खेल


खेलाडीलाई फकाउँदै प्रधानमन्त्रीले भने : सरकारले घोषणा गरेको पुरस्कार नपाइने चिन्ता नगर्नू

शुक्रबार मन्त्रिपरिषद्ले निकासा गरिदिने जानकारी
खेलाडीलाई फकाउँदै प्रधानमन्त्रीले भने : सरकारले घोषणा गरेको पुरस्कार नपाइने चिन्ता नगर्नू

खेलाडीसँग प्रधानमन्त्री प्रचण्ड। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
भदौ २८, २०८० बिहिबार १८:४५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले खेलाडीलाई घोषणा गरेको पुरस्कार शुक्रबारको मन्त्रिपरिषद् बैठकबाट निकासा हुने बताएका छन्। 

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १९ औं एशियाली खेलकुदका लागि भाग चीन जाने नेपाली खेलाडीहरुलाई बिदाइ गर्दै प्रधानमन्त्री दाहालले यस्तो भनेका हुन्। 

उनले खेलाडीलाई घोषणा गरिएको पुरस्कार आजसम्म नपाएको कुरा आफूलाई जानकारी रहेको भन्दै केही प्राविधिक र नीतिगत कारणले रोकिएको दाबी गरे। 

उनले अहिले नियमावली बनेर अर्थमन्त्रालयबाट खेलकुद मन्त्रालयमा पुगेको र शुक्रबार बस्ने मन्त्रीपरिषद् बैठकबाट पैसा निकासा हुने बताए।

दाहालले सरकार र प्रधानमन्त्रीले घोषणा गरिसकेको पुरस्कार नपाउने हो कि भन्ने चिन्ता नलिन खेलाडीहरुसँग आग्रह गरे।

उनले देशमा खेल क्षेत्रका पूर्वाधार नरहेको उल्लेख गर्दै आधुनिक सुविधा सम्पन्न रंगशाला र कभर्ड हल तथा विभिन्न विधाका खेलहरुलाई आवश्यक पूर्वाधार निर्माणमा चीन भ्रमणमा खेल क्षेत्रकै प्रगतिका लागि उल्लेख्य पहल गर्ने प्रतिवद्धता जनाए।

उनले एशियाली खेलकुदको उद्घाटन सत्रमा आफू भाग लिने भन्दै त्यो आफ्ना लागि गौरवको विषय हुने बताए।

उनले खेल क्षेत्रको विकास राष्ट्र विकासको रणनैतिक र महत्वपूर्ण आधार बनेको बताए।

नेपाल सरकार खेल क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरुको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरु निर्माण गर्न र संस्थागत एवम् संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिवद्ध रहेको उनले बताए।

प्रधानमन्त्री दाहालले एसियाड गेमका लागि नेपाली खेलाडीलाई चीनमा राम्रो व्यवस्थापन भइसकेकाले चिन्ता नलिन पनि आग्रह गरेका छन्। 

एसियाडका लागि नेपालबाट २९ खेलका २ सय ३३ खेलाडीले तयारी पूरा गरेका छन्। उनीहरुलाई बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले बिदाइ गरेका हुन्। 

एसियाली खेलकुदको सहभागितामा नेपालले ७ दशक बिताउँदा अहिलेसम्म स्वर्ण जित्न सकेको छैन। नेपालले दुई रजत पदकसहित २४ पदक जितेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .