ad ad

समाज


अमेरिकामा मुनाको हत्या : लुटपाटका क्रममा

अमेरिकामा मुनाको हत्या : लुटपाटका क्रममा

मुना पाण्डे र उनको हत्या आरोपमा पक्राउ परेका बब्बीसिंह शाह


नेपालखबर
भदौ १४, २०८१ शुक्रबार ९:१७, काठमाडौँ

अमेरिकाको टेक्सस राज्यस्थित ह्युस्टनमा नेपाली छात्रा २१ वर्षीया मुना पाण्डेको हत्या लुटपाटका क्रममा गरिएको खुलेको छ। 

पाण्डेको हत्या आरोपमा ह्युस्टन प्रहरीले ५१ वर्षीय बब्बीसिंह शाहलाई पक्राउ गरिसकेको छ।

उनले लुटपाटका क्रममा गोली हानी मुनाको हत्या गरेको अदालती कागजातमा उल्लेख गरिएको छ।

न्युयोर्कबाट सञ्चालित नेपयोर्क अनलाइनका अनुसार अभियुक्त बब्बीविरुद्ध २६२औँ स्टेट डिस्ट्रिक्ट कोर्टमा जघन्य हत्याको अभियोग दायर गरिएको छ। 

जघन्य हत्याको अभियोग टेक्ससमा हत्याको सबैभन्दा गम्भीर रूप हो, जसमा मृत्युदण्डसम्म हुनसक्ने कानुनी व्यवस्था छ। यस अभियोगमा उनलाई अब सेप्टेम्बर ३ मा अदालतमा पेस गरिने भएको छ।  

त्यस्तै बब्बीविरुद्ध गैरकानुनी रूपमा हतियार बोकेको अभियोग पनि छ। उक्त अभियोगमा उनलाई सेप्टेम्बर ५ मा अदालत पेस गरिनेछ।

शाहलाई बुधबार (अगस्ट २८) राति ८ बजे उत्तरपश्चिम ह्युस्टन ट्राफिक स्टपमा प्रहरीले पक्राउ गरेको हो। शाहलाई अहिले ह्यारिस काउन्टी जेलमा राखिएको छ।

मुना पाण्डे गत सोमबार (अगस्ट २६) साँझ गोली लागेको अवस्थामा आफ्नै अपार्टमेन्टमा मृत भेटिएकी थिइन्। 

ह्युस्टन प्रहरीका अनुसार मुनालाई धेरैवटा गोली हानेको पाइएको छ। उनको घटनास्थलमै मृत्यस भएको थियो। 

स्नातक अध्ययनका लागि सन् २०२१ मा अमेरिका गएकी पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ विषय पढ्थिन्। सुरुमा साथीसँग बस्ने गरेकी पाण्डे पछि अपार्टमेन्ट लिएर एक्लै बस्न थालेकी थिइन्।

परिवारकी एक मात्र सन्तान मुना मारिएपछि नेपालमा रहेकी उनकी आमा अनिता पाण्डे अधिकारी विक्षिप्त भएकी छन्। 

अपडेट शृंखला-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .