ad ad

समाज


महोत्तरीमा स्याल र कुकुरको टोकाइबाट १४ जना घाइते, तीनको अवस्था गम्भीर

महोत्तरीमा स्याल र कुकुरको टोकाइबाट १४ जना घाइते, तीनको अवस्था गम्भीर

नेपालखबर
भदौ १८, २०८१ मंगलबार २१:४३, जलेश्वर

महोत्तरीमा स्याल र कुकुरको टोकाइबाट १४ जना घाइते भएका छन्। प्रादेशिक अस्पताल जलेश्वरको आकस्मिक कक्षले दिएको जानकारीअनुसार पछिल्लो दुई दिनमा स्याल र कुकुरले टोकेर १४ जना घाइते भएका हुन्।

घाइतेहरूको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ। जसमध्ये गम्भीर घाइते तीनजनालाई थप उपचारको लागि जनकपुर पठाइएको स्वास्थ्यकर्मी राजीवकुमार पाठकले बताए।

जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–३ मलिवारा बस्ने ३२ वर्षीया उषा देवी, १४ वर्षीया शिवानी मिश्रा, ३३ वर्षीय दिलीपकुमार मण्डल र सात वर्षीय अर्पितकुमार महतोलाई घरै अगाडि वन क्षेत्रबाट आएको स्यालले टोकेर घाइते बनाएको छ।

त्यस्तै जलेश्वर नगरपालिका–६ बस्ने ३५ वर्षीया लिलम देवी, १२ वर्षीया माया कुमारी र १२ वर्षीया सङ्गीता मण्डललाई वन क्षेत्रबाटै आएको स्यालले टोकेर घाइते बनाएको जनाइएको छ।

विगत दुई दिनदेखि जलेश्वर नगरपालिका–३ र ६ को वन क्षेत्रमा स्यालले आतङ्क नै मच्चाएको छ भने वनक्षेत्र वा साँझ र एकाबिहानै वन क्षेत्रको बाटो भएर आउजाऊ गर्नेमाथि स्यालले आक्रमण गरेर घाइते बनाउने गरेको छ। 

स्यालले जिल्लामा आतङ्क नै मच्चाइरहेका बेला जिल्लामा कुकुरले टोकेर सात जना घाइते भएका छन्। कुकुरले टोकेर घाइते हुनेहरूमा जलेश्वर नगरपालिका–२ का ६० वर्षीया सागर देवी, ४० वर्षीय विलास साह, जलेश्वर–१० का ६९ वर्षीया निर्मला देवी, ६४ वर्षीय रासिद अन्सारी, बलवा नगरपालिका–३ का ३७ वर्षीय जुगेश्वर यादव र लोहारपट्टी नगरपालिकाका ५३ वर्षीय नसरुद्दिन राईन रहेको प्रादेशिक अस्पताल जलेश्वरले जनाएको छ।

स्याल र कुकुरले टोकेर घाइते भएकालाई उपचारको लागि चाहिने एन्टिरेबिज भ्याक्सिन ५० जनालाई पुग्ने रहेकाले तत्कालै भ्याक्सिनको अभाव नहुने जनाइएको छ।

यसै क्रममा अनुहार, मुख र ओठ नै काटिने गरी गम्भीर घाइते भएका तीन जनालाई उपचारको लागि ‘इमिनो ग्लोबिन’ लगाउनुपर्ने तर सो भ्याक्सिन  प्रादेशिक अस्पताल जलेश्वरमा उपलब्ध नरहेको कारण उनीहरूलाई थप उपचारको लागि जनकपुर पठाइएको हो।

स्याल र कुकुरले टोकेर घाइते भएकालाई एन्टि रेबिज भ्याक्सिन (एआरभी) को तीन/तीन डोज लगाउनुपर्ने छ।

विगत दुई दिनमा जिल्लामा स्याल र कुकुरको टोकाइबाट १४ जना घाइते भए पनि स्याल र कुकुर नियन्त्रणको लागि कुनै निकायबाट कुनै पहल भएको छैन। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .