ad ad

समाज


सहारा चितवन सहकारी ठगीमा जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता, बिगो ३७ करोड

सहारा चितवन सहकारी ठगीमा जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता, बिगो ३७ करोड

उजिर कार्की
असोज ९, २०८१ बुधबार २०:४९, काठमाडौँ

जीबी भन्ने गितेन्द्रबाबु राईविरुद्ध अर्को सहकारी ठगीमा पनि मुद्दा दर्ता भएको छ। चितवनको भरतपुर महानगरपालिका ३ स्थित केन्द्रीय कार्यालय रहेको सहारा चितवन बहुउदेश्यीय सहकारी संस्थाको बचत अपचलनमा जीबीसहित १७ जनाविरुद्ध मुद्दा दायर भएको हो। 

यो सहकारीको पनि जीबी राई संस्थापक अध्यक्ष हुन्। सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाका ४४६ बचतकर्ताको साढे ३७ करोड रूपैयाँभन्दा बढी अपचलन गरेको आरोप उनीहरूमाथि लगाइएको छ। 

आरोपितमध्ये एक जनालाई मात्रै पक्राउ गरिएको छ। पोखराको सूर्यदर्शन सहकारीको ठगी मुद्दामा पक्राउ परेर पुर्पक्षका लागि थुनामा रहेका कुमार रम्तेल मात्रै हिरासतमा छन्। 

जीबीससहित १३ जना फरार छन् भने अरु तीन जनालाई अनुपस्थित भनेर मुद्दा दायर गरिएको छ। मंगलबार मात्रै महान्यायाधिवक्ता कार्यालयले सहकारी ठगीको मुद्दामा आरोपितलाई पक्राउ नगरेर फरार नभनी अनुपस्थित भनेर पनि मुद्दा चलाउन सक्ने निर्णय गरेको थियो।

सोही व्यवस्था अनुसार सहारा चितवन सहकारीको मुद्दामा तीनजनालाई पक्राउ नगरी मुद्दा बुझाइएको छ। 

प्रतिवादीहरूमा जीबीसहित सागर केसी, हेमन्त अधिकारी, छत्रमणि भट्टराई, भूपेन्द्र राई, अनन्तबाबु राई, आशिष आनन्द, देवेन्द्रबाबु राई, दिनेश रोका, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, मनोज गुरुङ, तीर्थराज लामिछाने, कुमार रम्तेल, शरण विश्वकर्मा, वीरबहादुर रानाभाट र थानबहादुर बुढा मगर रहेका छन्। 

शरण, वीरबहादुर र थानबहादुरलाई अनुपस्थित जनाएर मुद्दा दायर गरिएको छ। 

जीबीविरुद्ध यसअघि बुटवलको सुप्रिम सहकारी र पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा पनि जिल्ला अदालतमा मुद्दा विचाराधीन छन्। 

सहारा चितवन सहकारीका बचतकर्ता समेत रहेका जाहेरवालाको ३७ करोड ६५ लाख ८४ हजार ५४६ रूपैयाँ १८ पैसा हिनामिना गरेको अभियोग छ। 

यस्तै सोही सहकारीका भरतपुर, रत्ननगर, टाँडी र पर्साको सेवा केन्द्रका जाहेरी दरखास्त पेस गर्ने बचतकर्ता बाहेकको बचत रकम ५२ करोड ६७ लाख ७ सय ६२ रूपैयाँ २९ पैसाको हकमा पछि बचतकर्ताहरूको उजुरी परेका बखत कानुनबमोजिम हुने अभियोग पत्रमा उल्लेख गरिएको छ। 

सहकारीको चार करोड ८४ लाख ३० हजार रूपैयाँ कर्जा प्रवाह भएको देखिएको छ। सहकारीबाट विभिन्न ५ वटा कम्पनीमा रकम लगेको देखिएको छ। यसमध्ये गोर्खा मिडिया नेटवर्कमा १० करोड ८० लाख १८ हजार १५१ रूपैयाँ ६ पैसा गएको भनिएको छ। तर गोर्खा मिडियाको खातामा भने ३ करोड ५० लाख रूपैयाँ मात्रै गएको देखिएको छ। 

यस्तै नेचर हर्ब्स इन्टरनेसनल प्रालिमा ९ करोड ७३ लाख ८१ हजार ८ सय ९७ रूपैयाँ ४ पैसा गएको भनिएको छ। तर अनुसन्धानका क्रममा ९६ लाख मात्रै गएको देखिएको अभियोग पत्रमा उल्लेख छ। 

जीबी ग्रूप अफ कम्पनीमा ९ करोड २७ लाख ५० हजार ८ सय ५४ रूपैयाँ ७४ पैसा गएको भनिएकोमा एक करोड २५ लाख ३२ हजार रूपैयाँ मात्रै गएको देखिएको छ। 

नेचर नेस्ट प्रालिमा ६ करोड ५१ लाख १० हजार ३ सय २२ रूपैयाँ ८३ पैसा गएको भनिएकोमा एक करोड २७ लाख गएको पाइएको छ भने स्प्रिङ उड रियल स्टेट हाउजिङ प्रालिमा ६ करोड ८१ लाख ८८ हजार ७ सय ३ रूपैयाँ ८३ पैसा गएको देखाइएको छ। तर उक्त कम्पनीमा रकम गएको नदेखिएको प्रहरी अनुसन्धानको निष्कर्ष छ। 

यसबाहेक उक्त सहकारीको विवरण रहेको सफ्टवेयरमा अन्य कारोबार नदेखिएको पनि अभियोग पत्रमा उल्लेख छ। चन्द्रागिरि सब रेमिट प्रालिमा ४१ लाख ३० हजार, नेक्स म्युजिक बार प्रालिमा ७० लाख र स्वर्णलक्ष्मी बहुउदेश्यीय सहकारीमा ९ करोड रकम पठाएको भनी आईबीटी कारोबारमा देखाइएको छ। तर उक्त विवरण सफ्टवेयरमा भने फेला परेको छैन। अहिले दाबी लिइएको ३७ करोड बढी रकम ४४६ जाहेरवालालाई भराइदिन माग गरिएको छ। 

जीबी राई भने सहकारी ठगीमा धमाधम उजुरी पर्न थालेपछि देश छाडेर भागेका  छन्। उनी मलेसियामा रहेको सूचनापछि प्रहरीले नेपाल फर्काउन इन्टरपोलमार्फत पहल गरिरहेको छ। तर मलेसिया उनलाई पठाउन तयार भएको छैन।

यता पोखराको सूर्यदर्शन सहकारीमा भने पूरक जाहेरी परेपछि दोस्रो चरणको अनुसन्धान भइरहेको छ। जीबी राईकै व्यावसायिक साझेदार समेत रहेका छविलाल जोशीलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। 

पूरक जाहेरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पनि परेको छ। यसअघि संसदीय छानबिन समितिले पनि रबिसहितलाई कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .