खेल


१९ औँ एसियाडमा नेपालबाट २३ खेलका १६८ खेलाडीले भाग लिने

१९ औँ एसियाडमा नेपालबाट २३ खेलका १६८ खेलाडीले भाग लिने

पत्रकार सम्मेलनमा राखेप सदस्य सचिव टंकलाल घिसिङसहितका पदाधिकारी। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
चैत २९, २०७९ बुधबार १८:५३, काठमाडौँ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले चीनको होङझाउमा हुने १९ औं एसियाली खेलकुदमा कम्तीमा २३ खेलका १ सय ६८ खेलाडीको सहभागिता गराउने निश्चित गरेको छ। 

रणनीतिक (पदक जित्ने सम्भावना भएको) र आम सहभागिताका आधारमा राखेपले एसियाली खेलकुदमा भाग लिने २३ खेललाई तीन श्रेणीमा विभाजन गरेको छ। 

राखेपले बुधबार पत्रकार सम्मेलन गर्दै पदकको बढी सम्भावना देखेको बक्सिङ, तेक्वान्दो, करातेलाई उच्च प्राथमिकतामा राखेको सदस्य सचिव टंकलाल घिसिङले बताए। 

यस्तै एथलेटिक्स, साइक्लिङ, फुटबल, गल्फ, जुडो, ट्रायथोलन, उसु, भलिबल, कुस्ती, पौडी, भारोत्तोलन गरि ११ खेललाई प्राथमिकता र बाँकीलाई खेललाई अर्को श्रेणीमा राखेको छ। 

एशियाडका लागि राखेपले वैशाख ३ देखि ७ गते सम्म पहिलो चरणमा ४ सय २५ खेलाडी छनोट गरिने घिसिङले बताए। वैशाखको ८ गते देखि १० गतेसम्म छनोट भएका खेलाडीको स्वास्थ परिक्षण गरिने छ। 

पहिलो चरणमा छनोट भएका खेलाडीले वैशाख ११ देखि जेठ ३ गते सम्म प्रशिक्षण गर्नेछन्। जेठ ४ र ५ गते दोस्रो चरणमा खेलाडी छनोट गरिने घिसिङले बताए। 

दोस्रो चरणमा २ सय ९५ खेलाडीलाई जेठ ६ देखि २५ गते सम्म प्रशिक्षण गर्नेछन्। अन्तिम चरणको छनोट जेठ २६ देखि असार १ गते सम्म  हुनेछ। अन्तिम छनोटमा १ सय ६८ सहभागी हुनेछन्। 

एशियाडमा पदकको सम्भावना भएका खेलाडीलाई वैदेशिक प्रशिक्षण र बाँकी खेलका लागि स्वदेशमा नै विदेशी खेलाडी ल्याएर प्रशिक्षण दिने सदस्यसचिव घिसिङले बताए। 

एशियाडका लागि करातेले भने पहिलो चरणमा ४८ खेलका खेलाडी छनोट गरेर प्रशिक्षण सुरु गरिसकेको छ। 

इस्पोर्ट्सले छनोट चरण पार गरेको अवस्थामा एशियाडमा सहभागी गराइने सदस्यसचिवले बताए। 

२३ खेल बाहेक अन्य ४ खेल (टेनिस, स्क्वास, रग्बी, इस्पोर्टस्) खेललाई सहभागी गराउनका लागि आफुले पहल गर्ने बताएका छन्।

त्यसबाहेक पुरुष भलिबललाई पनि एसियाडमा सहभागी गराउन पहल गर्ने बताएका छन्।

एसियाडको तयारीका लागि १० करोड रुपैयाँ माग भएको र २ करोड विनियोजन भइसकेको घिसिङले बताए। 

१९ औँ एसियाड चीनको हान्जाउमा असोज ६ देखि २१ गते सम्म आयोजना हुनेछ। 

१८ औँ एसियाडमा २९ खेलका १ सय ८७ खेलाडीले भाग लिएका थिए। जसमा प्याराग्लाडिङले एकमात्र रजत पदक जितेको थियो। 

राखेप सदस्य सचिव टंकलाल घिसिङ। तस्बिर : सरोज नेपाल/नेपालखबर

एसियाडका खेलको प्रथमिकता  
उच्च प्राथमिकता– बक्सिङ, तेक्वान्दो, कराते

प्राथमिकता– एथलेटिक्स, साइक्लिङ, फुटबल, गल्फ, जुडो, ट्रायथोलन, उसु, भलिबल, कुस्ती, पौडी, भारोत्तोलन

अन्य – आर्चरी, बास्केटबल, कबड्डी, फेन्सिङ, ह्याण्डबल, टेबल टेनिस, पुरुष क्रिकेट, सुटिङ र ब्याडमिन्टन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .