नारायणगढ–मुग्लिन सडकको २५ ठाउँका पहिरोको जोखिम रहेको डिभिजन सडक कार्यालय चितवनले जनाएको छ।
कार्यालय प्रमुख रमेशप्रसाद पौडेलका अनुसार तीमध्ये चार स्थान उच्च र सात ठाउँ कम जोखिममा छन्।
मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्रमा पहिरोको उच्च जोखिम छ। सडकको नाम्सी, कालीखोला र तुइन खोलाको पहिरो नियन्त्रणका लागि रु ५२ करोड खर्च हुने अनुमानित लागत छ। ती ठाउँमा ‘स्लोप स्टेवलाइजेसन’ र ‘रक नेटिङ’को काम गर्नुपर्नेछ।
यसैगरी, पहिरोको कम जोखिम भएका ठाउँमा गाईघाट, डुम्रे पुल, घुमाउने, सिमलताल, जलवीरे र पाँच किलो क्षेत्र हुन्। ती ठाउँमा पनि सडक व्यवस्थापन गर्नुपर्नेछ। विसं २०८० को वर्षामा यो सडकमा ३० र २०७९ मा ३६ पटक पहिरो जाँदा यी क्षेत्रमा पटक–पटक सवारी आवागमन अवरुद्ध भएको थियो।
सोही सडक खण्डको केराबारीमा नेचरबेस सोलुसन नामको संस्थाले बायो इञ्जिनियरिङ प्रविधिबाट पहिरो नियन्त्रण अध्ययन गरिरहेको छ।
सोही सडकका खहरे खोला, भतेरीको ओरालो, गाईघाट, सेतीदोभान, जलवीरे, २६ किलो र चार किलो क्षेत्रका ११ ठाउँमा अध्ययन गर्न उक्त संस्थाले सडक विभागलाई पत्राचार गरेको छ। रासस
Shares
प्रतिक्रिया