ad ad

समाज


वर्ल्डलिंकका कामदार सवार बोलेरो दुर्घटना हुँदा ३ युवाको मृत्यु, ३ घाइते

वर्ल्डलिंकका कामदार सवार बोलेरो दुर्घटना हुँदा ३ युवाको मृत्यु, ३ घाइते

नेपालखबर
जेठ २८, २०८१ सोमबार ७:९, काठमाडौँ

रुकुम पश्चिममा वर्ल्डलिंक कम्युनिकेसन (इन्टरनेट कम्पनी) का कामदार सवार बोलेरो दुर्घटना हुँदा तीनजना युवाको मृत्यु भएको छ। दुर्घटनामा अन्य तीनजना युवा घाइते भएका छन्। 

मुसिकोट नगरपालिका-१ नेपानेमा गएराति करिब नौ बजे कर्णाली प्रदेश ०२-००१ च ०४१३ बोलेरो गाडी दुर्घटना हुँदा तीनजना युवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रमुख डीएसपी नवराज पोखरेलले जानकारी दिए। 

‘मुसिकोट नगरपालिका-१ खलंगाबाट बाँफिकोट गाउँपालिकाको ४ छिनखेत जाँदै गरेको बोलेरो सडकबाट करिब दुईसय मिटर तल खसेर दुर्घटना हुँदा तीन युवाको मृत्यु भएको हो,’ डीएसपी पोखरेलले नेपालखबरसँग भने, ‘दुर्घटनामा अन्य तीनजना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।’

दुर्घटनामा बोलेरो चालक सुर्खेतको गुर्भाकोट नगरपालिका-८ मेहलकुनाका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ, सुर्खेत बराहताल गाउँपालिका ५- बड्डीचौरका १९ वर्षीय जितबहादुर कार्की र बर्दियाको ठाकुरबाबा नगरपालिका-५ कालीगौडीका २७ वर्षीय सौगात विकको मृत्यु भएको हो। 

राति दुर्घटनास्थलबाट उद्धार गरेर जिल्ला अस्पताल सल्ले पुर्‍याउँदा चिकित्सकले उनीहरूलाई  मृत घोषणा गरेका डीएसपी पोखरेलले बताए। 

दुर्घटनामा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-४ छिनखेतका १७ वर्षीय सुजल विक, बर्दियाको ठाकुरबाबा नगरपालिका-५ बनकट्टीका २६ वर्षीय दिलीप थापा र बर्दियाको ठाकुरबाबा नगरपालिका-५ कालीगौडीका २७ वर्षीय टीकाराम खनाल घाइते भएका छन्। 

‘उनीहरूमध्ये सुजल र टीकारामको अवस्था गम्भीर छ,’ पोखरेलले भने, ‘दीलिप भने सामान्य बोल्न सक्ने अवस्थामा छन्।’

उनीहरूलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि राति १२ बजे नेपालगन्जतर्फ लगिएको छ। डीएसपी पोखरेललका अनुसार उनीहरु सवार एम्बुलेन्स बिहान सात बजेसम्म पनि नेपालगञ्ज पुगेको छैन। दिलीपको उपचार भने जिल्ला अस्पतालमै भइरहेको छ।

ठेकेदारका कामदार उनीहरु दिनभरी बाफिकोटमा वर्ल्डलिंक इन्टरनेट जडानको काम गरेपछि बास बस्नको लागि छिनखेततर्फ जाँदै गर्दा दुर्घटनामा परेका हुन्। ‘दुर्घटनास्थल अत्यन्तै दुर्गम ठाउँमा पर्छ। सडकको अवस्था पनि राम्रो छैन,’ डीएसपी पोखरेलले भने, ‘रातको समय भएकाले घटनास्थलमा देख्ने कोही छैनन्। दुर्घटनाको कारण खुलेको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .