतिपय आफ्ना दाजुदिदीले पढेको विषयलाई नै आफ्नो सपना बनाएर भर्ना हुने तयारीमा छन्। कोही आफ्ना अभिभावकले भनेका विषय पढ्न राजी भएका छन् भने कतिपय अझै के पढ्ने भन्ने अन्यौलमा छन्। विद्यार्थी मात्रै होइन, तिनका अभिभावकको दोधार पनि कम छैन। उनीहरूका लागि करिअर काउन्सिलिङको आवश्यकता रहेको ठगुन्ना बताउँछन्।
उनका अनुसार नेपालमा करिअर काउन्सिलिङ उति साह्रो प्रचलनमा छैन। गत ८ वर्षमा आफ्नो बच्चामा ३–४ वटा इच्छा रहेकाले कुन क्षेत्रमा जाँदा राम्रो हुन्छ भनेर परामर्श लिन आउने अभिभावकको संख्या ६–७ जना मात्रै भएको उनको अनुभव छ। तरर, पढाइको मध्येतिर पुगेपछि ‘मेरो बच्चाले यो विषय पढ्न मन गरेन अब के गर्ने’ भनेर सोध्न आउनेको संख्या अधिक छ।
‘यसले गर्दा पनि करिअर काउन्सिलिङ आवश्यक छ भन्ने लाग्छ,’ ठगुन्ना भन्छन्।
केही कुरामा ध्यान दिने हो भने अभिभावक आफैँले पनि आफ्ना बच्चाको करिअर काउन्सिलिङ गर्न सक्ने ठगुन्नाको भनाइ छ।
‘प्रत्येक व्यक्तिको जन्मजात केही निश्चित योग्यता र गुण हुन्छ। सानै उमेरदेखि बच्चाले कुनै काम कति ध्यान दिएर गर्छ, त्यो काम गर्दा ऊ कति रमाउँछ भन्ने कुरालाई मात्रै ख्याल गर्ने हो भने उसको रुचि पत्ता लगाउन सकिन्छ,’ उनी भन्छन्, ‘यो काम अभिभावक आफैँले गर्न सक्छन्। नसकेको खण्डमा एसइइपछि के पढाउने, कुन क्षेत्रमा जाने भनेर परामर्शदातासँग सम्पर्क गर्न सकिन्छ।’
कतिपय देशमा कक्षा ९, ११ र विश्वविद्यालय जानुअघि स्कुल करिअर काउन्सिलरले ऊ कुन क्षेत्रमा जाँदा राम्रो गर्न सक्छ भनेर परामर्श दिने चलन छ। करिअर काउन्सलिङ गर्ने बेलामा सबैभन्दा पहिले आफ्नो बारेमा थाहा हुनुपर्ने ठगुन्ना बताउँछन्। परिवारले पनि बच्चाको बारेमा राम्ररी बुझेर उनीहरूको योग्यता, क्षमता, रुचि र प्रवृत्तिलाई विशेष ध्यान दिनुपर्ने ठगुन्नाको भनाइ छ।
‘यी चार कुरालाई महत्व दिएर उसले पढ्ने विषय र उसको भविष्यको सल्लाह दिन सकेकको खण्डमा विद्यार्थीको पढाइ राम्रो हुनुका साथै उसको भविष्य पनि राम्रो हुन्छ,’ ठगुन्ना भन्छन्, ‘त्यसपछि भने हामीले विकल्पको बारेमा सोच्नुपर्ने हुन्छ। विकल्पको बारेमा सोच्ने भनेको मसँग क्षमता कति छ, अभिभावकले बच्चाको रुचि भएको विषय पढाउन सक्छन् कि सक्दैनन्? कति लगानी गर्न सक्छन् भन्ने हो।’
बच्चाको योग्यता, क्षमता र रुचिको परीक्षण गर्दा ऊ मेडिकल क्षेत्रमा राम्रो गर्न सक्ने छ भन्ने देखिए पनि परिवारको क्षमता हेरेर वैकल्पिक बाटो देखाउनु पर्ने ठगुन्ना बताउँछन्।
‘कतिपय विद्यार्थी आफ्नो रुचि भएको क्षेत्रमा परिवारको अवस्थाका कारण जान सकिकेका हुँदैनन्। मेडिकल क्षेत्रमा राम्रो गर्ने क्षमता भएको विद्यार्थी आर्थिक अवस्थाका कारण मानविकी अथवा अन्य कुनै संकायमा अध्धयन गरिरहेका हुन्छन्,’ डा. ठगुन्ना भन्छन्, ‘यसरी क्षमताभन्दा फरक क्षेत्रमा पढ्न पुगेका विद्यार्थी औसत हुन्छन्।’
उनका अनुसार डाक्टर पढ्ने क्षमता भएको तर आर्थिक अवस्था कमजोर भएको अवस्थामा विद्यार्थीलाई मेडिकल फिल्डमा डाक्टरबाहेक अरू के पढ्न सकिन्छ भनेर विकल्प खोज्नु पर्छ।
ठगुन्ना भन्छन्, ‘नर्सिङ पढ्न सकिन्छ, ल्याब टेक्निसियन पढ्न सकिन्छ। के पढ्न सकिन्छ त्यो बारेमा पनि थाहा पाउनुपर्छ।’
कतिपय अवस्थामा राम्रा मानिएको विषय पढेर पनि नेपालमा काम पाउने अवस्था छैन। उदाहरणका लागि माइक्रोबायोलोजीको पढाइलाई लिन सकिन्छ।
‘यो विषय एकदमै राम्रो भए पनि माइक्रोबायोलोजीे पढिसकेपछि नेपालमा काम पाउन भने गाह्रो छ। त्यसैले हामीले सिकेको सीप र ज्ञान कहाँ प्रयोग हुन्छ भन्ने कुरा पनि अध्ययन सुरु गर्नुअघि नै विद्यार्थी र अभिभावक दुवैले सोच्नुपर्छ,’ उनी भन्छन्।
त्यसो त नेपालमा पनि केही करिअर काउन्सिलिङ इन्स्टिच्युट खुलेका छन्। तर, उनीहरूले करिअर काउन्सिलिङको मनोवैज्ञानिक विधि पछ्याउन नसकेको ठगुन्नाको दाबी छ।
‘करिअर काउन्सिलिङ भनेर केही क्षेत्रलाई मात्र महत्व दिइन्छ त्यो भने गलत हो। त्यसैले विज्ञको सल्लाह लिएर वा अभिभावक आफैँले पनि बच्चाको करिअर काउन्सिलिङ गर्न सक्छन्,’ ठगुन्ना भन्छन्।
विद्यालय तहको पढाइ सकेका विद्यार्थीको करिअर विकासका लागि विद्यालयले पनि उनीहरूलाई सहयोग गर्न सक्छन्। अभिभावकलाई भन्दा विद्यार्थीको भित्री क्षमताका बारेमा शिक्षकलाई थाहा हुने भएकाले आफ्ना विद्यार्थी र अभिभावकलाई सहयोग गर्न शिक्षकहरूलाई डा. ठगुन्नाको आग्रह छ।
‘बच्चाको रुचि के विषयमा छ भन्ने कुरामा ध्यान नदिएर उसलाई आफूले चाहेको विषय पढाउन खोजियो भने उनीहरूले त्यो विषयमा राम्रो नतिजा नपाउन सक्छन्। त्यसैले किशोरकिशोरीमाथि आफ्नो इच्छा थोपर्नेभन्दा पनि उनीहरूको रुचिको विषय रोज्न दिनुपछ,’ ठगुन्ना भन्छन्, ‘बालबालिकाको लागि सबैभन्दा राम्रो विकल्प के हुन सक्छ, त्यसमा अभिभावकले ध्यान दिनुपर्छ।’
निश्चित पाठ्यक्रम पढेर एसईई सकेका विद्यार्थी कक्षा ११ पछि पाठ्यक्रम र विषयको विविधताबीच फस्न पुग्छन्। विभिन्न समूहबाट विषय छनोट गर्नुपर्ने भएकाले यसमा विद्यार्थीहरू अलमलिने र आफ्ना नजिकका साथीले जे पढ्यो, त्यही विषय पढ्न जान्छन्। यसले विद्यार्थीलाई क्षमताभन्दा फरक बाटोमा लैजान सक्ने खतरा हुने भएकाले करिअर काउन्सिलिङ महत्वपूर्ण रहेको ठगुन्ना बताउँछन्।
रुचिको विषय छान्ने तरिका
कक्षा ११ मा गलत विषय छनोट गरेको खण्डमा त्यसले बालबालिकालाई धेरै हानि गर्न सक्छ। उनीहरूलाई गन्तव्यमा पुग्न धेरै समय लाग्न सक्छ वा गन्तव्यसम्म नपुग्न पनि सक्छन्। किशोरकिशोरीले रुचि नभएको विषय पढे भने भविष्यमा उनीहरूले गर्ने काममा पनि खुसी हुन सक्दैनन्। यसको प्रत्यक्ष असर उनीहरूको जीवनशैलीमा पर्ने ठगुन्ना बताउँछन्।
‘अहिलेका कक्षा ११ मा पढ्ने विद्यार्थीको उमेर १५–१६ वर्ष हुन्छ। त्यसैले केही हदसम्म उनीहरू आफैँ पनि कुन विषय पढ्ने भन्ने निर्णय गर्न सक्ने हुन्छन्। त्यसैले बच्चा हो, आफैँ निर्णय गर्न सक्दैन भनेर अभिभावकले बेवास्ता गर्नु हुँदैन,’ ठगुन्ना भन्छन्, ‘उनीहरूको कुरा पनि सुनिदिनुपर्ने हुन्छ।’
सबै बालबालिकालाई आफ्नो विशेष रुचि थाहा नहुन सक्छ। त्यस्ता बालबालिकालाई भने करिअर काउन्सिलरले रुचि थाहा पाउन सहयोग गर्न सक्छन्। जसले गर्दा उनीहरूलाई के पढ्ने भनेर निर्णय गर्न सजिलो हुन्छ।
ठगुन्ना भन्छन्, ‘करिअर काउन्सिलिङले केही नयाँ कुरा गर्ने होइन। बच्चामा भएको खुबीलाई चिनाउन सहयोग गर्ने मात्र हो।’
मनपर्ने कामको आधारमा पनि विषय छनोट गर्न सकिन्छ।
‘कुनै विद्यार्थी सबैसामु निर्धक्क बोल्न सक्छ, आफ्नो कुरा अरूलाई बुझाउन सक्छ भने उसमा नेतृत्व क्षमता बढी हुन्छ। यस्ता विद्यार्थीले पत्रकारिता वा राजनीतिमा राम्रो गर्न सक्छ,’ ठगुन्ना भन्छन्, ‘तर आफैँमा रमाउने खालको अन्तर्मुखी स्वभाव छ भने वित्तीय, साहित्य लगायतका विषयमा राम्रो गर्न सक्छन्। यस्तो स्वभाव भएका विद्यार्थीले यस्तै विषय रोज्नु उत्तम हुन्छ।’
उनी अगाडि भन्छन्, ‘कुनै पनि विषय र पेसा आफैँमा राम्रो नराम्रो हुँदैन। जो व्यक्ति जुन विषयसँग जोडिन्छ उसको रुचि र क्षमताको आधारमा त्यो राम्रो नराम्रो हुन्छ। त्यसैले के पढ्ने भन्ने विषयमा एकदमै विचार पुर्याउनु पर्छ। अरूको करमा वा लहैलहैमा लागेर विषय छनोट गर्नु हुँदैन।’
Shares
प्रतिक्रिया