ad ad

समाज


माओवादी नेतृको ‘अमरगाथा’ विमोचन

माओवादी नेतृको ‘अमरगाथा’ विमोचन

नेपालखबर
फागुन २०, २०८० आइतबार ५:३८, तनहुँ

नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री आशा कोइरालाको पुस्तक ‘अमरगाथा’ प्रकाशित भएको छ। जनयुद्धका क्रममा तनहुँ जिल्लामा सहादत प्राप्त गर्ने सहिद तथा बेपत्ता योद्धाहरूको जीवनीमा आधारित ‘अमरगाथा’ पुस्तकको शनिबार विमोचन गरिएको हो।

जनयुद्ध अध्ययन प्रतिष्ठान तनहुँले दमौलीमा आयोजना गरेको कार्यक्रममा नेकपा ९माओवादी० केन्द्रका महासचिव देवप्रसाद गुरुङले उक्त पुस्तकको विमोचन गर्नुभयो । पुस्तकमा तनहुँमा सहादत प्राप्त गर्ने ६५ र बेपत्ता १५ गरी ८० जना सहिद तथा बेपत्ताको जीवनी समावेश गरिएको जनाइएको छ। 

नेकपा (माओवादी) केन्द्र तमुवान राज्य समितिबाट प्रकाशित वासु सन्देश, स्थानीय शान्ति समितिबाट प्रकाशित शान्ति स्मारिका, सहिद र बेपत्ता योद्धाहरूको सम्भव भएसम्म घरै पुगेर परिवारसँग गरिएको कुराकानी र जानकारीका आधारमा पुस्तक प्रकाशन गरिएको कोइरालाले जानकारी दिइन्। 

पुस्तकमा सोतीवेशीका होमनाथ अधिकारी र गोमा अधिकारीका दुई छोरा भरतचन्द्र अधिकारी, गजेन्द्र अधिकारी, छोरी इन्दु अधिकारी र बुहारी कलावती अधिकारी गरी चार जनाको बलिदान भएको हृदयविदारक कथासमेत समेटिएको छ। 

उनले भनिन्, ‘निर्ममतापूर्वक मार्ने, जबर्जस्ती बेपत्ता पार्ने, अमानवीय यातना दिने, हिरासत र जेलमा बन्दी बनाउने, घरमा बसेकालाई समेत डर, त्रास सिर्जना गर्नेजस्ता क्रियाकलाप जनयुद्धका क्रममा भए । मुक्ति र परिवर्तनको चाहना राख्नेहरू अगाडि बढिरहे, योद्धाका रूपमा भूमिका निर्वाह गरिरहे । यी सबै विषयवस्तुलाई पुस्तकमा समावेश गर्ने प्रयत्न गरेकी हुँ।’

पुस्तकलाई सहिद तथा बेपत्ता योद्धाहरूको जीवनीमात्र नभएर तनहुँ जिल्लाको जनयुद्धकालीन इतिहासका रूपमा लिन सकिने पुस्तकको प्रकाशकीयमा उल्लेख गरिएको छ । प्रकाशकीयमा भनिएको छ, ‘इतिहास आफैँमा एउटा नितान्त जटिल र कष्टसाध्य विधा हो, इतिहास लेख्ने काम सजिलो हुँदैन । यसका लागि निकै सुक्ष्म र गहन अध्ययनका साथमा लामो र कठोर तपस्या जरुरी हुन्छ।’

तनहुँको जनयुद्धकालीन इतिहासलाई लिपिबद्ध गर्न सुरुआत गरिएको पुस्तकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, कम्युनिष्ट नेता मोहन वैद्य, नेत्रविक्रम चन्दलगायतको शुभकामना सन्देश समावेश गरिएको छ। 

पुस्तक विमोचन गर्दै महासचिव गुरुङले सहिदको सपना पूरा गर्नुपर्नेमा जोड दिए । सहिदको बलिदान र योगदानले मुलुकमा गणतन्त्र स्थापना भएकाले यसको रक्षा गर्नु अहिलेको प्रमुख चुनौती भएको महासचिव गुरुङको भनाइ थियो । सहिदको सपना साकार पार्नु मुख्य कार्यभार रहेकाले त्यसतर्फ सरकार र पार्टीको ध्यान गएको छ। 

‘अहिलेको अवस्थामा समाजवादी क्रान्तिको विकल्प छैन, समाजवादी क्रान्ति सफल बनाउन सक्यौँ भनेमात्र सहिद र बेपत्ता योद्धाहरूको सपना साकार हुनसक्छ,’ उनले भने। प्राप्त उपलब्धिको रक्षा गर्दै समाजवादी क्रान्ति पूरा गर्ने बाटोमा अगाडि बढ्नुको विकल्प नभएकोमा उनको जोड थियो। 

शुक्लागण्डकी नगरपालिका–५ निवासी कोइराला विसं २०७० मा संविधानसभा सदस्य बनेकी थिइन्। उनी विसं २०७४ मा महिला तथा बालबालिकामन्त्री बनेकी थिइन् भने २०७४ सालमै गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .