ad ad

समाज


साहुको फन्दामा फसेका लालबहादुरलाई उच्च अदालतले दियो सफाइ

आजै छुट्दै, तीन करोड बिगोसमेत तिर्नु नपर्ने
साहुको फन्दामा फसेका लालबहादुरलाई उच्च अदालतले दियो सफाइ

फाइल तस्बिर


उजिर कार्की
साउन १६, २०८० मंगलबार १९:४, काठमाडौँ

साहुको फन्दामा फसेका मजदुरलाई उच्च अदालत विराटनगरले सफाइ दिएको छ।

सुनसरीको इटहरी उपमहानगरपालिका-२० तरहराका गोपाल भन्ने लालबहादुर विश्वकर्माले पूर्ण सफाइ पाएको उच्च अदालत विराटनगरका सूचना अधिकारी निधीराम दाहालले जानकारी दिए। 

उच्च अदालतको फैसला भने तयार भइसकेको छैन। मंगलबार उच्च अदालतका न्यायाधीश बिपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले लालबहादुरलाई सफाइ दिएसँगै अन्यको भने तिर्नु पर्ने बिगो बढेको छ। अरु अभियुक्तको हकमा कैद र जरिवाना जिल्लाकै सदर भएको छ।

लालबहादुरलाई जिल्ला अदालत सुनसरीले गत पुसमा डेढ वर्ष कैद, ७० हजार रुपैयाँ जरिवाना र झण्डै तीन करोड रुपैयाँ बिगो भराउने फैसला गरेको छ। 

जिल्ला अदालतको फैसलाले उनलाई अन्याय भएको भन्दै चौतर्फी आलोचना भएको थियो। 

जाहेरवालाले समेत लालबहादुरलाई साहुले फसाएको र उनी निर्दोष रहेको बयान दिएका थिए।

पुर्पक्षका लागि धरौटीमा रिहा गरेको जिल्ला अदालतले फैसला गर्दा भने साहुलाई जति नै बिगो कायम गरेको थियो। 

त्यसविरुद्ध लालबहादुरले उच्च अदालतमा अपिल गरेका थिए। मंगलबार उच्चमा सुनुवाइ हुँदा प्रतिनिधिसभाकी सदस्य सोविता गौतमसहितका कानुन व्यवसायीहरुले लालबहादुरको पक्षमा नि:शुल्क बहस गरेका थिए। 

करोडौँ ठगीको आरोप लगाइ दर्ता भएको मुद्दा सुनसरी जिल्ला अदालतले चार वर्षपछि गत पुसमा टुंगो लगाएको थियो। जिल्ला न्यायाधीश निर्मला योङयाको फैसलाले २७५ जना पीडितले न्याय पाउने बाटो खोल्यो।

तर, त्यही फैसलाले इटहरी उपमहानगरपालिका २० तरहराका गोपाल भन्ने लालबहादुर विश्कर्मालाई भने ठूलो अन्याय गर्‍यो।

सुनपसलका सामान्य मजदुर लालबहादुर फैसलापछि सुनसरीको झुम्का कारागारमा कैद भुक्तान गरिरहेका छन्। अदालतले तोकेको ३ करोड बढी बिगो तिर्न सक्ने अवस्था लालबहादुरको छैन। 

यसअघि मुद्दाको पुर्पक्षका क्रममा ३० वर्षीय लालबहादुरलाई २ लाख रुपैयाँ धरौटीमा छाडिएको थियो। 

यस्तो छ घटना
सुनसरीको इटहरी उपमहानगरपालिका २० का दीपक गजमेरको परिवारले सञ्चालन गर्ने सिंहदेवी ज्वेलर्समा काम गर्थे लालबहादुर।

दीपकका बुवा कृष्णबहादुर विक, दिदी सीता गजमेर, भाइ कमल गजमेरसँग ज्वेलर्समा उनी सुनका गहना बनाउँथे।

दीपकका परिवारका ५ जनासँगै लालबहादुरविरुद्ध करोडौँ ठगीको आरोपमा २०७५ जेठ २० गते इलाका प्रहरी कार्यालय इटहरीमा जाहेरी पर्‍यो।

सिंहदेवी ज्वेलर्सका सञ्चालक दीपकका परिवारले स्थानीयलाई धेरै नाफा दिने भन्दै ज्वेलर्समा रकम जम्मा गर्न लगाएका थिए। रकम जम्मा गरेको पासबुकमा रेकर्ड पनि राख्थे। 

२०७२ सालदेखि नै स्थानीयले ज्वेलर्समा रकम जम्मा गरेका थिए। तर तीन वर्षसम्म पनि मुनाफा र सावाँ दुवै प्राप्त नभएपछि बचतकर्ताले कानुनी प्रक्रिया अगाडि बढाएका थिए। सुरुमा ९ जनाले जाहेरी दिए, पछि यो ज्वेलर्सबाट ठगिने उजुरीकर्ताको संख्या थपिँदै गयो। 

ज्वेलर्स बन्द भएपछि बचतकर्ताहरु प्रहरी कार्यालय पुगेका थिए। दीपकले सुरुमा बचतकर्तालाई चाहिएको बेलामा रकम दिने बताएका थिए। तर पछि रकम फिर्ता माग्दा पनि उनले दिएनन्। 
 
दीपकका परिवारले गरेको ठगीमा लालबहादुर पनि मुछिए। भयो के भने लालबहादुर तीन वर्षदेखि उक्त ज्वेलर्समा कालीगढको काम गर्थे।

ज्यालामा कालीगढको काम गरेर नै उनको परिवारको जीविका चलेको थियो। ज्वेलर्सका सञ्चालक दीपक हुन्। दीपक नहुँदा उनका बुवा, दिदी र भाइले हिसाबकिताब हेर्थे। 

दीपकका बुवा कृष्णबहादुरको लेखापढी छैन। त्यही भएर कृष्णबहादुरले लालबहादुरलाई पासबुकमा सही गर्न लगाउँथे।

कृष्णबहादुरको निर्देशनमा पासबुकमा सही गरेकै कारण लालबहादुर फन्दामा परेका हुन्। लालबहादुरलाई सही गर्न लगाएर बचतकर्ताको रकम भने कृष्णबहादुरले नै राख्थे।

परिवारका जोकसैले जम्मा गरेको रकम पनि अन्त्यमा दीपकलाई बुझाउँथे। दीपकले भने यसरी जम्मा भएको रकम जग्गामा लगानी गरेको बताएका थिए। 

कृष्णबहादुरले अदालतमा बकपत्रका क्रममा पनि भनेका थिए– सही गरे पनि रकम लालबहादुरले लगेका छैनन्। उनले सबै रकम आफैँले राखेको स्वीकार गरेका थिए।

जाहेरी परेपछि प्रहरीले दीपकका परिवारका सदस्यलाई पक्राउ गरेको थियो। अनुसन्धान सकेर अदालतमा पुगेपछि अदालतबाट २०७५ असार २५ गते थुनछेक आदेश भयो।

सीता र कृष्णबहादुरलाई कसुरदार मान्दै तत्कालका लागि थुनामा पठाउने आदेश भएको थियो। पछि पक्राउ परेका दीपकलाई पनि थुनामा पठाउने आदेश भयो।

मुख्य अभियुक्त भनिएका दीपकले अदालतमा बयान दिँदा पनि आफ्नोबाहेक अरुको कुनै संलग्नता र सहमति नभएको बताएका थिए। कमल भने फरार भएकाले उनको मुद्दा मुलतवीमा राखियो। 

तर लालबहादुरको हकमा त्यतिबेला थुनामै राखेर पुर्पक्ष गर्नु पर्ने अवस्था नभएको भनिएको थियो।

‘निजको कसुरको संलग्नताको आधारमा प्रस्तुत मुद्दामा निजलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नु पर्नेसम्मको अवस्था संकलित मिसिल प्रमाणबाट नदेखिएकाले हाललाई दुई लाख रुपैयाँ नगद वा सो बराबरको जेथा जमानत मागी दिए तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्नू,’ थुनछेक आदेशमा भनियो। 

लालबहादुर असार २६ गते २ लाख नगद धरौटी दाखिला गरी तारिखमा रिहा भएका थिए। 

अदालतले २७५ जनाको १८ करोड ८४ लाख ६६ हजार ८८९ रुपैयाँ बिगो कायम गरेको छ। जिल्ला अदालत सुनसरीले यो ठगीको मुख्य कसुरदार दीपक भएको ठहर गरे पनि अन्य ४ जनालाई मतियार मान्दै संगठित रुपमा ठगी गरेको ठहर गरेको थियो।

मुख्य अभियुक्त दीपक गजमेरलाई ७० हजार रुपैयाँ जरिवाना र ३ वर्ष कैदको सजाय निर्धारण गरिएको छ। सीता, कृष्णबहादुर र लालबहादुरलाई ७० हजार रुपैयाँका दरले जरिवाना तथा डेढ वर्षका दरले कैद तोकिएको थियो। 

जाहेरवाला २७५ जनालाई १८ करोड ८४ लाख ६६ हजार ८८९ रुपैयाँ दामासाही भराइ दिने अदालतको फैसला छ। जुन फैसलाअनुसार लालबहादुरको भागमा तीन करोड बढी बिगो पर्छ। लालबहादुरको घरजग्गा पनि रोक्का गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .