ad ad

समाज


प्रकाशमानसिंह राउत : न्यायाधीश बनेको ८ वर्षमै प्रधानन्यायाधीश

प्रकाशमानसिंह राउत : न्यायाधीश बनेको ८ वर्षमै प्रधानन्यायाधीश

नेपालखबर
भदौ ३१, २०८१ सोमबार २०:४२, काठमाडौँ

न्यायाधीश भएको ८ वर्षमै प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश बन्ने भएका छन्। राउत न्याय परिषद्को सिफारिसमा राष्ट्रपतिबाट २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए।

न्यायाधीश बनेको छोटो समयमै राउत न्यायालयको सर्वोच्च पदमा पुग्न सफल भएका हुन्। वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज २० गते अनिवार्य अवकासमा जाने भएपछि राउतलाई भावी प्रधानन्यायाधीशमा सिफारिस गरिएको हो। अब संसदीय सुनुवाइबाट उनको नाम अनुमोदन भए प्रधानन्यायाधीश बन्नेछन्।

प्रधानन्यायाधीश नियुक्त भएमा उनी २०८२ चैत १७ गतेसम्म सर्वोच्च अदालतको नेतृत्व गर्नेछन्।

२०१७ चैत १८ गते उदयपुरको कटारी बजारमा जन्मिएका राउतले त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल ल क्याम्पसबाट कानुनमा स्नातकसम्मको अध्ययन गरेका छन्।

सर्वोच्चको न्यायाधीश हुनुअघि उनले ३३ वर्ष वकालत गरे।

२०४० कात्तिक २५ मा कानुन व्यवसायीको प्रमाणपत्र पाएका उनले २०६९ मा वरिष्ठ अधिवक्ताको उपाधि पाएको नेपाल कानुन व्यवसायी परिषद्को अभिलेखमा देखिन्छ। राउत २०६३ सालमा सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा निर्वाचित भएका थिए। त्यतिबेला नेपाली कांग्रेसनिकट कानुन व्यवसायीहरूको समूहबाट अध्यक्षमा निर्वाचित राउत पछि कांग्रेसकै बलमा सर्वोच्चको न्यायाधीश बनेका थिए।

दमननाथ ढुंगाना, डा महादेव यादव र राधेश्याम अधिकारीको संयुक्त ल फर्मबाट वकालतको अभ्यास थालेका उनले त्यहीबेलादेखि नै वरिष्ठ कानुन व्यवसायीको संगत र उच्च राजनीतिक नेताहरूसँगको पहुँच प्राप्त गरे।

२०७२ फागुनमा न्याय परिषद् नै पूर्ण नभएका बेला तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ नेतृत्वका पालामा राउत न्यायाधीश सिफारिस भएका थिए। त्यतिखेर न्यायपरिषद्का २ जना सदस्यलाई संविधानले नै नचिन्ने भन्दै श्रेष्ठले हटाइदिएका थिए।

हालकै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार थियो। श्रेष्ठले शक्ति सन्तुलन मिलाउने क्रममा राउतलाई लोकतान्त्रिक कानुन व्यवसायीको समूहबाट सिफारिसमा पारेका थिए, भावी प्रधानन्यायाधीशको रोलक्रममै राखेर। 

त्यतिखेर ११ जना न्यायाधीश नियुक्तिको सिफारिस भएको थियो। संसदीय सुनुवाइ समितिले २०७३ साउन १६ गते सर्वसम्मत अनुमोदन गरेको थियो। 

व्यावसायिक क्षेत्रमा औसत क्षमताका मानिने न्यायाधीश राउतलाई लोकतान्त्रिक मूल्य–मान्यता र न्यायपालिका सुधारको एजेन्डाप्रति प्रतिबद्ध न्यायाधीशका रूपमा चिनिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .