काठमाडौं उपत्यकामा सार्वजनिक यातायात खुला गर्ने तयारी गरिएको छ।
यसअघि घोषित निषेधाज्ञाको अवधि आज )असार १४ गते) राति १२ बजेबाट सकिने भएकाले यसको समय पुनः थप गर्न आज बिहान ९ बजेपछि तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको संयुक्त बैठक बस्दै छ।
त्यस क्रममा सार्वजनिक यातायात खुलाउने निर्णय हुने सम्भावना रहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले नेपालखबरलाई जानकारी दिएका हुन्।
‘निर्णय गर्न त बाँकी छ,’ सोमबार बिहान नेपालखबरसँग उनले भने, ‘तर सार्वजनिक यातायात खुलाउने सम्भावना छ।’
यसको मोडालिटी कस्तो बनाउने भन्ने विषयमा भने छलफल भइरहेको उनले बताए। जोर बिजोर नियम लागू गर्ने वा अन्य कुनै विधि अपनाउने भन्ने मोडलमा छलफल भइरहेको उनले जानकारी दिए।
ललितपुरमा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भने साविकबमोजिम नै निषेधाज्ञा लम्ब्याउने कि सार्वजनिक यातायात पनि खोल्ने, दुवै विषयमा छलफल भएको बताए। निर्णय नहुँदै यसै हुन्छ भनेर भन्न नसकिने उनको भनाइ छ।
तीन जिल्लाको संयुक्त बैठक बसेर बिहान १० बजेसम्ममा निषेधाज्ञा थप विषयमा आदेश जारी गरिने उनले जानकारी दिए।
काठमाडौं उपत्यकामा गत वैशाख १६ मा सुरु निषेधाज्ञाको अवधि कोरोना संक्रमण नघटेपछि पटकपटक थपेर आजसम्म लम्ब्याइएको हो।साथै यस क्रममा क्रमशः खुकुलो पनि बनाउँदै लगिएको छ।
निषेधाज्ञाको अवधि थप्दा प्रायः एक हप्ता थपिने गरेको छ। आज पनि यत्ति नै थपिने सम्भावना छ।
प्रतिक्रिया