समाज


धेरै शक्तिशाली यास चक्रवातको असर नेपालमा पनि पर्ने

धेरै शक्तिशाली यास चक्रवातको असर नेपालमा पनि पर्ने

नेपालखबर
जेठ १०, २०७८ सोमबार २:१६,

बंगालको खाडीमा धेरै शक्तिशाली चक्रवात बन्दै गरेको र त्यसको असर नेपालमा पनि पर्ने देखिएकाले आम नागरिकलाई सजग रहन मौसमविद्ले आग्रह गरेका छन्।

जुन चक्रवातलाई भारतीय मौसमविद्ले यास नामकरण गरेका छन्। भारतमा त यसको भयंकर असर पर्ने भएकाले क्षति कम गर्न व्यापक तयारी भइरहेको भारतीय सञ्चारमामाध्यमले जनाएका छन्।

नेपालमा पनि त्यसको केही असर पर्ने सम्भावना औंल्याउँदै मौसम पूर्वानुमान महाशाखाले विशेष मौसम बुलेटिन जारी गरेको हो।

‘अहिलेसम्मको अनुमानअनुसार हामीले विशेष मौसम बुलेटिन जारी गरेका छौं,’ महाशाखाका मौसमविद् वरुण पौडेलले सोमबार बिहान नेपालखबरसँग भने, ‘तर यसको अपडेट गरिरहनुपर्ने हुन्छ। हामी गरिरहन्छौं।’

उनका अनुसार बुधबारदेखि वर्षा सुरु हुने सम्भावना छ। ‘कतिपय स्थानमा भारी वर्षा पनि हुन सक्ने देखिएको छ,’ उनले भने, ‘त्यसैले यस विषयमा सरोकारवाला सबै चनाखो हुनुपर्ने हुन्छ।’

विशेष बुलेटिनमार्फत आफूहरूले भोलि मंगलबारदेखि नै हिमाली क्षेत्रमा पर्वतारोहण बन्द गर्न आग्रह गरेको मौसमविद् पौडेलले बताए।

महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै नेपालमा पर्ने चक्रवातको सम्भावित असरबारे विस्तृत जानकारी दिएको छ।

हेर्नुहोस् :

yaaschakrabatbu

 

महाशाखाले आज (सोमबार) बिहान ६ बजे जारी गरेको आगामी ३ दिनको मौसम पूर्वानुमानचाहिँ यस्तो छ :

जेठ १० गते सोमबार
दिउँसो : पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईका भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १ का पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राति : प्रदेश १, बाग्मती, तथा प्रदेश २ मा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

जेठ ११ गते मंगलबार
दिउँसो : प्रदेश १, बागती, गण्डकी तथा प्रदेश २ मा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षा को सम्भावना छ।

राति : प्रदेश १, प्रदेश २, बागमती तथा गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना छ।

जेठ १२ गते बुधबार
दिउँसो : प्रदेश १, प्रदेश २, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ। बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना छ।

राति : प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, बागमती र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना छ।

मौसमविद् वरुण पौडेलका अनुसार यास चक्रवातको प्रभावले कति दिनसम्म वर्षा जारी रहन्छ भन्ने कुरा अध्ययन गरिरहनुपर्ने हुन्छ।

केही दिनअघि मात्र अरब सागरमा बनेको ताउते नामको चक्रवातले भारतमा धनजन क्षति गरेको थियो भने त्यसको असरले नेपालमा पनि केही दिन वर्षा भएको थियो।

यो पनि : गुजरातमा ताउतेको ताण्डव : हेर्नुहोस्, यी १३ तस्बिरमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .