शुक्रबार दिउँसो पोखरामा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
पोखरा महानगरपालिका २४ मा रहेको प्रतिभा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा सोही विद्यालयमा नर्सरी कक्षामा अध्ययनरत स्थानीय तेजबहादुर कार्कीका तीन वर्षीय छोरा समीरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
शुक्रबार दिउँसो कास्कीकोटको काउलेमा बसबाट ओर्लिएका बालकलाई आफू चढेरै आएको ग १ क ४०८२ नम्बरको बसले ठक्कर दिएको हो।
बसको ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारको लागि पोखरास्थित मेट्रोसिटी अस्पताल लगिएको थियो। उपचारको क्रममा शुक्रबार साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले बस र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ।
378
Shares
प्रतिक्रिया