वुमन्स च्याम्पियन्स लिग(डब्लुसिएल)को उपाधिका लागि चितवन राइनोजले रुविना क्षेत्रीको कप्तानीमा रहेको क्वाट क्वीन्स काठमाडौंलाई ११३ रनको प्रतिस्पर्धी लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा विहीबार जारी फाइनलमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ११२ रन बनाएको हो।
उसका सुमन खतिवडाले २९, इन्दु बर्माले २२, काजल श्रेष्ठले २१, कञ्चन श्रेष्ठले १९ रन जोडिन। चितवनलाई ओपनरद्घय काजल श्रेष्ठ र कञ्चन श्रेष्ठले ४९ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए।
काठमाडौंका लागि आठौं ओभरको पाँचौ बलमा सरस्वती कुमारी चौधरीले काजललाई आउट पार्दै ब्रेक थु्र दिलाइन। काजलले उठाएको बललाई मिडविकेटमा नितु भण्डारीले उत्कृष्ट क्याच समातिन। काजलले २८ बलमा २ चौकासहित २१ रन जोडिन।
काजल आउट भएको दोस्रो बलमा नै चितवनले अर्की आपेनर कञ्चन श्रेष्ठलाई पनि गुमायो। लक्ष्मी साउदले कञ्चन श्रेष्ठलाई विकेटकिपर ममता थापाको हातबाट क्याच गराइन। कञ्चनले २६ बलमा ३ चौकासहित १९ रन जोडिन।
त्यसपछि क्रिजमा ऋतु कनौजिया र सुमन खतिवडा आएका थिए। १५औं ओभरको अन्तिम बलमा सुमनलाई संगीता राईले बोल्ड पानुअघि दुवैले तेस्रो विकेटका लागि ३५ रनको साझेदारी गरे।
पन्ध्रौं ओभरको तेस्रो र चौथो बलमा सुमनले लगातार दुई चौका प्रहार गरेकी थिइन। अन्तिम बलमा बोल्ड हुनुअघि २५ बल खेलेकी उनले ४ चौकासहित २९ रन जोडिन।
त्यसपछि ऋतुलाई साथ दिन चितवनकी कप्तान इन्दु बर्मा क्रिजमा आएकी थिइन। तर अर्को ओभरमा पाँचौ बलमा ऋतु रनआउट भइन। ऋतुले ६ रनमात्रै जोड्न सकिन।
इन्दुले अन्तिम ओभरको अन्तिम तीन बलमा लगातार तीन चौका प्रहार गर्दै चितवनलाई सम्मानजनक स्कोरमा पुर्याएकी हुन। १९ बल सामना गरेकी इन्दुले ४ चौकासहित २२ रन जोडिन।
प्रतियोगिताको विजेता टोलीले ७ लाख तथा उपविजेताले तीन लाख पुरस्कार पाउने छ। यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले टिभिएसको १ सय २५ सीसीको स्कुटर र ५० हजार पाउने छन् भने बेस्ट बलर र ब्याट्सवुमनले जनही २५ हजार प्राप्त गर्ने आयोजक क्वीन्स इभेन्ट्स म्यानेजमेन्टले जनाएको छ।
प्रतिक्रिया