समाज


पहिरोले पोल ढालेपछि ओखलढुंगा र खोटाङमा विद्युत् सेवा अवरुद्ध

पहिरोले पोल ढालेपछि ओखलढुंगा र खोटाङमा  विद्युत् सेवा अवरुद्ध

नेपालखबर
असोज ४, २०७६ शनिबार ८:५५,

वर्षा रोकिएपछि गएको सुक्खा पहिरोले पोल ढालेपछि खोटाङ र ओखलढुंगामा विद्युत् अवरुद्ध भएको छ।

कालोपत्रको काम भइरहेको दिक्तेल–गाईघाट सडक खण्डको सानो भँडारेमा शुक्रबार बिहान गएको पहिराले सात वटा पोल ढालेपछि दुई जिल्लामा विद्युत् अवरुद्ध भएको हो।

दिक्तेल–गाईघाट ३३ केभी प्रसारण लाइनको विद्युत् पोलमा पहिराले क्षति गर्दा शुक्रबार बिहान ७ बजेदेखि दुवै जिल्लामा विद्युत् अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण खोटाङका प्राविधिक प्रमुख उमेश महतोले बताए। ‘पहिराले चार वटा पोल पूर्णरुपमा क्षति गर्नुका साथै तीन वटा पोल ढालेको छ’, उनले भने, ‘अवरुद्ध विद्युत् पुनः सञ्चालनमा ल्याउन शुक्रबार नै सामग्रीसहित प्राविधिक टोली घटनास्थल पठाइएको छ।’

हप्ता दिनसम्म परेको भारी वर्षापछि गएको सुक्खा पहिराका कारण अवरुद्ध विद्युत् कहिले सञ्चालनमा आउने भन्नबारेमा प्राधिकरणसमेत बेखबर छ। दुई दिनदेखि विद्युत् अवरुद्ध हुँदा खोटाङको दुई नगरपालिका र आठ गाउँपालिका तथा ओखलढुंगाको एक नगरपालिका र सात गाउँपालिकाका हजारौँ उपभोक्ता मारमा परेका छन्।

विद्युत् अवरुद्धका कारण दुवै जिल्लामा अहिले विद्युतीय उपकरण, सञ्चार माध्यम, व्यापार÷व्यवसाय तथा बैंक तथा वित्तीय करोवार प्रभावित भएको छ। दुई वर्षअघि कालोपत्रको काम थालिएको दिक्तेल–गाईघाट सडक फराकिलो पार्नेक्रममा विद्युत् पोलको जग खोलिएकाले पहिरो गएको स्थानीयवासीले बताएका छन्।

प्रदेश नं १ मा पर्ने खोटाङ र ओखलढुङ्गामा बुइँपास्थित पञ्चदोबाटोमा रहेको सवस्टेशनमार्फत विद्युत् विस्तार गरिएको छ। दुई जिल्लामा विस्तार गरिएको विद्युत् लाइन लामो दूरीमा रहेकाले पनि पटकपटक अवरुद्ध हुने गरेको हो।

विद्युत् लाइन विस्तार गरिएको बाटोमा त्रियुगा खोलासँगै ठाउँठाउँमा घना जङ्गल रहेको छ। जंगलको बीचमा पोल गाडेर विद्युत् लाइन विस्तार गरिएकाले हावा चल्दा तथा ठूलो पानी पर्दा पनि दुबै जिल्लामा विद्युत् अवरुद्ध हुने गरेको छ।

पटकपटक अवरुद्ध हुँदै आएको विद्युत्को दीर्घकालीन समस्या समाधानतर्फ कसैको ध्यान नगएकोप्रति विद्युत् उपभोक्ता आक्रोशित बनेका छन्। यसअघि विस्तार गरिएको ११ केभी प्रसारण लाइनको पोल तथा तारमा ३३ केभी थपिएकाले पनि समस्या भएको हो।

पटकपटक अवरुद्ध भइरहने विद्युत् मर्मत गर्ने क्रममा विद्युत् प्राधिकरण खोटाङमा कार्यरत दुई जना कर्मचारीको मृत्यु भइसकेको छ भने एक जना अङ्गभङ्ग भएका छन्। अङ्गभङ्ग हुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका हरिकाजी ढुङ्गानाको दुई हात र एउटा खुट्टा गुमेर बिचल्ली बनेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .