ad ad

समाज


आफ्नै काकाको हत्या गर्न भतिजले दिए ८ लाख सुपारी, गयो २ झाँक्रीको ज्यान

झाँक्री काकाले टुनामुना गरेर आफ्नो बाबु र छोरीको मृत्यु भएको लक्ष्मणको अन्धविश्वास
आफ्नै काकाको हत्या गर्न भतिजले दिए ८ लाख सुपारी, गयो २ झाँक्रीको ज्यान

उजिर कार्की
असार १९, २०८१ बुधबार २२:१९, काठमाडौँ

बाराका दुईजना धामीको हत्या आफन्तकै योजनामा भएको खुलेको छ। २०८१ जेठ २९ गते पर्साको जगरनाथपुर गाउँपालिका १ बिसुनपूर्वा टोलनजिकैको ओरिया खोला किनारमा गाडिएको अवस्थामा दुईजनाको शव फेला परेको थियो। 

अनुसन्धानपछि उक्त शव बाराको कलैया उपमहानगरपालिका ५ पर्साटोलका ५५ वर्षीय रामएकवाल पण्डित कुम्हार र बाराकै आदर्शकोतवाल गाउँपालिका ५ का ३४ वर्षीय सुरेश ठाकुरको भएको खुलेको थियो। 

उनीहरूको हत्यामा संलग्न तीनजनालाई पक्राउ गर्दै पर्सा प्रहरीले बुधबार सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा पर्साको जगरनाथपुरका ३२ वर्षीय सन्तोषप्रसाद कुम्हार, बाराको कलैया उपमहानगरपालिका ५ का ३३ वर्षीय लक्ष्मणकुमार प्रजापति र पर्साको जगरनाथपुर ५ धर्मपुरका ४५ वर्षीय महादेव महतो नुनिया रहेका छन्। 

लक्ष्मणकुमार प्रजापति रामएकवाल पण्डितको दाइका छोरा हुन्। उनले आफ्नै काकाको हत्या गर्न ८ लाख रुपैयाँ सुपारी दिएको पर्साका प्रहरी प्रमुख एसएसपी कुमोध ढुंगेलले बताए। सन्तोष लक्ष्मणका भिनाजु हुन्। लक्ष्मणले भनेपछि सन्तोषले नै सुपारी दिएर हत्यारा खोजेको प्रहरी निष्कर्ष छ। 

हत्यामा संलग्न केही व्यक्ति भने भारततर्फ फरार भएको प्रहरीले बताएको छ। उनीहरू पनि नेपाली नै हुन्। भारतीय प्रहरीसँग समन्वय गरेर प्रहरीले तिनको खोजी गरिरहेको छ।

पक्राउ परेका तीन अभियुक्त

हत्याको कारण– झाँक्रीमाथिको अन्धविश्वास र जग्गाको विवाद 
उनीहरूलाई पक्राउ गरेर सोधपुछ गरेपछि प्रहरीले हत्याको कारण समेत बताएको छ। लक्ष्मण प्रजापतिका बाबु ध्वजा पण्डितको मृत्यु झाँक्री समेत रहेका काका रामएकवालले टुनामुना लगाएर गराएको अन्धविश्वासका कारण यो हत्या भएको प्रहरीको भनाइ छ।

लक्ष्मणका बाबु ध्वजा पण्डितको १० महिनापहिले मृत्यु भएको थियो। त्यसलगत्तै उनीहरूको भैँसी पनि मरेको थियो। लक्ष्मणकी २ वर्षकी छोरीको पनि यहीबीचमा मृत्यु भयो। यसअघि नै काकासँग उनीहरूको अंश विवादमा मुद्दा मामिला भइरहेको थियो। उनीहरूको यही कारण कुटाकुट पनि भएको थियो। 

यही विवादका कारण झाँक्री काकाले आफ्नो परिवार सखाप पार्ने काम गरिरहेको अन्धविश्वासमा परेर लक्ष्मणले उनको हत्या गराएको प्रहरीको निष्कर्ष छ। 

पक्राउ परेका सन्तोषप्रसाद कुम्हार लक्ष्मणका भिनाजु हुन्। आफ्नो घरमा लगातार घटना भएपछि उनले भिनाजु सन्तोषलाई बोलाएर काकाको हत्याको योजना बनाएका थिए। साला–भिनाजुको योजना अनुसार नै उनीहरूले ८ लाख रुपैयाँ दिएर दुई झाँक्रीको हत्या गराएको दाबी प्रहरीको छ। 

उनीहरूलाई झारफुकका लागि बोलाएर हत्या गरेको खुलेको छ। 

झारफुकमा जाँदै गर्दा सीसीटीभी फुटेजमा देखिएका दुई मृतक

यसरी भयो घटना
२०८१ जेठ २९ गते ओरिया खोलाको किनारमा पुरिएको अवस्थामा मानिसको हात देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे। 

नेपाल–भारत सिमानाको दसगजाभन्दा ८० मिटर नेपालतर्फ सीमा पिलर ५/४५१ नम्बरको उत्तरपूर्वतर्फ रहेको खाली जग्गामा गाडिएको शव दुर्घन्धित अवस्थामा फेला परेका थिए। वन्यजन्तुले खोस्रिएको अवस्थामा शवको केही भाग देखिएको थियो।

त्यहाँ खोतल्दा पुरुषका दुई वटा शव फेला परे। फरेन्सिक विज्ञ र तालिमप्राप्त कुकुरसहितको अनुसन्धान टोलीले घटनास्थलमा अनुसन्धान गर्‍यो। शव पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगन्ज पठाइएको थियो। तर शवको सनाखत भएको थिएन। 

सनाखतका लागि प्रहरीले शवको हुलिया परिपत्र गर्‍यो। घटनास्थलमा फेला परेको कालो झोलाभित्र झाँक्रीहरूको पूजा सामग्री फेला परेका थिए। 

झोलामा फेला परेका कागजातहरूबाट अनुसन्धान गर्दै जाँदा मृतकका परिवारसम्म पुग्न प्रहरी सफल भएको थियो। मृतकका आफन्तसँग सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालय बारासँग समन्वय गरी दुवै मृतकको सनाखत भएको थियो। 

त्यसपछि प्रहरीलाई हत्यारासम्म पुग्न सहज भएको एसपी ढुंगेलले बताए। मृतकको पृष्ठभूमि र पुरानो रिसइबी, झैझगडा भएका व्यक्ति र उनीहरू गएका स्थानका सीसीटीभी फुटेजमार्फत प्रहरीले अनुसन्धान गरेको थियो।

दुवैजनाको परिवारमा बुझ्दा उनीहरू जेठ २५ गते झारफुक गर्न भनी पर्सा जिल्लातर्फ गएको खुलेको ढुंगेलले बताए। सुरेश ठाकुरले झारफुक गर्दै आएका थिए भने रामएकवाल मेडिकल पसल सञ्चालन र झारफुक दुवै गर्थे। 

कलैयाको भरतचोकको सीसीटीभी फुटेजमा दुवैजना सँगै बस चढेर वीरगञ्जतर्फ गइरहेको देखिएको थियो। त्यसपछि प्रहरीले उनीहरू कहाँकहाँ गए भन्दै सीसीटीभीमै केन्द्रित भएर अनुसन्धान गरेको थियो।  

साँझको समयमा कलैयाबाट बस चढी पर्साको प्रतिमा चोकमा झरेका थिए उनीहरू। प्रतिमा चौकबाट पावर हाउस चोकमा पुगेको सीसीटीभीमा देखिएको छ। 

पावर हाउस चोकबाट विन्दवासिनी जाने गाडी चढी विन्दवासिनी चोकमा झरेका थिए। चोकबाट एकजना अभियुक्तले दुवै जनालाई मोटरसाइकलमा चढाई बहुअर्वा भाठाको बाटो हुँदै हुलाकी सडकबाट लखनपुर पुर्‍याएका थिए। 

उक्त स्थानबाट नहरको बाटो हुँदै जगरनाथपुर गाँउपालिका १ बिसुनपूर्वी ओरिया खोलामा लगी मृतकहरूको साथमा भएकै गाम्छाले बाँधेर हत्या गरेको अभियुक्तहरूले बताएका छन्। 

हत्या गरिसकेपछि घटना गोप्य राख्न शव गाडेको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका व्यक्तिमाथि जिल्ला अदालत पर्साबाट ५ दिन म्याद लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .