ad ad

खेल


दसौँ राष्ट्रिय खेलकुद आयोजना गर्न कस्सिएको कर्णाली


लक्ष्मी जि.सी
मंसिर १५ , काठमाडौँ

पूर्वनिर्धारित समयमा भयो भने अबको एक वर्षमा १०औँ राष्ट्रिय खेलकुद सम्पन्न भइसक्नेछ। राष्ट्रिय खेलकुदको दसौँ संस्करण आयोजनाको जिम्मेवारी गत वर्ष कर्णाली प्रदेशले पाएको थियो। गत वर्ष कात्तिकमा गण्डकीको पोखरामा नवौँ राष्ट्रिय खेलकुदको समापनमा दसौँ संस्करण २०८१ मंसिर २ गतेदेखि ९ गतेसम्म कर्णालीमा आयोजना गर्ने घोषणासहित झण्डा हस्तान्तरण गरिएको थियो। यसका लागि कर्णाली प्रदेशले भौतिक पूर्वाधार निर्माण थालिसकेको थियो।

अर्को वर्ष कर्णालीमा दसौँ संस्करण भएमा देशका सातै प्रदेशमाा कम्तीमा एकपटक राष्ट्रिय खेलकुद सम्पन्न हुनेछ। यसअघि बागमती, लुम्बिनी र गण्डकीले समान २/२ पटक तथा मधेश, सुदूरपश्चिम र कोशी प्रदेशले समान १/१ पटक आयोजना गरिसकेका छन्। राष्ट्रिय  खेलकुद आयोजना कर्णालीमा पुग्दा ४ दशकभन्दा बढी समय लागेको छ।

पञ्चायतकालमै खेलकुदका राष्ट्रिय प्रतियोगिता देशका विभिन्न स्थानमा आयोजना गरिएका थिए। २०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुदका तीन संस्करण समयमै आयोजना भएका थिए। २०४० सालमा पोखरा र २०४२ मा वीरगन्जमा आयोजना भएको थियो। चौथो संस्करणपछि भने राष्ट्रिय खेलकुद दुई वर्षभित्र हुन सकेन।

चौथो २०५५ सालमा नेपालगन्जमा र त्यसको १० वर्षपछि पाँचौँ संस्करण काठमाडौँमा सम्पन्न भएका थिए। २०६८ मा छैटौँ धनगढी र त्यसको ५ वर्षपछि २०७३ मा तत्कालीन पूर्वाञ्चल हाल कोशी प्रदेशमा सातौँ राष्ट्रिय खेलकुद आयोजना गरिएको थियो। २०७५/०७६ मा आठौँ लुम्बिनी र नवौँ २०७९ मा गण्डकीमा सम्पन्न भएका थिए।

नवौँ सम्पन्न भएको २ वर्ष १ महिनामा नै दसौँ आयोजना गरिसक्ने घोषणा राष्ट्रिय खेलकुद परिषद्  (राखेप) ले गरेको थियो। एउटा पनि रंगशाला नभएको कर्णाली प्रदेशले दसौँ संस्करण समयमै आयोजना गर्न सक्ला भन्ने आशंका अझै गरिएको छ। 

तर, कर्णाली प्रदेश सरकारले पनि दसौँ आयोजनालाई गम्भीरतापूर्वक लिएर प्रदेशकै गौरवको आयोजना भन्दै डेढ वर्ष अघिबाटै सुर्खेतमा कर्णाली प्रदेश रंगशाला निर्माण सुरु गरेको थियो। प्रदेश सरकारले आफ्नै लगानीमा प्रदेशकै पहिलो सुविधा सम्पन्न रंगशाला निर्माण गरिरहेको छ।

कर्णाली खेलकुद विकास परिषद्का सदस्य-सचिव विश्वामित्र सञ्ज्यालको भनाइ मान्ने हो भने रंगशालाको ७० प्रतिशत  काम  सम्पन्न  भइसकेको छ। बाँकी ३० प्रतिशत काम २०८१ को जेठ सम्ममा सकिने उनको दाबी छ। ठेकेदार कम्पनीसँग म्याद थप नहुनेगरी सम्झौता  गरिएका कारण पनि निर्धारित समयमै रंगशाला निर्माण पूरा हुनेमा उनी ढुक्क छन्। 

दस हजार दर्शक अट्ने फुटबल मैदानसहितको रंगशाला र वरिपरि अन्य खेलका  संरचना निर्माण धमाधम भइरहेको छ। रंगशालामा ८ लेनको सेन्थेटिक ट्रयाक लाग्नेछ। रंगशालासँगै बहुउद्देश्यीय कभर्ड हल, टेनिस, बास्केटबल कोर्ट,  मार्सल आर्टका लागि अलग्गै हललगायतका संरचना सुर्खेत रंगशालाकै हाताभित्र तयार हुनेछ। रंगशालाबाहिर वीरेन्द्रनगरमै दुईवटा क्रिकेट मैदान तयार  हुँदैछन्। 

दसौँ खेलकुद प्रतियोगिताअन्तर्गत हुम्लामा हक्की, रारामा साइक्लिङ, जुम्लामा कवड्डी र मार्सल आर्टस्, कालीकोटमा भलिबल र मार्सल आर्टस्का खेलमध्य एक, दैलेखमा मार्सल आर्टस् र रुकुममा मार्सल आर्टस्‌का खेल गराउने तयारीमा कर्णाली प्रदेश जुटेको सञ्ज्याल बताउँछन्। यद्यपि दसौँमा कुन खेल कहाँ गराउने भन्ने औपचारिक निर्णय गर्न भने बाँकी छ। 

उनले भने, ‘जाजरकोटमा कभर्ड हल बनाउने तयारीमा छौँ। त्यहाँ बनेमा कुनै खेल गर्न सकिन्छ। यी स्थानमा केहीमा पूर्वाधार बनिरहेका छन् भने केहीमा भएकालाई मर्मत गर्ने काम पनि भइरहेको छ।’ 

सरकारको प्राथमिकता र प्रदेश खेलकुदको अनुगमन तथा निरन्तर निर्माणले दसौँ संस्करण समयमै हुनेमा विश्वस्त हुन सकिन्छ। खेलाडी, प्रशिक्षक, व्यवस्थापक, प्राविधिकलगायत १०  हजार जनाभन्दा बढीको एकैपटक राष्ट्रिय खेलकुदमा उपस्थिति हुने भएकाले  सुर्खेतले त्यसलाई व्यवस्थापन गर्न सक्छ/सक्दैन भन्नेमा भने अझै ढुक्क हुने अवस्था छैन, तर सदस्य-सचिव सञ्ज्याल झण्डै डेढ लाखको जनसंख्या रहेको सुर्खेतले राष्ट्रिय खेलकुदमा उपस्थित हुनेहरुलाई व्यवस्थापन गर्न सकिने दाबी गर्छन्। त्यसका लागि सम्भव भएका खेल भने केही अघिबाटै सुरु गरेर सक्नुपर्ने उनको तर्क छ।

‘हामीले एसियाडको औपचारिक सुरुवात हुँदा केही खेल सम्पन्न भएको पनि देख्यौँ’,  उनले भने, ‘हामीले  त्यसरी  पनि खेलहरु  आयोजना  गर्न सक्छौँ।’

पूर्वाधारकै कारण दसौँ प्रतियोगिता गर्न केही अप्ठेरो नपर्ने सञ्ज्यालको दाबी छ। राष्ट्रिय खेलकुदका लागि आवश्यक  न्यूनतम पूर्वाधार हामी अर्को वर्षको सुरुको केही महिनामा नै सम्पन्न गर्नेछौँ। रंगशाला निर्माणका लागि सरकारले १ अर्ब ६९ करोड रुपैयाँ विनियोजन गरेको छ। त्यसमध्ये झण्डै ९० करोडको काम भइसकेको छ। 

पूर्वाधारका कारण मात्र होइन, खेलाडीको प्रदर्शनका कारण पनि कर्णाली खेलकुदमा पछाडि नै छ। अबको संस्करणमा कम्तीमा दोहोरो अंकमा स्वर्ण पदक जित्ने लक्ष्यका साथ तयारी अघि बढाइने सञ्ज्याल बताउँछन्।

‘खेलकुदमा एकदम छिटो नतिजा  दिन सकिँदैन। हामीले धेरै काम गर्न बाँकी छ’,  उनले भने, ‘दसौँमा कम्तीमा दोहोरो अंकमा स्वर्ण पदक जित्ने गरी तयारी गर्ने लक्ष्य छ। प्रदेश सरकारले पनि खेललाई प्रथामिकतामा राखेको छ। दसौँका लागि छनोट हुने खेलाडीलाई मासिक ५ हजार रुपैयाँ तयारी खर्च दिने निर्णय भइसकेको छ।’

कर्णालीले  खेलकुदमा परिणाम ल्याउन अझै  केही वर्ष लाग्ने सञ्ज्यालको ठम्याइ छ।

‘खेलकुद विकास निरन्तर प्रक्रिया हो। त्यसलाई मध्यनजर गर्दै प्रदेश सरकारले पाँच ‘प’को नीति लिएको छ’, उनले थपे, ‘पूर्वाधार, प्रशिक्षण, प्रतियोगिता, प्रोत्साहन र प्रतिभा छान्ने कामलाई अघि बढाउनेछाैँ। त्यसले मात्र खेलकुदको विकास सम्भव छ।’

सदस्य-सचिव सञ्ज्यालले दसौँ आयोजनामा कुनै कमजोरी नहोस् भन्न आफूहरु सचेत रहेको बताउँछन्।

‘दसौँ खेलकुद समयमा नै आयोजना गर्न हाम्रोतर्फबबाट कुनै कमजोरी हुने छैन। प्रदेश सरकारले आफ्नै लगानीमा प्रदेश रंगशाला बनाउनु त्यसको एउटा उदाहारण हो’, उनले भने, ‘लगानी अपुग देखिए प्रदेश सरकारले लगानी गर्नेमा आश्वस्त पारेको छ। यसपटक वर्ष, महिना र गतेसम्म तोकेर अघि बढिएको छ। हामी त्यसैलाई आधार मानेर काम गरिरहेका छौँ।’

निर्माणाधीन कर्णाली रंगशालाका थप तस्बिर

फोटो/भिडिओ : सरोज नेपाल

मंसिर १५, २०८० शुक्रबार ११:२६

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .