ad ad

समाज


पाँचथरमा ग्रिनेड विस्फोट हुँदा एकैघरका २ बालबालिकाको मृत्यु, २ घाइते

घटनास्थलमा थप विस्फोटक पदार्थ भेटियो, सेनाको टोली जाँदै
पाँचथरमा ग्रिनेड विस्फोट हुँदा एकैघरका २ बालबालिकाको मृत्यु, २ घाइते

नेपालखबर
भदौ १४, २०८१ शुक्रबार ६:४८, काठमाडौँ

पाँचथरमा ग्रिनेड विस्फोट हुँदा एकैघरका दुईजना बालबालिकाको मृत्यु भएको छ। अन्य दुईजना घाइते भएका छन्।

फालेलुङ गाउँपालिका वडा नम्बर- ५ डाँडागाउँमा बिहीबार दिउँसो ग्रिनेड विस्फोट हुँदा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हेमन्त भण्डारीले जानकारी दिए। 

‘स्थानीय आइतराज केरुङको घर नजिकै आँगनमा बिहीबार दिउँसो शंकास्पद बस्तु विस्फोट हुँदा चारजना बालबालिका घाइते भएका थिए,’ डीएसपी भण्डारीले शुक्रबार बिहान नेपालखबरसँग भने, ‘घाइतेमध्ये एकै घरका दुईजना बालिबालिकाको उपचारको क्रममा मृत्यु भएको छ। अर्को घरका दुईजना बालबालिका घाइते छन्। उनीहरुको उपचार भइरहेको छ।’

सोही ठाउँका दिलिप साँवाका २ वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिपशनको विस्फोटमा परेर मृत्यु भएको हो। विस्फोटमा परेर गम्भीर घाइते भएका उनीहरुलाई उपचारको लागि झापाको बीएण्डसीअस्पताल लैजाँदै गर्दा गएराति बाटोमै मृत्यु भएको डीएपी भण्डारीले जानकारी दिए। 

घाइते बालबालिकालाई जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेपछि थप उपचारको लागि राति बीएण्डसी अस्पताल लगिएको थियो। 

विस्फोटमा परेर स्थानीय ज्ञानबहादुर राईका छोरा ११ वर्षीय पवन राई र ७ वर्षीय दिपशन राई घाइते छन्। घाइतेमध्ये पवनको जिल्ला अस्पताल फिदिममा उपचार भइरहेको छ। दिपशनको स्थानीय स्वास्थ्य चौकीमै उपचार गरिएको छ। ‘उनीहरु खतरा मुक्त छन्,’ डीएसपी भण्डारीले भने। 

प्रहरीले ‘होममेड ग्रिनेड’ विस्फोट हुँदा उनीहरुको मृत्यु भएको अनुमान गरेको छ।  तर नेपाली सेनाको टोलीले त्यसको पुष्टि गर्न बाँकी रहेको प्रहरीले जनाएको छ। 

‘नेपाली सेनाको टोली पनि सदरमुकामबाट घटनास्थलतिर जाँदैछ। त्यो ठाउँमा अझै केही विस्फोटक पदार्थ भेटिएको छ,’ डीएसपी भण्डारीले भने। 

त्यो विस्फोटक पदार्थ त्यहाँ कसले र किन राखेको थियो, खुल्न बाँकी रहेको भण्डारीले जानकारी दिए। उनले घटनाको अनुसन्धान सुरु गरिएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .